''शून्यमा सुराक''

राजधानीका ठूला आपराधिक घटनामा विदेशी राजदूतको चासो

आक्रमणकारी को थियो ? नेपाली कि विदेशी ?" नेपालमा कार्यरत विदेशी कूटनीतिक नियोगहरूका डीनसमेत रहेका जापानी राजदूत तात्सुओ मिजुनोले सुरक्षा अधिकारीहरूलाई सोधे। ती सुरक्षा अधिकारीहरू 'खोज्दैछौँ' भन्ने जवाफ दिएर उम्किएको पनि दुई साता बितिसकेको छ तर राजधानीका सांघातिक आक्रमण र गोली काण्डहरूबारे प्रहरीले अपराधीहरू किटान गर्न सकेको छैन।

प्रसंग ३ वैशाखको हो। दक्षिण एसियाली सहयोग संगठन -सार्क)का अध्यक्षको हैसियतले काठमाडौँको दुईदिने भ्रमणमा आएका भुटानी प्रधानमन्त्री जिग्मे वाई थिन्लेको बिदाइका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला भएका राजदूतहरू र सुरक्षा प्रमुखहरू बिदाइ समारोह सकेर अति विशिष्ट कक्षमा चियापानका क्रममा जापानी राजदूतले उक्त प्रसंग कोट्याएका थिए। त्यस अवसरमा भारतीय राजदूत राकेश सुद, पाकिस्तानी राजदूत शैयद अब्रार हुसेन, बंगलादेशी राजदूत निमचन्द्र भौमिक, श्रीलंकाका कार्यवाहक राजदूत संसाद, शिक्षामन्त्री गंगालाल तुलाधर, मुख्यसचिव माधव घिमिरे, परराष्ट्र सचिव मदन भट्टराई, सशस्त्र प्रहरी प्रमुख सनतकुमार बस्नेत, नेपाल प्रहरीका प्रमुख रमेशचन्द ठकुरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अशोकदेव भट्टसमेत अन्य केही नेपाली अधिकारीहरू उपस्िथत थिए।


जापानी राजदूतको प्रश्नमा भारतीय राजदूत सुदले कुनै प्रतिक्रिया जनाएनन् भने छेउमा रहेका पाकिस्तानी राजदूत हुसेनले आफ्ना कर्मचारीले तत्काल स्वास्थ्य सेवासमेत नपाएको गुनासो गर्दै गोली प्रहार घटनाको बयान गरेका थिए। नेपाली नयाँ वर्षको दिन पाकिस्तानी दूताबासको भिसा सेक्सनमा कार्यरत महबुब असिसमाथि गोली प्रहार भएको थियो। प्रतिक्रियास्वरूप परराष्ट्र-सचिव भट्टराईले कूटनीतिक नियोगका कर्मचारीका लागि छुट्टै व्यवस्था गर्ने प्रस्ताव सुनाएका थिए।

सुरक्षा स्रोतका अनुसार, जापानी राजदूतले पाकिस्तानी दूताबासका कर्मचारीमाथिको गोली प्रहारबारे चासो राख्दै थप सोधेका थिए, "कूटनीतिक नियोगका कर्मचारीमाथि गोली हान्नेबारे थप केही पत्ता लागेको छ कि ?" जवाफमा नेपाल प्रहरीका प्रमुख ठकुरीले उपत्यकाभरबिाट दुई सयभन्दा बढी शंकास्पद व्यक्तिहरू पक्राउ गरेको, अनुसन्धान जारी रहेको र छिट्टै तथ्य बाहिर ल्याउने बताएका थिए।

जापानी राजदूतले गत वर्ष राजदूताबास र कूटनीतिक नियोगहरूको सुरक्षाबारे गृह मन्त्रालयले चासो राखेको सम्झाएका थिए। उनले गतवर्ष दूताबास र कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई गृह मन्त्रालयमै बोलाएर सुरक्षाको अवस्था र खतराको विश्लेषण गरएिको तर यसपालि अहिलेसम्म नभएको गुनासो उनले गरेका थिए। उनले कूटनीतिक व्यक्ति र संस्थाको सुरक्षाबारे यस वर्ष केही नभएको प्रसंग निकालेपछि प्रहरीले यसबारे सतर्कताका लागि एउटा निर्देशन नै जारी गरेको छ। चलानी नम्बर २५३ को आदेशमा 'विदेशी राजदूत तथा दूताबासमा कार्यरत कर्मचारीहरूउपर यस्तो किसिमको घटना हुन सक्नेतर्फ सजग रही विदेशी दूताबासका कर्मचारीहरू बस्ने निवास, कार्यालयमा जाने/आउने बाटो आदिको निगरानी, गस्ती तथा अन्य आवश्यकीय सुरक्षा व्यवस्था मिलाई भरपर्दो सुरक्षा व्यवस्था मिलाउन' भनिएको छ।

हुन पनि जापानी राजदूतले भनेजस्तै राजधानीमा ठूला हत्या तथा आक्रमणका अपराधीहरूबारे नेपाल प्रहरीले हालसम्म कुनै सुराक पाउन सकेको छैन। जस्तो-

युनुस गोली काण्ड : केन्द्रीय कारागारभित्र रभिल्बर बोकेर छिरेका भारतीय अपराधी मनमित सिंहले नक्कली भारतीय मुद्रा तथा लागूऔषधको अवैध कारोबारमा संलग्न भएको आरोपमा जेल जीवन बिताइरहेका युनुस अन्सारीमाथि २६ फागुनमा पाँच गोली बर्साए। संयोग, चार गोली खेर गए भने एउटा मात्र गोली अन्सारीको पाखुरामा लाग्यो र उनी बाँच्न सफल भए। संसारको सबैभन्दा सुरक्षित ठाउँ मानिने कारागारभित्रै असुरक्षाको यो घटना गराउने सिंह पक्राउ त परे तर उनलाई साथ दिनेहरूबारे प्रहरीले कुनै सुराक फेला पार्न सकेको छैन। उनको टेलिफोनको सम्पर्कबाट केही संदिग्धहरूबारे अनुमान लगाउन खोजे पनि भारतीय प्रहरीले बेवास्ता गरेका कारण परण्िााम आउन सकेको छैन। अन्सारीमाथिको प्रहार किन गरएिको थियो र कसको योजनामा थियो भन्ने कुरालाई प्रमाणित गराउन प्रहरी अनुसन्धान असफल भएको छ। अपराध अनुसन्धान महाशाखा, हनुमानढोकाका प्रमुख एसएसपी हेमन्त मल्लले आफ्नो अनुसन्धान प्रतिवेदनमा हातहतियार तथा खरखजाना ऐन अन्तर्गत अभियुक्त सिंहलाई कारागार पठाउने अदालतको आदेशले अन्तर्राष्ट्रियस्तरको यस काण्डको छानबिनमा समस्या परेको उल्लेख गरेका छन्। उनले प्रतिवेदनमा भनेका छन्, 'जेलमा रहेका मनमितको उनका वकिल विष्णु लुईंटेलमार्फत कुराकानी गर्नुपर्ने स्िथति हुुने अवस्थामा यस प्रकारको अत्यन्त संवेदनशील तथा अन्तर्राष्ट्रियस्तरको घटनाको अनुसन्धानमै प्रतिकूल असर पर्ने अवस्था देखिन्छ।'

टेकु हत्याकाण्ड : १० चैतको साँझमा टेकुस्िथत सिप्रदी ट्रेडिङ् कम्पनीको एक्साइड ब्याट्रीको सोरूममा प्राविधिकका रूपमा कार्यरत प्रेम महर्जनमाथि दुई व्यक्तिले गोली प्रहार गरे। प्रहरीको समेत बाक्लो उपस्िथति रहेको सो क्षेत्रमा भएको गोली प्रहारबाट महर्जनको तत्काल मृत्यु भयो भने पाल्पा निवासी सुदीप बस्याल घाइते भए। यस घटनामा शंकाकै भरमा केही युवा र लागूपदार्थका दुव्र्यसनीहरूलाई प्रहरीले पक्राउ गदर्ैै छाडे पनि वास्तविक हत्याराको पत्तो छैन। "हत्याराको नजिक पुगेका छौँ भन्न सकिने अवस्था छैन किनभने सुराकसम्म मिलेको छैन," अपराध अनुसन्धान महाशाखाका एक अधिकृत भन्छन्, "साँच्चै भनौँ भने हामी अहिले यो प्रकरणमा शून्यमा छौँ।" कसले हान्यो, किन हान्यो भनेर विश्लेषण गर्ने कुनै आधार प्रहरीले फेला पार्न सकेन। यसले गर्दा घटना रहस्यमय बनेको छ।

चाचान हत्याकाण्ड : २७ चैतमा आफ्नै निवासमा हत्या गरएिका भारतीय व्यापारी अञ्जनीकुमार चाचानको घटना पनि रहस्यको गर्भमै छ। न्युरोडस्िथत उनको निवासमै पुगेर दुई जना युवाले गोली प्रहार गरेका थिए। सामान्य व्यापार गर्दै आएका चाचानलाई हत्यै गर्नुपर्ने गरी कुनै रसिइवी नदेखिएको प्रहरीको दाबी छ। त्यस घरमा सीसीटीभीसमेत जडान गरएिको थियो। चाचानमाथि प्रहार गरी भाग्ने दुई व्यक्तिहरूका बारेमा सीसीटीभीले केही जानकारी दिन सकेको छ तर अनुहार स्पष्ट नभएकाले प्रहरीले अपराधीसम्म पुग्ने अर्को बाटो फेला पार्न सकेको छैन।

पाकिस्तानीमाथि गोली प्रहार : १ वैशाखमा दूताबासनजिकै मोटरसाइकल रोकेर दुई जना युवाले पाकिस्तानी दूताबासका कर्मचारी मेहबुब आसिफमाथि गोली बर्साएका थिए। तर, संयोगले उनी बाँच्न सफल भए। उपचारपछि हाल उनी बसुन्धारास्िथत आफ्नै निवासमा सरसिकेका छन् तर उनीमाथि प्रहार गर्नेका बारेमा प्रहरी अझै अनभिज्ञ छ। हालसम्म यस घटनाबारे एउटा पनि सुराक पाउन नसकिएको प्रहरीको भनाइ छ। अनुसन्धानमा संलग्न प्रहरीले उनको बयान लिने र त्यही आधारमा अपराधी खोज्ने प्रयास गर्दै आएको छ तर उनको बयानले कुनै कुरा खुलाउन सकेको छैन। उनले कसैसँग दुस्मनी नभएको र आफूलाई सुरक्षाको खतरा कतैबाट पनि नआएको बताएका छन्। उनले हालसम्म कसैलाई पोलेका पनि छैनन्। प्रहरीले घटनालगत्तै गरेको प्रेस सम्मेलनमा विदेशी अपराधीहरू हुन सक्ने बताएको थियो। तर, पछि प्रहरीले तराई मूलका जस्ता देखिने दुई व्यक्तिले गोली प्रहार गरेको बताउँदै आएको छ।

यसैबीच, नेपाल प्रहरीलाई पाकिस्तानी दूताबासले अपराधीहरू चाँडै पत्ता लगाउन दबाब दिइरहेको छ। दूताबासका तर्फबाट अपराधी पक्राउ नपरेकामा प्रहरी महानिरीक्षक र उच्च अधिकृतहरूसमक्ष बारम्बार गुनासो गरएिको स्रोतले जनाएको छ। गोली लागेका पाकिस्तानी कर्मचारी सुरक्षा तालिम प्राप्त भएको अड्कल प्रहरीले गरेको छ। हत्या प्रयासबाट बाँच्न सफल पाकिस्तानीका बारेमा समेत शंकास्पद विवरणहरू आउन थालेको प्रहरी दाबी छ।

मन्त्री विष्टमाथि आक्रमण : २८ चैतमा एमाले नेता गोकर्ण विष्टलाई प्रधानमन्त्री झलनाथ खनालले ऊर्जामन्त्री नियुक्त गरेको दुई घन्टा मात्र बितेको थियो, आफ्नै घरअगाडि उनीमाथि खुकुरी प्रहार भयो। संयोगले मात्र बाँच्न सफल भएका उनी अहिले अस्पतालबाट डिस्चार्ज भएर कार्यभार सम्हाल्न पुगिसकेका छन् तर आक्रमणकारीको पहिचानमा भने प्रहरीलाई अझै मुस्िकल पररिहेको छ। गुन्डाहरूले आक्रमण गरेको सुराक पाएको प्रहरी दाबी छ।

विष्टमाथिको आक्रमण राजनीतिक योजनामा भएको भन्ने कुराको पुष्टिका आधारहरू हालसम्म फेला नपरेको पनि प्रहरीस्रोतको भनाइ छ।



चार टार्गेट

एकपछि अर्को गर्दै राजधानीमा हत्या र गोली प्रहारका घटना भइरहँदा भारतीय अपराधी मनमित सिंहले तत्कालका लागि चार टार्गेट तय भएको र आफू पक्राउ परे पनि सो काम पूरा हुने बयान दिएका छन्। तर, उनको यो बयान कानुनी प्रक्रियासम्बन्धी कागजातमा सामेल छैन। अपराध अनुसन्धान महाशाखा हनुमानढोकाका एक उच्च प्रहरी अधिकृतका अनुसार, प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीलाई दिइएको प्रतिवेदनमा भने यो कुरा उल्लेख छ। तत्काल पुष्टि गर्ने आधार नभेटिएकाले त्यसलाई कानुनी प्रयोजनमा पेस नगरएिको ती अधिकारीको दाबी छ। यसकै आधारमा केन्द्रीय अनुसन्धान ब्युरोले सम्भावित खतराहरूबारे अनुसन्धान सुरु गरेको छ र केही व्यक्तिहरूलाई सुरक्षा सतर्कताका लागि सुझाएको छ। पाकिस्तानी दूताबासका कर्मचारीमाथिको गोली प्रहार पनि चारमध्येकै एक हुनसक्ने प्रहरी अनुमान छ।

अभियुक्त सिंहले भने आफ्नो बयानमा युनुस अन्सारी नक्कली नोटको कारोबारी भनेका छन्। उनले लिखित बयानमा 'नेपालबाट जति भारतीय नक्कली नोट जान्छ, त्यसको सम्पूर्ण कारोबार पनि युनुस अन्सारीले नै गर्ने र दुस्मन भएकाले उनलाई मार्ने योजना बनाइएको' दाबी गरेका छन्।



चुपचाप इन्टरपोल

भर्खरै नेपाल भ्रमण सम्पन्न गरी फर्किएका भारतीय विदेशमन्त्री एसएम कृष्णाले राजधानी नै असुरक्षित भएको र दूताबासका कर्मचारीसमेत असुरक्षित हुन थालेको भन्दै नेपालको आन्तरकि सुरक्षा व्यवस्थाबारे गहिरो चासो राखे। उनले प्रधानमन्त्री झलनाथ खनालसमक्ष आफ्नो दूताबास र त्यहाँ कार्यरत कर्मचारीको सुरक्षाको चिन्ता पनि जाहेर गरे र यहाँको असुरक्षाले भारतमा पनि असर पर्ने कुरा पनि गरे। तर, यहाँको सुरक्षा व्यवस्था मजबुत बनाउन भारतमा लुकेर बसेका अपराधीहरूलाई पक्राउ गर्ने र बयान लिइदिने कामसम्ममा पनि भारतले असहयोग गरेकामा नेपाली अधिकारीहरू भने हैरान छन्। दर्जनौँ पत्र पठाएर अनुरोध गर्दा पनि बेवास्ता गर्ने गरएिको नेपाल प्रहरीका एक उच्च अधिकारीको भनाइ छ। अपराध अनुसन्धानका एसएसपी मल्लले प्रहरी मुख्यालयमा प्रस्तुत गरेको घटनासम्बन्धी रपिोर्टमा पनि इन्टरपोलबाट कुनै विवरण प्राप्त नभएको उल्लेख छ। युनुस अन्सारी काण्डमा पनि इन्टरपोल नयाँदिल्लीबाट कुनै पनि विवरण प्राप्त नभएकाले मनमित सिंहले दिएको बयान पुष्टि गर्न ढिलाइ भएको लेखिएको छ।

काठमाडौँमा भएका ठूला अपराधका घटनाका 'कनेक्सन' खोज्दा अपराधीले भारतका ठूला सहरहरूलाई नै सुरक्षित बासस्थान बनाएको पत्ता लागेपछि नेपाल प्रहरीले इन्टरपोलमार्फत भारतीय प्रहरीलाई अपराधी पक्राउका लागि आग्रह गर्दै आएको छ। युनुस गोलीकाण्डकै सन्दर्भमा मात्रै १० वटाभन्दा बढी अनुरोध पत्र भारतीय प्रहरीलाई पठाइएको छ तर एउटाको पनि जवाफ आएको छैन। स्रोतका अनुसार, सुरुमा मनमित सिंहको वास्तविकता खुलाई सहयोग गरििदन र त्यसपछि उसले बयानमा भने अनुसार भारतमै पनि हत्या गरेको हो कि होइन तथा उसको टेलिफोनमा देखिएका भारतीय नम्बरहरूको कनेक्सनबारे खुलाइदिन आग्रह गर्दै पत्रहरू पठाइएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एक अधिकृत भन्छन्, "जब भारतीय टेलिफोन नम्बरहरू खुलाएर उता पठाइयो, त्यसयता ती नम्बरहरू बन्द भएका छन्।" यसमा भारतीय पक्षबाट सहयोग प्राप्त नभएको प्रहरीको गुनासो छ। सायद यी र यस्तै कारणले प्रहरी विगतका उल्लिखित घटनाहरूको सुराक प्राप्त गर्न असफल छ। तर, एसएसपी मल्ल भन्छन्, "हामी अधिकतम प्रयासमा छौँ ।"
साभार : नेपाल

No comments: