नेपाली बजारमा नोकियाका स्मार्टफोन भित्रिएका छन्। भर्जिन मोबाइलले नेपाली बजारमा नोकियाका तीनथरी नयाँ स्मार्टफोन भित्र्याएको हो।
नोकियाले हालै सार्वजनिक गरेका नोकिया-७००, नोकिया-७०१, नोकिया-एन-नाइन मोडेलका स्टमार्टफोन भर्जिनले बजारमा ल्याएको हो। भर्जिनको नयाँ बानेश्वरमा रहेको सोरुमबाट ग्राहकले यी स्मार्टफोन किन्न सक्नेछन्।
नोकियाको एन-नाइन स्मार्टफोन लिनक्स बेसको मिगो अपरेटिङ सिस्टमयुक्त छ। इन्टेल र नोकियाले संयुक्तरुपमा विकास गरेको यो सेटमा तीव्र गतिमा वेब ब्राउजिङ गर्न सक्ने क्षमता छ। डिस्प्लेमा एउटा पनि की नभएको यो पहिलो स्मार्टफोन भएको कम्पनीको दाबी छ। यसमा टचस्क्रिनकै माध्यमबाट सम्पूर्ण काम गर्न सकिन्छ। ३.९ इन्चको डिस्प्लेयुक्त यो स्मार्टफोनमा ८ मेगापिक्सेलको क्यामेरा, १ जिबीको र्याम, थ्रीजी सपोर्ट गर्ने, वाइफाई चलाउन मिल्ने, १६ जिबी मेमोरी जस्ता विशेषता छन्। नेपाली बजारमा यो मोडलका तीनवटा रङका स्मार्टफोन उपलब्ध छन्। यसको मूल्य ५४ हजार ८ सय ६० तोकिएको छ। कम्पनीले करिब दुई महिनाअघि यी स्मार्टफोनको हङकङमा सार्वजनिक गरेको थियो। नोकियाका अन्य दुई स्मार्टफोनमा भने सिम्बियन सफ्टवेयर अपडेट, नयाँ एनएफसी भएको स्टेरियो ब्लुटुथ हेडसेटको सुविधा छ। यी स्मार्टफोनबाट एनएफसी पेयरिङ र सेयरिङ गर्न सकिन्छ। यी स्मार्टफोनमा सिम्बियन बेले सफ्टवेयरका अग्रणी खोजहरु समावेश गरिएको छ।
सिम्बियन बेलेको मद्दतले यी स्मार्टफोनमार्फत सिंगल-ट्याप एनएफसी प्रविधि सेयरिङ र पेयरिङ गर्न सकिन्छ। यसैगरी छिटोछरितो वेब ब्राउजिङ र नवीनतम् व्यक्तिगत प्रयोगकर्ता इन्टरफेसको अनुभव गर्न सकिनेछ। एनएफसीले डिभाइसमार्फत विभिन्न सामग्री सेयर गर्ने सुविधा भएकाले स्पिकर, ब्लुटुथ, हेडफोन, हेडसेटलगायतसँग सजिलै पेयर गर्न मिल्छ।
नोकिया-७०० मोडेल कम्प्याक्ट टचस्त्रि्कन मोनोब्लक स्मार्टफोन हो। नोकिया-७०१ भने इनडोर एवं आउटडोर प्रयोग गर्न मिल्ने चहकिलो डिस्प्ले भएको स्लिक र स्टाइलिस स्मार्टफोन हो।
कम्पनीले नोकिया-७०० मोडेललाई सबैभन्दा सानो स्मार्टफोन भएको दाबी गरेको छ। ५० क्युबिक सेन्टीमिटरको यो स्मार्टफोनको तौल ९६ ग्राम छ। दुई जिबी आन्तरिक मेमोरी क्षमतायुक्त यो स्मार्टफोनमा ३२ जिबीसम्म मेमोरी कार्ड थप गर्न सकिन्छ। एचडी भिडियो क्याप्चर र एलइडी फ्ल्यासयुक्त यो फोनमा पाँच मेगापिक्सलको पूर्ण फोकसयुक्त क्यामेरा छ। यसको मूल्य नेपाली बजारमा २९ हजार ९ सय ४० रुपैयाँ तोकिएको छ।
नोकिया-७०१ मोडलको स्मार्टफोनमा ३.५ इन्चको क्लेयरब्ल्याक डिस्प्लेको सुविधा छ। यसमा क्लियरेस्ट साउन्ड क्वालिटी, एक्टिभ न्वाइज क्यान्सिलेयसन, सिंगलट्याप सेयरिङ, पेयरिङजस्ता क्षमता छन्। यसमा डुअल एलइडी फ्ल्यास्, २ गुणा डिजिटल जुमयुक्त ८ मेगापिक्सलको क्यामेरा, सेकेन्ड फ्रन्ट-फेसिङ क्यामरा, एचडी भिडियो क्याप्चर जस्ता सुविधा छन्। ८ जिबी आन्तरिक मेमोरीयुक्त यो स्मार्टफोनमा ३२ जिबीसम्म मेमोरी विस्तार गर्न सकिन्छ। नेपाली बजारमा यसको भाउ ३३ हजार १ सय ४० रुपैयाँ पर्छ।स्रोत:नागरिक
No comments:
Post a Comment