सभामुखलाई प्रधान मन्त्रीको जवाफ : १४ गतेभित्र केही न केही गर्छु

        माधव ढुङ्गेल, काठमाडौं, कात्तिक १२ - प्रधान मन्त्री बाबुराम भट्टराईले कात्तिक १४ भित्र शान्ति र संविधान निर्माणका दिशामा 'केही न केही गर्ने' जानकारी दिएका छन्। उनले सभामुख सुभाषचन्द्र नेम्वाङसँगको भेटमा आफू त्यसका लागि क्रियाशील भइसकेको बताए।
उनले अब थपिएको म्याद सकिन एक महिना बाँकी भएकाले यो अवधिमा संविधानका मस्यौदा तयारीमा लाग्ने पनि बताए। भेटमा नेम्वाङले शान्ति प्रकृया अगाडि बढ्न नसक्दा संविधान निर्माणको काम पनि अवरुद्ध रहँदै आएकोमा प्रधान मन्त्रीको ध्यानाकर्षण गराएका थिए। त्यसपछि प्रधान मन्त्रीले आफू यसका लागि एकदमै सकारात्मक र क्रियाशील भएको बताएका थिए।

त्यस क्रममा सभामुखले शान्ति र संविधानका छलफल सकारात्मकरुपमा अघि बढेको भनिए पनि यसैसँग सम्बन्धित बेपत्ता आयोग, सत्य निरुपण तथा मेलमिलाप आयोग जस्ता काम अघि बढ्न नसकेको भन्दै त्यसका लागि पहल गर्न प्रधान मन्त्रीसँग आग्रह गरेका थिए। सभामुखले भने- मैले यी कार्यमा पहल गर्नूस् भनें, शान्ति र संविधानको कामलाई निरन्तर र व्यवस्थितरुपमा अघि बढाउन भनें।

प्रधान मन्त्रीले दसैंपछि, भारतबाट फर्केपछि, तिहारपछि जस्ता शब्द प्रयोग गर्दै आए पनि यसबारे कुनै सकारात्मक काम अघि बढ्न सकेको छैन। सभामुखले आफूले प्रधान मन्त्री भारतबाट फर्केलगत्तै पनि यसबारे स्मरण गराएको भन्दै उनलाई अब कुनै हालतमा शान्ति र संविधान निर्माण कार्यमा ढिलाई नगर्न भनेको पनि सञ्चारकर्मीमाझ बताए।  

प्रधान मन्त्री भट्टराईले आजै बिहान माओवादी पार्टीका उपाध्यक्ष मोहन वैद्यसँग पनि भेटेका थिए। स्रोत:नागरिक 

No comments: