काठमाडौँ । प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि के के नै बित्न लाग्यो भनेर राति र बिहानभर छलफलमा जुटेका दलहरु प्रधानमन्त्री हिंडेसँगै सुस्ताएका छन् ।
प्रधानमन्त्री फर्किएलगत्तै शान्ति प्रकृया टुंगिन्छ भन्दै बालुवाटारबाट लाखापाखा लागेका नेताहरु प्रधानमन्त्री आएपछि मात्र जमघट हुने सुरमा छन् । त्यसअघि पर्याप्त छलफल र बहस गर्ने समय हुँदाहुँदै पनि उनीहरु फुर्सदिला देखिएका छन् । बिहीबार प्रधानमन्त्री भारत पुगे लगत्तै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आरामको लागि भन्दै बेलुकी भक्तपुरको नगरकोट पुग्नुभयो । कांग्रेस सभापति सुशील कोइराला शुक्रबार बिहानै गोरखातर्फ लाग्नुभएको छ ।
शुक्रबार गोरखा र शनिबार लमजुङमा हुने पार्टीको कार्यक्रम सकेर मात्र उहाँ काठमाडौं र्फकने कार्यक्रम छ । एमाले अध्यक्ष झलनाथ खनाल काठमाडौंमा भएपनि उहाँ एक्लोको उपस्थितिले शान्ति प्रकृयाको काममा सिन्को समेत भााचिंदैन । त्यसैले प्रधानमन्त्री नफर्किएसम्म दलहरु छलफलमा नजुट्ने भएका छन् । तर कार्यदलका सदस्यहरु भने धेरै कुरामा सहमति जुटिसकेकाले प्रधानमन्त्री फर्किए लगत्तै निष्कर्षमा पुग्ने दावी गर्छन् ।
आफू भारत भ्रमणमा निस्कनुअघि नै शान्ति प्रकृयामा केही महत्वपूर्ण सहमति जुटाउने प्रधानमन्त्रीको योजना थियो । त्यसैले हतार हतार उहाँले बिहीबार राति तीन दलको बैठक बोलाउनुभयो । तीन दलको बैठकले कार्यदल गठन गर्यो । कार्यदलले रातभरी गरेको गृहकार्य माओवादीको वैद्य पक्षको असहमतिका कारण बालुवामा पानी हाले जस्तो भयो । कार्यदलमा तीन दलका एकएकजना प्रतिनिधि थिए । तर वैद्य पक्षले आफ्नो समेत प्रतिनिधित्व हुनुपर्ने भन्दै दुई दुई जना सदस्य हुनुपर्ने अडान लियो । वैद्य पक्षको यो असहमति पनि माओवादीभित्रको सहमतीबाटै भएको हुन सक्ने विश्लेषकहरुको अनुमान छ ।
प्रधानमन्त्रीलाई पर्खनुको अर्थ
भारतसित आर्थिक लगायतका विषयमा सम्झौता गर्नेबेला त्यहााको संस्थापन पक्षलाई नेपालको शान्ति प्रकृयामा केही न केही सकारात्मक कुरा भएको छ भन्ने कुरा देखाउने योजना प्रधानमन्त्रीको थियो । त्यसैले उहााले भारत जानुअघि सहमति जुटाउन निकै प्रयत्न गर्नुभयो । ‘नेपालको आर्थिक मामिलामा कुरा गर्दा भारतले नेपालको सुरक्षा र राजनीतिबारे पक्कै पनि सोध्नेथियो, त्यसैले शान्ति प्रकृयामा केही सकारात्मक काम भएको देखाउन प्रधानमन्त्री चाहानुहुन्थ्यो’ द्वन्द्व विश्लेषक विष्णु पाठकले भन्नुभयो । त्यसो त माओवादी र कांग्रेस एमालेलाई पनि भारतसितको सम्बन्ध उही दूरीमा राखिरहनुपर्ने बाध्यता थियो । शान्ति प्रकृयामा आफूले पनि त्याग गरेको छु भनेर भारतलाई देखाउन कांग्रेस एमाले र माओवादी दुवै पक्षले भरमग्दूर प्रयास गरे । माओवादीले पनि केही कुरामा लचकता देखायो । तर वैद्य पक्षको असहमतिबाट माओवादी पार्टीलाई फाईदा पुगेको विश्लेषकहरुको भनाई छ । ‘सबै कुरामा लचक भएको जस्तो पनि देखाउने तर पार्टीको अर्को समूहले मान्दैन भनेर आफ्नो अडान कायमै राख्ने दोहोरो चरित्र माओवादीले देखाएको हो’ एकजना विश्लेषकले भने ।
जे होस् प्रधानमन्त्री भट्टराई नहुँदा पनि माओवादीको तर्फबाट अध्यक्ष प्रचण्डले नै शान्ति प्रकृयाको लागि निर्णायक व्यक्ति हो । अहिले शान्ति प्रकृया टुंग्याउन भट्टराईलाई नै पर्खनुको अर्थ के त ? ‘भारतले भ्रमणलाई कसरी लिन्छ र के भन्छ भन्ने कुराले निकै भूमिका खेल्छ’ द्वन्द्वविद विष्णु पाठकले भन्नुभयो -’नेपालको अरु राजनीतिक र आर्थिक मुद्दामा जस्तै शान्ति प्रकृयामा पनि भारतको चासो रहेकाले प्रधानमन्त्रीको भ्रमणको क्रममा भारतले यसबारे राख्ने चासो र प्रतिकृयाले निकै असर पार्छ ।’
माओवादीबाट प्रतिनिधि नै छैन
प्रधानमन्त्री फर्किएपछि टुंग्याउने भनिएपनि यसबीचमा कार्यदलले आवश्यक गृहकार्य गर्ने सहमति भएको थियो । तर माओवादीको तर्फबाट कार्यदल सदस्य वर्षमान पुन अनन्त प्रधानमन्त्रीसागै भारत भ्रमणमा हुनुहुन्छ । ‘अनन्त जी नभएकोले छलफल र गृहकार्य हुन पाएन’ एमालेको तर्फबाट कार्यदल सदस्य भीमप्रसाद रावलले भन्नुभयो -’माओवादीकै प्रतिनिधि नहुँदा छलफल गर्नुको पनि अर्थ छैन ।’ तर यसबीचमा छलफल आवश्यक भएकाले माओवादी नेतृत्वसित कुरा गरेर प्रतिनिधि माग्ने र गृहकार्य गर्ने रावलले बताउनुभयो ।:अनलाइन खबर
No comments:
Post a Comment