पर्यटक भिषामा लगिएका युवती खाडी मुलुकका डान्सबारमा


  • गिरोह पक्राउ

  • नेपाल एयरलाइन्सकामा कर्मचारीको मिलेमतो


काठमाडौं, आश्विन २९ - पर्यटक भिषामा युवतीलाई खाडी मुलुकका डान्सबारमा लैजाने नेपाल एयरलाइन्सका एक कर्मचारीसहित तीन दलाललाई प्रहरीले पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय बिमानस्थल प्रहरीले शुक्रबार राती खाडी मुलुक जान लागेका ७ महिलालाई नियन्त्रणमा लिएपछि उनीहरुको सुचनाका आधारमा दलाल समुह पक्राउ परेको हो । पक्राउ पर्नेमा एयरलाइन्सका कर्मचारी मिगी केसी, डान्सबारका लागि युवती खोजी गर्ने ललित महर्जन र उनीहरुको नक्कली कागजपत्र तयार गर्ने राजन सुवेदी छन् । सुबेदी हात्तिसारस्थित ग्यालिलियो ट्राभल्सका सञ्चालक हुन् ।
केसीलाई शनिबार राती ८ बजे ललितपुरस्थित घरबाट पक्राउ गरिएको हो । उनले ती युवतीलाई कागजपत्रबिनै बिमानमा चढाउने गरेको प्रहरीले जनाएको छ । महर्जनले १५ बर्षदेखी खाडी मुलुकमा काम गर्ने युवतीको खोजी गर्ने गरेको बताए । 'ईच्छुक युवतीलाई लैजाने गरिएको छ' उनले भने । सुवेदीले मलेसिया र दुबईका पर्यटक भिषासहित कागजपत्र मिलाइदिने गरेको प्रतिक्रिया दिए । 'टिकट मिलाउने काम गरेको हुँ' उनले भने ।
 बिमानस्थल प्रहरी प्रमुख डिआइजी नारायण बस्ताकोटीले दलालले बिमानस्थलसंग सम्बद्ध कर्मचारीको मिलेमतोमा युवती पठाउने गरेको बताए । 'एयरलाइन्सकै कर्मचारी पक्राउ पर्नुले त्यो पुष्टि भयो', उनले भने । 
बस्ताकोटीले चेलिबेटीलाई प्रलोभन देखाएर खाडी मुलुक पुर्‍याएपछि अलपत्र पार्ने र अनुचीत कार्यमा जबरजस्ती लगाउने गरेको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । 'डान्सबार र रेष्टुरेण्टमा वेटरको काम लगाइदिने भनेर श्रम अनुमतिबिना लगेपछि दलालको खुसी अनुसार युवतीलाई चलाउने गर्छन्' बस्ताकोटीले भने, 'यो प्रलोभनमा पारेर बेच्न लगिएको हो ।'
नेपाली युवतीहरु विदेशी मुलुकका डान्सबारमा काम गर्न जाने घटना भने नौलो होइन । एक बर्षअघि सिंगापुरको डान्सबारमा युवतीलाई लगेर जबरजस्ती डान्स गर्न लगाउने दुई नेपाली मोडललाई प्रहरीले पक्राउ गरेको थियो । सिंगापुरसहित खाडी मुलुकका डिपार्टमेन्टल स्टोर लगायतमा काम लगाइदिने भन्दै नेपाली चेलीलाई लैजाने गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिइएका युवती र नेपाल र मलेसियामा रहेका दलाल बिचको टेलिफोन संवाद सुनाएका थिए । त्यसमा महिलाले आफूहरुलाई बिमानस्थलबाट प्रहरीले जान नदिएको जानकारी यहाँका दलाललाई गराएकी थिइन् । 'तपाइहरुले भित्र सेटिङ गर्नुभएनछ, हामीलाई जान दिएको छैन' युवतीले टेलिफोनमा भनेकी छन् 'कोसंग सेटिङ गराएको हो, उसलाई तुरुन्त छुटाउनु पर्‍यो ।' फोन उठाउने दलालले 'राजनजिले सेटिङ गरेको हो के भएछ, म बुझ्छु', भनेका छन् ।
प्रस्थान पास लिएर हिड्न लागेका उनीहरुलाई सोधपुछ गर्दा पर्यटक भिसामा काम गर्न जान लागेको बताएका थिए । पर्यटक भिषामा अर्को देश घुम्न जादा निश्चित अमेरीकी डलर बैकमा दाखिला गरेको हुनुपर्छ । त्यस्तो नभेटिएपछि प्रहरीले उनीहरुमाथी थप सोधपुछ गरेको थियो । युवतीहरु १८ देखी २८ बर्ष उमेर समुहका छन् । यिनीहरुमध्ये केहि पहिला पनि गएर आएको डिआइजी बस्ताकोटीले जानकारी दिए । यिनीहरुले जनही ११ हजार रुपैंया खर्च गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दलाल द्धय महर्जन र सुवेदीलाई मानब बेचबिखन अभियोगमा मुद्धा दायर गरिने बस्ताकोटीले बताए । बेचखिनको अभियोग पुष्टि भए उनीहरुलाई अदालतले १५ बर्षसम्म कैद सजाय सुनाउन सक्छ । प्रतिमा बास्कोटा-ईकान्तिपुर

No comments: