नेपाली चेली कतार स्थित दुतावासको शरणमा

प्रेम लामा / दोहा
        वैदेशिक रोजगारीको सिलसिलामा तीन महिना अघि कतारस्थित एक क्लिनिङ्ग कम्पनीमा आएकी सिन्धुली जिल्ला मरिन– १ की दुर्गा मगर गत ४ सेप्टेम्वरमा नेपाली नियोगको शरणमा आइपुगेकी छिन् । नेपालमा रहेका श्रीमानको मोटरसाइकल दुर्घटनावाट करङ्गको हड्डी भाँचिएकोले बच्चाहरुको विचल्ली भएर घर जानको लागि वारम्वार अनुरोध गर्दा पनि घर जान नदिएपछि भागेर नियोगमा आएको उनले बताएकी छन् ।
उनका श्रीमानले किड्नीको अप्रेशन गरेर अहिले ठिक भएपछि केही सानो तिनो ब्यापार ब्यवसायी गरेर नेपालमै वसेका थिए । ‘तर एक्कासी दुर्घटना भएछ । म इमर्जेन्सी नेपाल घर जान्छु भन्दा घर जान पटक्कै नदिने बतायो’ उनले भनिन् ।
काभ्रेपलाञ्चोकको वनेपास्थित चण्डीका ट्राभल्सका वालकृष्ण कार्की (विवेक)ले ६० हजार रुपैयाँ शुल्क लिएर ‘राम्रो काम र दाम कमाइन्छ’ भन्ने प्रलोभनमा पारेर आफुलाई दोहा पठाएको पनि उनले बताएकी छन् । ‘आएको तीन महिना भयो । महिनाको ८ सय तलव खाना वस्न र ओभरटाईम हुने वताए पनि दुई महिनाको एक हजार रियाल मात्र तलव पाएँ’ उनले भनिन्– ‘यहाँ आएपछि भनेको वेलामा तलव नपाउने र काम पनि अति चर्को भएकोले साह्ै समस्यामा परें ।’
विवेक भन्ने एजेन्टले नै टिकट पठाईदिन्छु भनेको र टिकटको प्रतिक्षामा रहेको पिडीतले बताएकी छन् । उनी कार्यरत क्लिनिङ्ग कम्पनीमा अरु पाँच जना नेपाली चेलीहरु पनि कार्यरत रहेका उनले जनाइन् । उनी दोहा आउनु अघि कुवेतमा ११ महिना घरेलु कामदारको रुपमा काम गरेर फर्केकी थिइन् ।

No comments: