कान्तिपुर संवाददाता/काठमाडौ
प्रधानमन्त्री बाबुराम भट्टराई औपचारिकबाहेकका कार्यक्रममा जाँदा साइरन नबजाई सडकमा निस्कने भएका छन् । सर्वसाधारणका हितका लागि भन्दै भट्टराईले सवारीमा साइरन नबजाउन र सर्वसाधारणका सवारी साधनसमेत नरोक्न निर्देशन दिएका हुन् ।
यसअघिका प्रधानमन्त्री सडकमा निस्कँदा ट्राफिक प्रहरीको दुई मोटरसाइकल, नेपाल प्रहरी मुख्यालयको विशेष सुरक्षा कार्यदलबाट खटिएको गाडी र नेपाल प्रहरीकै डीएसपीको कमान्डमा प्रधानमन्त्रीको सुरक्षार्थ खटिएको अगुवा गाडीले पनि साइरन बजाउँथ्यो । 'अघिल्ला प्रधानमन्त्रीको पालामा जनताले धेरै दुःख पाएको गुनासो आएपछि उहाँले जनतालाई अवरोध पुग्ने गरी सवारी नचलाउन भन्नुभएको छ,' प्रधानमन्त्री निकट सुरक्षा स्रोतले भन्यो, 'त्यही निर्देशनअनुसार हामीले सुरक्षा मिलाइरहेका छौं ।' उनको सवारी समयसमेत सर्वसाधारणकै हितका लागि परिवर्तन गरिएको उल्लेख गर्दै सवारी जाम धेरै हुने समयमा प्रधानमन्त्री सडकमा ननिस्किने गरेको स्रोतले जनायो ।
प्रधानमन्त्रीको सवारीमा चल्ने सुरक्षाका गाडीको संख्या पनि घटाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जगतमान श्रेष्ठले अनौपचारिक सूचना आएको जनाउँदै त्यहीअनुसार व्यवस्थापन गरिएको बताए । 'औपचारिक सवारीमा गाडी रोक्ने प्रथा अन्त्य भएको छ,' उनले भने, 'तर सुरक्षाका लागि सर्वसाधारणका सवारी साधन चाँडो पठाउँदै रेखदेख गरेका छौं ।' प्रधानमन्त्रीले यसो गरे पनि मन्त्रीहरू भने झन्डावाल गाडीमै साइरन बजाउँदै गुडिरहेका छन् ।@eKantipur
No comments:
Post a Comment