१२ वर्षपछि नेपाली गाडीको परीक्षा

विष्णु पोखरेल/ काठमाडौं
   झट्ट हेर्दा 'मिनी ट्रक'जस्तो देखिन्छ। बाहिरी आवरणमा कुनै आकर्षण छैन। ठूलो आवाज निकाल्छ। त्यसमाथि संवेदनशील ओहोदाका व्यक्तिलाई चाहिने न्यूनतम सुरक्षा व्यवस्था छैन।
प्रधानमन्त्री बाबुराम भट्टराईले सुविधासम्पन्न गाडीहरूको विकल्प छाडेर नेपालमै 'एसेम्बल' गरिएको 'मुस्ताङ म्याक्स' रोजेपछि यसको सुविधा र सुरक्षालाई लिएर टिकाटप्पणी भइरहेका छन्।
उत्पादक हुलास मोटर्सले भने यसलाई सकारात्मक रूपमा लिँदै प्रधानमन्त्रीले चढ्ने गाडीमा सुविधा र सुरक्षा थप्न दुईजना इन्जिनियर बिहीबार भारत पठाउँदैछ।
कम्पनीको भनाइमा यो 'गर या मर'को स्थिति हो। १२ वर्षदेखि गाडी उत्पादन गरिरहेको हुलास मोटर्समा यतिविधि उत्साह कहिल्यै छाएको थिएन। पहाडी सडकमा कुद्दै आए पनि सहरी क्षेत्रका धेरैले यसको नामै सुनेका थिएनन्। आयातीत मोटरसँग प्रतिस्पर्धा गर्न नसक्ने र ६५ प्रतिशतभन्दा बढी अन्तःशुल्क तिर्नुपर्ने भएकाले यो स्वदेशी उद्योग चल्नै नसक्ने हालतमा पुगेको कम्पनीको भनाइ छ।
प्रधानमन्त्री भट्टराईले रोजेपछि हुलास मोटर्सले कहिल्यै नपाएको चर्चा पायो। यत्तिकै चर्चा बटुल्न करोडौं खर्च गर्नुपर्थ्यो। कम्पनीका महाप्रबन्धक प्रफुल्लचन्द्र दास 'यो चर्चा खेर जान नदिने' बताउँछन्। 'यो परीक्षाको घडी हो,' उनले भने, 'जसरी भए पनि पास गर्नैपर्छ, हाम्रो सारा बल यसैमा छ।'
उनका अनुसार कम्पनीले गाडीको बनोट सुधार्न अनुसन्धान सुरु गरिसकेको छ। इन्जिनियर टोलीको भारत भ्रमण त्यसैअन्तर्गत हो। 'उनीहरूले भारतमा अध्ययन गरेर आएपछि सुविधा थपिनेछ,' उनले भने, 'टोलीले मुस्ताङ म्याक्सलाई उपयुक्त हुने पार्टपूर्जाको नमूना पनि हेर्नेछ।'
गाडीको मोडेल र आकार परिवर्तन गर्न लामो अनुसन्धान चाहिने भएकाले अहिलेलाई भित्री बनोटमात्र परिवर्तन गर्न लागेको कम्पनीले जनाएको छ। 'मोडेलै फेर्न एक वर्ष लाग्छ,' दासले भने, 'अहिलेलाई हाम्रो प्रयास लक्जरी, सेफ्टी र इन्टेरियर परिवर्तनमा हुनेछ।'
उनका अनुसार भारत गएको टोलीले दिने सिफारिसका आधारमा मुस्ताङ गाडीको भित्री स्वरूप परिवर्तन गरेर जतिसक्दो सुविधायुक्त र सुरक्षित बनाइनेछ। यत्ति गर्न एकदेखि डेढ महिना लाग्ने उनले जानकारी दिए।
कम्पनीले प्रधानमन्त्रीको आवश्यकतालाई हेरेर तात्तातै यी तयारी थालेको हो। यसबाहेक सहरमा उपयोगी हुने खालका अन्य मोडलको डिजाइन बनाउन अर्को छुट्टै टोली अनुसन्धानमा खटाएको कम्पनीले जनाएको छ। अहिलेको चर्चाबाट हौसिएर विदेशी कम्पनीको जस्तै 'ह्याचब्याक' र 'एसयुभी' गाडी उत्पादनको योजना पनि बनाएको दासले बताए।
चीनमा बनेको जिआई रिजर्भ टर्क इन्जिन प्रयोग भएको मुस्ताङ म्याक्स विशेषगरी पहाडी कच्ची बाटोलाई लक्ष्य गरी निर्माण गरिएको हो। २ हजार ५ सय ४० सिसी डिजेल इन्जिन क्षमताको यो गाडी एक लिटर डिजेलबाट ११ किलोमिटर दौडिनसक्छ। यसलाई अधिकतम प्रतिघन्टा ९० किलोमिटरको गतिमा कुदाउन सकिन्छ। यो फोरह्विल गाडीको इन्जिन उकालो बाटोलाई उपयुक्त मानिन्छ। @Nagarik news

No comments: