सपनाको व्यापार

जनकराज सापकोटा
धनी बन्ने सूत्र भएका पुस्तक बेच्ने
धनी भए तर पाठक जस्ताको त्यस्तै
     रत्नपार्कको आकाशे पुलनजिकैको सडकपेटीमा बेच्न राखिएका पुस्तकको खातबाट करोडपति कसरी बन्ने ? नामको पुस्तक उठाएपछि सिन्धुपाल्चोक, मेलम्चीका रामकृष्ण मैँजुले लामो सास ताने। स्नातकसम्मको पढाइ बीचमै छाडेका मैँजु बालाजुको एक उद्योगमा हिसाबकिताब राख्ने काम गर्छन् र त्यसबापत मुस्िकलले मासिक दस हजार रुपियाँ तलब थाप्छन्। दुई छोराछोरीका बाबु रामकृष्णका सपना औसत स्तरका छन्। तर, औसत जीवनयापन गर्न पनि उनको तलबले आधा महिना पुग्दैन। कडा परिश्रम गरे पनि सफलता हासिल गर्न नसकेका उनलाई धनी कसरी बन्ने र सफलता कसरी हासिल हुने भन्ने कुराले बारम्बार झकझक्याउने गर्छ। "त्यही भएर म यस्ता पुस्तक किन्छु," उनी मुस्कुराउँदै भन्छन्, "अभिलाषाको तलतलले पुस्तक पढ्न मन लाग्छ।" यसभन्दा अघि पनि उनले सफलताका सूत्रहरू भन्ने पुस्तक पढिसकेका छन्। तर, उनले सफलताको कुनै छेउटुप्पो भेटेका छैनन्।

मैँजु त प्रतिनिधि पात्र मात्रै हुन्। धनी बन्ने र सफलताको उचाइ छिटो पक्रने सपना देख्ने धेरै रामकृष्णहरूको रोजाइमा पर्ने यस्तै पुस्तकहरू पढ्ने गर्छन्। धनाढ्य बन्ने मास्टर माइन्डको सिद्धान्त, करोडपति कसरी बन्ने ?, धनी ड्याडी, गरिब ड्याडी, सफलताका २९ नियम, सफलताका १०१ नियम, सफलता शास्त्र, सफलता विज्ञान, तपाईंको जितजस्ता पुस्तकको बढ्दो बिक्रीले धनी बन्ने मानिसको बढ्दो चाहनालाई प्रतिविम्बित गर्छ।

रत्नपार्कछेउमा पछिल्ला चार वर्षयता यस्ता पुस्तक बेचिरहेका तिलक पौडेलका अनुभवमा पनि धनी बन्न सूत्र खोज्ने मान्छेको संख्या बढ्दै गएको छ। तीन सन्तानका बाबु तिलक हरेक महिना आर्थिक संकटबाट गुजि्रन्छन् र त्यसलाई टार्न उनले लिएको ऋणले उनकै ढाड सेकिसकेको छ। तिलक व्यंग्य गर्दै भन्छन्, "सफलताका सूत्र र धनी बन्ने पुस्तक पढेरै धनी हुने भए वषौर्ंदेखि यिनै पुस्तक बेच्ने मचाहिँ कसरी गरिब हुन्थेँ र ?" उनका अनुसार मानिसहरू आशैआशमा यस्ता पुस्तक किन्छन्, जसले उनको व्यापार बढाइदिन्छ र नाफा पनि।

नेपाली पुस्तक बजारमा सपनाको खेती गर्ने यस्ता पुस्तकको छोटो इतिहास र ठूलो बजार छ। ठ्याक्कै अनुमान गर्न त सकिन्न तर पुस्तक व्यवसायीहरूका अनुसार साहित्य, कला, दर्शन र इतिहासका भन्दा यस्ता पुस्तकहरूको बिक्री बढी छ। उदाहरणकै लागि हेरौँ, स्वेट मार्डनको कसरी बन्ने करोडपति ? नामक पुस्तक तीन संस्करणमा छ हजारभन्दा बढी प्रति बिक्री भइसकेको छ। सुवी प्रकाशनका विष्णु सिलवाल भन्छन्, "पैसा कमाएर समृद्ध बन्ने मान्छेहरूको बढ्दो संख्याले यस्ता पुस्तकको बिक्री पनि ह्वात्तै बढाइदिएको छ।" उनका अनुसार पछिल्ला पाँच वर्षयता नेपाली पुस्तक बजारमा यस्ता पुस्तकको बाढी उर्लेको छ। जसको बिक्री संख्या अहिले पनि ओरालो लागेको छैन। भन्छन्, "पैसा कमाउने सपना बोकेर सहर छिर्नेहरू यस्त्ाा पुस्तकका मुख्य ग्राहक हुन्।"

अहिले गुरुकुलमा काम गर्ने रवीन्द्र बानियाँ पनि कुनै समय तिनै ग्राहकमध्येका एक थिए। जीवनमा सफलताको बहार नै ल्याउने ठानेर उनले सफलताका सूत्र सिकाउने र धनी बन्ने उपाय सुझाउने भनिएका झन्डै एक दर्जन यस्ता पुस्तकको अध्ययन गरे। तर, यसबाट उनको जीवनमा कुनै परिवर्तन आएन। न त पुस्तकको शीर्षकले भनेजस्तै उनले सफलताका सिँढी फेला पारे, न कुनै जादुमयी चमत्कार नै भयो। भन्छन्, "आत्मज्ञानभन्दा शब्दज्ञान मात्रै बढायो।" बानियाँजस्तै कुनै समय सफलता र समृद्धिको जादुमयी सूत्र सिकाउने पुस्तक पढ्ने धेरैले आफ्नो जिन्दगीमा परिवर्तनको अनुभूति गर्न सकेका छैनन्। बानियाँ भन्छन्, "धनी बन्ने पुस्तक बेच्नेहरू मात्रै धनी भए, पढ्नेहरू उस्तै रहे।" अनूदित धनी ड्याडी, गरिब ड्याडी पढेपछि त उनलाई त्यस पुस्तकले धन कमाउनभन्दा खर्च गर्न सिकाउँछ भन्ने लागेको थियो।

भक्तपुरका तन्नेरी ईश्वर दाहालसँग पनि कुनै समय घन्टौँ लगाएर त्यस्ता पुस्तकका पानाहरू चहारेको स्मृति छ। तर, समय र पुस्तक किन्दाको लगानीले उनको जीवनमा कुनै परिवर्तन ल्याएन। शिव खेडादेखि विकासानन्दसम्मका सफलता पत्ता लगाउने सूत्रहरूको अध्ययन गरेका उनी भन्छन्, "बरु बेबकुफ भने भएँ।" दाहालको बुझाइमा सफलता व्यक्तिको निजात्मक कुरा हो र सफलताका सूत्र पनि नितान्त व्यक्तिगत कुरा मात्रै हुन्।

मानवशास्त्री सुरेश ढकालका अनुसार यस्ता पुस्तकले मानिसमा बढ्दो महत्त्वाकांक्षालाई सम्बोधन गर्न सक्दैनन्। भन्छन्, "आशाको पुलिन्दा बाँड्ने काम गर्ने यस्ता पुस्तकले समयको बर्बादी मात्रै गर्छ।" मानवशास्त्री ढकालले भनेझँै कुनै समय सुशील पोखरेलको समय पनि यस्ता पुस्तकले बर्बाद गरिदिएको थियो। आफ्ना काकाबाट यस्ता पुस्तक पढ्ने बानी सिकेका पोखरेलले स्वेट मार्डनदेखि डेल कार्नेसम्मले लेखेका पुस्तकहरू पढे। झन्डै दर्जनको संख्यामा यी पुस्तक पढेका पोखरेलको अनुभवमा सूत्रहरूको बाटो हिँडेर सफलताको उचाइ पक्रन सकिने भए संसारमा गरिबहरू हुने थिएनन्। भन्छन्, "यस्ता पुस्तक पढ्नु आशाको त्यान्द्रोमा झुन्डिनु मात्रै हो।"

ज्ञान बाँड्ने भनिएका साहित्यिक पुस्तकहरूको बिक्री उत्साहप्रद नभए पनि सफलताका सूत्रहरू पहिल्याउने भनिएका पुस्तकहरूको बिक्री उत्साहजनक देखिन्छ। यस्तो अवस्था नेपालमा मात्रै भने होइन। विश्वव्यापी रूपमा नै ठूलो संख्यामा बिक्री हुने पुस्तकमध्ये यस्तै पुस्तकको सूची छ। स्वेट मार्डनको सफलताका रहस्यहरू नामक पुस्तक विश्वभर २ करोड ६० लाखभन्दा धेरै बिक्री भइसकेको रेकर्ड छ। त्यस्तै उनकै रिच ड्याड पुअर ड्याड नामक पुस्तकको बिक्री पनि यसभन्दा कम छैन।

ऐरावती प्रकाशनका रामदेव पाण्डेका अनुसार विश्वभर धार्मिक पुस्तक र अश्लील पुस्तकपछि सबैभन्दा बढी बिक्री हुनेमा यस्तै पुस्तक पर्छन्। सफलता विज्ञान नामक पुस्तक लेखेर छ महिनामा तीन हजारभन्दा बढी प्रति बेचेका पाण्डे भन्छन्, "भविष्यप्रतिको बढ्दो चिन्ता र सफलताप्रतिको बढ्दो सम्मोहनका कारण यस्ता पुस्तकको बिक्री बढ्दो छ।" तर, पाण्डे स्वयं पनि पुस्तक मात्रै पढेर सफलता प्राप्त हुने कुरामा विश्वास गर्दैनन्। उनको प्रकाशन गृहले मात्रै शिव खेडाको पुस्तक जित तपाईंको पछिल्ला दुई वर्षमा तीन हजारभन्दा बढी प्रति बेचिसकेको छ। ट्रान्स रिपि्रन्टले नेपालीमा अनुवाद गरेर प्रकाशन गरेको करोडपति कसरी बन्ने ? नामक पुस्तक पछिल्ला दुई वर्षमै छ हजारभन्दा बढी बिक्री भइसकेको छ। त्यस्तै रिपि्रन्टले नै वितरण गरेको स्वेट मार्डनको सफल जीवनका सूत्रहरू, भारतीय लेखिका मृदुला अग्रवालको नेपाली अनुवाद सफल जीवनका १० नियम र स्वेट मार्डनको सफलताको मन्त्र नामक पुस्तकको बिक्री पाँच हजारभन्दा बेसी नै छन्। रिपि्रन्टका मार्केटिङ् विभागका भजनलाल राउतका अनुसार यस्ता पुस्तक बिक्री नहोलान् भनेर चिन्ता लिनुपर्ने अवस्था छैन। भन्छन्, "पुस्तक पढ्नेबित्तिकै धनी बनिन्छ भन्नेहरू यस्ता पुस्तकका मुख्य ग्राहक हुन्। छ्यापछ्याप्ती छन् यस्ता ग्राहक।"

धनी बन्ने सिकाउन सञ्चार 

रसियाका अत्यन्तै धनी व्यक्ति मिखाइल प्रोखोरोभले धनी कसरी बन्ने भन्ने सिकाउनका लागि म्यागजिन र टेलिभिजन खोल्ने भएका छन्। यसका लागि उनले १५ करोड अमेरिकी डलर खर्च गर्ने बताएका छन्। प्रोखोरोभका अनुसार उनले खोल्न लागेको टेलिभिजन र पत्रिका धनी बन्न चाहने मानिसका निम्ति लक्षित हुनेछ।

संसारभरिका धनीमध्ये २४औँ स्थानमा रहेका प्रोखोरोभको सुनखानी र अन्य ठूला उद्योगसमेत रहेका छन्। रुसको २० प्रतिशत जनसंख्या अझै पनि गरिबीको रेखामुनि रहेको छ। त्यसैले आफ्नो टेलिभिजन र पत्रिकाले गरिब जनतालाई कसरी धनी हुने भन्ने सिकाउने उनले बताएका छन्।

सस्तो उपाय सुरेश ढकाल मानवशास्त्री

सस्तो मूल्यमा पाइने र सरल भाषामा लेखिएका पुस्तकका ग्राहक भनेका पुस्तक पढ्नभन्दा गेसपेपर पढ्न जाँगर चलाउने विद्यार्थीजस्तै हुन्छन्। जो अध्ययनशीलता र चिन्तनशीलतामा विश्वास गर्दैनन् र छिटो सफलताको उचाइ छुने सपना देख्छन्। जिन्दगीमा कठिन बाटो नहिँडेरै छिटो धनी बन्ने सपना देख्ने मान्छेलाई नै लक्षित गरेर यस्ता पुस्तकको प्रकाशन गरिएको हो। यस्ता पुस्तकका लेखक र प्रकाशकहरू मानिसको यही मनोविज्ञानमाथि टेकेर व्यापार गरिरहेका छन्। सपना भएका तर ज्ञान नभएका तन्नेरीहरू यस्ता पुस्तकका पाठक हुन्।

गहन र बौद्धिक पुस्तक पढ्ने चिन्तन नभएको नेपाली समाजमा यस्ता पुस्तकको बिक्री बढ्नु नौलो कुरा होइन। तर, यस्तो प्रवृत्ति विदेशतिर पनि उत्तिकै छ। मान्छेहरू संघर्ष र बेथितिहरूबाट उन्मुक्तिको खोजीमा यस्ता पुस्तकलाई विकल्पका रूपमा लिन्छन्। तर, एउटा सत्य कुरा के हो भने यस्ता पुस्तक पढ्नेहरू कहिल्यै पनि नेतृत्वदायी तहमा पुग्दैनन्। समाजलाई डोर्‍याउने हैसियत राख्नेहरूले त यस्ता पुस्तक पढ्दै पढ्दैनन्। नेटवर्किङ् विजनेसमा जस्तै बिनाश्रम पैसा कमाउने सस्तो उपायबाहेक केही होइनन् यस्ता पुस्तक। ठूला सम्भावनालाई यस्ता पुस्तकले मार्ने गर्छन्। यो सपनाको कारोबार मात्रै हो।
@नेपाल

No comments: