अपराधीलाई संरक्षण

जनक नेपाल 
       बाँकेमा प्रहरी प्रमुख भएर गत फागुन १४ गते नेपालगन्ज आउनासाथ प्रहरी उपरीक्षक महेशविक्रम शाहले धेरै महत्त्वाकांक्षी योजना बनाए । शान्ति-सुरक्षाको स्िथति सुधार्नेदेखि आपराधिक समूहसँग मिलेमतो गर्ने प्रहरीमाथि कारबाही गर्नेसम्मका प्रतिबद्धता जनाए । अपराध भएको खबर पाउनासाथ घटनास्थल पुग्ने विशेष अपरेसन दस्तादेखि औद्योगिक सुरक्षा दस्ता बनाउने घोषणा गरे । सीमा-नाका, मुख्य चोक र गल्लीमा सीसी टीभी राख्ने र प्रहरीभित्र भ्रष्टाचार रोक्ने दाबीसँगै दृढता व्यक्त गरे । भन्छन्, "अपराध अनुसन्धानमा कुनैखाले राजनीतिक हस्तक्षेपलाई प्रहरीले स्वीकार्ने छैन ।" तर, चैत ३० गते बेतहनीस्िथत नौलीगौडी गाउँका दुई जनाको ज्यान जाने गरी भएको आक्रमणका दोषीहरू प्रहरी सम्पर्कबाट रातारात 'फरार' भएपछि भने उनले वास्तविकतासँग सामना गर्नुपर्‍यो ।

आक्रमणका मुख्य अभियुक्तहरू नरेन्द्र चौधरी, सत्यनारायण बर्मा र कयुम खाँ प्रहरीकै परामर्शमा सीमावर्ती भारतीय गाउँमा बस्दै आएको प्रहरी स्रोतको दाबी छ । चौधरी नेपाली कांग्रेस जिल्ला समिति सदस्य हुन् । सडक निर्माण उपभोक्ता समिति गठनबारे उत्पन्न विवादपछि चौधरीको नेतृत्वमा नौलीगौडी गाउँ पुगेर आक्रमण गरएिको थियो । उपभोक्ता समितिको नेतृत्व लिन कांग्रेस र अरू राजनीतिक दलहरूबीच तीव्र प्रतिस्पर्धाले विवाद निम्त्याएको हो । आक्रमणमा गम्भीर घाइते नेकपा एमालेका कार्यकर्ताहरू गुलाम हुसेन सल्मानीको वैशाख १ गते र मन्सव अलि नाउको वैशाख २१ गते मृत्यु भएपछि गाउँमा तनाब बढेको छ । घटनालाई राजनीतिक विवाद भन्दै पन्छिएको प्रहरीले पीडितहरूको उजुरीपछि अनुसन्धान सुरु गर्‍यो । चौधरीसहितका अभियुक्तहरू नगर प्रहरी निरीक्षक मुकुन्द रजिालको सम्पर्कमा थिए । तर, कांग्रेसका जिल्लादेखि केन्द्रीयस्तरका नेताहरूको दबाबपछि प्रहरीले रातारात छाडिदियो । "प्रहरी अधिकृतले दोषीलाई भगाए," सल्मानीका भाइ सम्सुद्दिन भन्छन्, "प्रहरीले सोधपुछ गर्नसमेत चाहेन ।"

आक्रमणविरुद्ध उत्रिन एमालेलाई सत्ता गठबन्धनले रोकेको छ । एमाले जिल्ला नेताहरूले प्रहरीसँगको असन्तुष्टि गृहमन्त्री भीम रावलसम्म पुर्‍याएका छन् । तर, सत्ता साझेदार कांग्रेस कार्यवाहक सभापति सुशील कोइरालाले चौधरीलगायतका कांग्रेस कार्यकर्ताहरूलाई पक्राउ नगर्न रावललाई दबाब दिएको स्रोत दाबी गर्छ । "आफ्नै पार्टी सरकारमा भएकाले जुलुस-धर्ना पनि गर्नु भएन," एमाले बाँके अध्यक्ष नन्दलाल रोकाय भन्छन्, "प्रहरीलाई कताबाट दबाब आयो था'छैन । तर, पीडितलाई सहयोग गरेन ।" हत्या गर्ने उद्देश्यले गरएिको आक्रमणलाई भिडन्त भनिएको र दोषीलाई पक्राउ नगर्नुले प्रहरीको भूमिकाप्रति चित्त नबुझेको उनी बताउँछन् । गाउँमा गएर कांग्रेसबाहेकका आफ्ना विरोधीलाई छानेर आक्रमण गरएिको उनको दाबी छ ।

मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक)का अध्यक्ष हीरालाल लोनिया प्रहरीले अपराधीलाई संरक्षण गर्दै आएको बताउँछन् । भन्छन्, "हत्या, कुटपिट र लुटपाट हँुदासमेत प्रहरी गम्भीर देखिएन ।" प्रहरीले भने मुख्य अभियुक्तहरू फरार रहेको बताउँदै आएको छ । प्रहरी सम्पर्कमा रहेका अभियुक्तहरू फरार भएको बारे प्रहरी उपरीक्षक शाहको आफ्नै तर्क छ । भन्छन्, "अभियुक्तहरू प्रहरी नपुग्दै अस्पतालबाट डिस्चार्ज भइसकेछन् ।"

नौलीगौडीका गाउँलेले वैशाख २ गते चौधरीसहित ४५ जनाविरुद्ध ज्यान मार्ने उद्योग र लुटपाटका तीन उजुरी प्रहरीमा दर्ता गराएका छन् । घटनामा असंलग्नहरूलाई पनि मुछेर दुःख दिन खोजिएको कांग्रेसको दाबी छ । उजुरी दिइएकाहरू गाउँ छाडेर दिनभर सीमावर्ती भारतीय गाउँमा बस्ने गरेका छन् । जिल्ला सभापति कृष्णमान श्रेष्ठ दोषीहरूलाई संरक्षण गर्ने पार्टीको नीति नभएको बताउँछन् । भन्छन्, "दोषीलाई कारबाही हुनुपर्छ तर धेरै निर्दोषलाई फसाउन खोजिएको छ ।" प्रतिशोधस्वरूप बिर्ता गाउँका कांग्रेस कार्यकर्ताहरूले वैशाख ७ गते २५ जनाविरुद्ध मुद्दा दर्ता गराएका छन् । गाउँभरका आफ्ना कार्यकर्ताविरुद्ध मुद्दा दिइएकामा दुखेसो पोख्दै श्रेष्ठ सुझाउँछन्, "मुठभेड होइन, सहमतिको बाटो खोज्नुपर्छ ।"

अपराधलाई राजनीतिक संरक्षण दिइएको यो पहिलो घटना भने होइन । दुई वर्षअघि कांग्रेसले आफ्नो संगठित कार्यकर्ता भन्दै प्रहरी हिरासतबाट रहिा गराएका अर्जुन सिंह अहिले भूमिगत सशस्त्र समूहका मुखिया भगत सिंह बनेका छन् । उनी तराई जनतान्त्रिक मधेस मुक्ति टाइगर्सका पश्चिम इन्चार्ज हुन् । महेन्द्र बहुमुखी क्याम्पसका तत्कालीन प्रमुख सीताराम विष्टमाथि ०६४ जेठ २ गते मध्यरातमा गोली प्रहारमा संलग्नताको आरोपमा उनलाई प्रहरीले जेठ ११ गते पक्राउ गरेको थियो । नेपाली कांग्रेसका नेताहरूको दबाबपछि उनी असार ३ गते रहिा भए । सिंहलाई छुटाउन कांग्रेस सभापति कृष्णमान श्रेष्ठ, सह-सभापति गजेन्द्र हमाल र पूर्वसांसद कैलाश कसौधनले दबाब दिएको प्रहरी स्रोत दाबी गर्छ । पछि उनकै समूहले सभापति श्रेष्ठको आदर्शनगरस्िथत घरमा बम विस्फोटन गरायो ।

संविधानसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार कमलप्रसाद अधिकारीको हत्यामा संलग्नताको आरोपमा जेल परेका भुल्लन केवट र होली केवटविरुद्धको मुद्दा माओवादी सरकारले आस्थाका बन्दी भन्दै फिर्ता लियो । मृत्यु हुनुअघि अधिकारीले केवटद्वय र सिकन्दर खाँले आफूलाई गोली हानेको बयान दिएका थिए । खाँ सीमावर्ती गाउँमा 'खुन-डाँका'का अभियुक्त मानिन्छन् । उनी ०६५ जेठ ३ गते पक्राउ परेका थिए । सरकारले मुद्दा फिर्ता लिएपछि उनले सजिलै सफाइ पाएका छन् । उनलाई हिरमिनियाका रामनिवास मौर्य, बेतहनीका माताप्रसाद बर्मा र अधिकारीको हत्यामा संलग्नताको अभियोग लगाइएको थियो । खाँका वकिल लोकबहादुर शाह भन्छन्, "खाँका विरुद्ध अधिकारीको मृत्युकालीन घोषणा थियो । तर, सरकारले मुद्दा फिर्ता लिएकाले उनले सजिलै सफाइ पाए ।" खाँको पक्षमा शाह र कानुन व्यवसायी परष्िाद् सदस्यसमेत रहेका अब्दुल अजिज मुसलमानले मुद्दा लडेका थिए ।

भारतीय प्रहरीले पक्राउ गरी खाँलाई सीमावर्ती झोरा जंगलमा नेपाल प्रहरीलाई बुझाएको थियो । तर, नेपाल प्रहरीले पक्राउ गरेको प्रचार गरएि पनि अधिकृतहरूको मिलेमतोमा मुद्दा कमजोर बनाएर डाँका र चोरी मुद्दामा सफाइ पाएका थिए । हातहतियारसम्बन्धी मुद्दामा ८० हजार जरविाना तिरेर रहिा भएका खाँ अहिले सशस्त्र समूहका मुखिया भएका छन् । अधिकारकर्मी सीपी सिंह भन्छन्, "अर्को सशस्त्र समूहलाई पक्राउ गराउन सिकन्दरलाई प्रहरीले सुनियोजित ढंगले पक्राउ र रहिा गरेको हो ।"

अधिकारी हत्यासम्बन्धी मुद्दा सरकारले फिर्ता लिएपछि अभियुक्तहरूबाट असुरक्षित ठानेर उनकी पत्नी सीतासहित परविार बेतहनीबाट कोहलपुरमा विस्थापित भएको छ । "केवटद्वय पार्टीको निगरानीमा छन् । उनीहरूलाई जिम्मेवारी दिइएको छैन," एकीकृत नेकपा माओवादीका जिल्ला सह-इन्चार्ज आईपी खरेल भन्छन्, "भूमिगत गतिविधिमा लागेको जानकारी छैन ।" खाँ भने आफ्नो पार्टीसम्बद्ध नभएको उनको दाबी छ ।

खाँको समूहमा इन्द्रपुरका मेराज अहमद साई पनि रहेको प्रहरी स्रोतको दाबी छ । तराई जनतान्त्रिक पार्टी मधेस पार्टीका 'आदर्श' उपनाम राखेका चारमध्ये उनी पनि एक हुन् । टेलिफोन र बिजुलीको तार चोरीको आरोपमा साई ०६५ जेठ ७ गते पक्राउ परेका थिए । उनलाई प्रहरीले एमाले नेताहरूको दबाबमा २० हजार धरौटीमा रहिा गरेको थियो । उनी एमालेका संगठित सदस्यसमेत हुन् । तर, तीन महिनादेखि पार्टी सम्पर्कमा नरहेको एमालेले जनाएको छ ।

खाँ समूह र भगत सिंह समूहबीच चर्को द्वन्द्व छ । स्रोत दाबी गर्छ, "उनीहरूबीच चन्दा संकलन गर्ने र प्रहरीसँग मिलेर एकले अर्कोलाई पक्राउ गराउने प्रतिस्पर्धा छ ।" नेपालगन्ज र वरपर हुने अधिकांश घटनाको जिम्मेवारी यी दुवै समूहले लिने गरेका छन् । माघ १२ गते सीतापुर गाविस सचिव इन्द्रबहादुर श्रेष्ठ र माघ २७ गते खजुराका व्यापारी प्रकाश श्रेष्ठको हत्यामा यिनै सशस्त्र समूहले दाबी गरेका छन् । गत चैत १४ गते माओवादी कार्यालयमा भएको बम विस्फोटनको पनि दुवै समूहले जिम्मेवारी लिएका छन् ।@नेपाल

No comments: