पहिरोले पुल बगायो, मकालु गाउँ सर्म्पक बाहिर

खाँदबारी, श्रावण २१ - संखुवासभाको नुम र मकालु गाविस जोड्ने अरुण नदीको लुम्लुमा पुल शुक्रबार राति पहिरोले बगाएको छ । लुम्लुमा गाउँबाट झरेको पहिरोले पुलको एकापट्टीको भाग पुरै बगाएको छ । नुम गाविस ६ र मकालु गाविस ७ जोड्ने झोलुङगे पुल पहिरोले लगेको मकालुका स्थानीयवासी तारामान गुरुङले बताए ।
पुल बगाएपछि मकालु गाविस सर्म्पर्क विहिन भएको छ । गुरुङले भने, 'सदरमुकाम खाँदबारीबाट मकालुका लागि लगिएको खाद्यान्न लैजान गाह्रो हुने भयो ।' पुल पहिरोले लगेपछि मकालु हिमाल आरोहणमा गएका पर्यटक समेत अप्ठेरोमा परेको उनले बताए । यो मकालु हिमाल आरोहणको मुख्य पदयात्रा हो ।
लामो समयदेखि स्थानीयवासिन्दाले पुल मर्मत गर्न जिल्ला विकास समितिसंग आग्रह गरेपनि वेवास्था गरेको गुरुङले दुखेसो पोखे । उनले भने, 'जिविसले सडकलाई मात्रै प्राथमिकता दिने गरेको छ, जस्ले गर्दा मक्किदै गएको पुलहरु मर्मत गर्न चासो देखाउँदैन ।' खाँदबारीबाट लुम्लुमा गाउँ पुग्न २ दिन पैदल हिड्नु पर्छ, भरियालाई ३५ रुपैयाँ केजी बोकाएर लगिएको खाद्यान्न अब त्यसै कुहिने गुरुङले जनाए । पुलमा बाँधिएको सवै लट्ठा चुडिएका छन् ।
अरुणले पुल बगाएपछि मकालु गाविसका ८ हजार स्थानीयवासी सर्म्पर्क बाहिर छन, गाविस सचिव जुनकुमार र्राईले भने । मकालु गाविसमै टेलिफोन, मोवाईल र सिडिएमए फोन सेवा छैन । मकालु आरोहण गर्ने पदयात्री पर्यटक पनि प्रभावित भएका छन् । यो रुट हुँदै बाषिर्क करीव २ हजार विदेशी पर्यटक मकालु वेशक्याम्प सम्म जाने गरेको थियो । @ekantipur

No comments: