भारतीय निर्देशक भन्छन्- अब नेपालमा फिल्म बनाउँछु


बलिउडमा सबैभन्दा पहिले मैले नै आफूलाई समलिंगी घोषणा गरेको हुँ,' पछिल्लो फिल्म 'आई एम' को काठमाडौंमा विशेष प्रदर्शन भएपछिको अन्तर्क्रियामा निर्देशक ओनिरले अनुहार उज्ज्यालो पारे, 'आज हाम्रो मुद्दा बिस्तारै सामाजिकीकरण हुँदै छ । नेपालचाहिँ भारतभन्दा निकै अगाडि बढेको पाएँ ।' उनले छेवैमा उभिएका समलिंगी संस्था ब्लु डायमन्ड सोसाइटीका संस्थापक सुनिलबाबु पन्ततिर हेरे, अनि थपे, 'थुप्रै बलिउड स्टारहरू समलिंगी छन्, तर उनीहरूले कानुन र अन्य सामाजिक कारणले मुख खोल्न सकेका छैनन् ।'
६ वर्षको अवधिमा 'माई ब्रदर निखिल,' 'सरी भाइ', 'बस एक पल' र 'आई एम' गरी चार फिल्म बनाएका निर्देशक यति बेला काठमाडौंमा छन् । आइतबार राष्ट्रिय नाचघरमा 'आई एम' देखाएपछि सोमबार गुरुकुलमा अन्तर्क्रिया गरे । त्यही साँझ बूढानीलकण्ठस्थित अभिनेत्री मनीषा कोइराला र सम्राट दाहालको निवासमा बिताए, जहाँ नेपाली कला क्षेत्रका केही चर्चित व्यक्तिसँग अन्तर्क्रियासमेत गरेका थिए । पशुपति, पाटन, काठमाडौं दरबार स्क्वायरलगायत घुम्न भ्याइसकेका उनले सञ्चारकर्मीहरूलाई नेपालमा सबैभन्दा बढी मःमको स्वाद मन पराएको बताए ।
अरू केके मन पराउनुभयो ? 'यहाँका साथीहरू (समलिंगी) को प्रगति,' ४२ वर्षे ओनिरले भने, 'भारत ठूलो प्रजातन्त्र भएको देश भनिए पनि कानुनी रूपमा समलिंगी थिचिएका छन् । यहाँ तेस्रोलिंगीलाई मान्यता मात्रै हैन, संसद्मा समेत आफ्ना प्रतिनिधि रहेछन् ।' उडन्ते कथाभन्दा गम्भीर सामाजिक-मानवीय विषयलाई फिल्ममा उतार्न खप्पिस उनले 'आई एम' मा भारतीय समलिंगीहरू कसरी कानुन र समाजबाट प्रताडित हुन विवश छन् भन्नेसमेत देखाएका छन् ।
उक्त फिल्ममा चार मुद्दा उठाइएको छ: टेस्टट्युब बेबी चाहने नारीको मनोदशा, काश्मीर द्वन्द्वबाट विस्थापित नारीको कथा, आफ्नै सौतेलो बाबुबाट यौन दुव्र्यवहार भोगेका बच्चाको मर्म र समलिंगी पीडा । अरूका आँखामा नपरेको पात्र र वैकल्पिक विषय रोज्ने उनी कम बजेटमा फिल्म तयार गर्छन् । 'आई एम' को लगानी जम्मा तीन करोड रुपैयाँ हो,' उनले भने, 'आर्थिक लाभ त आयो नै, प्रेस रिभ्युले नसोचेको चर्चा दिइरहेको छ ।'
अबको तीन महिना उनी 'आई एम' कै लागि विश्वव्यापी टुरमा हुनेछन् । विभिन्न फिल्म फेस्टिभलमा अवार्डसमेत पाइसकेको 'आई एम' लाई अरू थप फेस्टिभलसँगै युरोप र अमेरिका पुर्‍याएपछि उनी फेरि नेपाल आउने योजना बुनिरहेका छन्, फिल्म बनाउन । 'नेपालप्रति मेरो लगाव पुरानै हो,' भुटानको राजधानी थिम्पुबाट विस्थापित भएर भारत पुगेका र जर्मनीबाट फिल्म स्टडी सकाएर फेरि फिल्म बनाउन भारतमै आएका ओनिरले भने, 'मेरा बा शिक्षक हुनुहुन्थ्यो, नेपालीहरूसँग हिमचिम बढाएको भनेर भुटानबाट नेपालीसँगै उहाँ पनि विस्थापनमा पर्नुभो ।'
नेपाली भाषामै कुराकानी गर्ने उनलाई प्राकृतिक सुन्दरताले मात्रै तानेको छैन, उनी फिल्मबाटै नेपालसँगको सम्बन्ध जोड्न चाहिरहेका छन् । 'यहाँ आएपछि एउटा स्टोरी आइडिया आएको छ,' उनले भने, 'आई एम' को टुर सकेपछि फेरि आउँछु, लामै समय बसेर कथा लेख्छु र फिल्म बनाउँछु ।' अहिले दिमागमै रहेको फिल्मको कथामा भारतबाट शैक्षिक भ्रमणका लागि एक हूल विद्यार्थी नेपाल आउनेछन्, तीमध्ये एउटी युवतीको एक नेपालीसँग प्रेम पर्छ । 'यो सम्बन्ध समलिंगी पनि हुन सक्छ,' उनले भने, 'समलिंगी पनि प्राकृतिकता नै हो ।'
साभार - इ. कान्तिपुर

No comments: