केटिभीमा नयाँ भोलिदेखि


नेतृत्व गर्ने टिमसित कस्तो गुण हुनुपर्छ ? यही २६ गते बिहीबारदेखि कान्तिपुर टिभीमा प्रसारण हुने टेलिशृंखला 'हाम्रो टिम' ले यसको उत्तर दिनेछ । १३ भागको यस शृंखलामा कुशल नेतृत्व, सामूहिक भावना र एकताको सन्देश दिन खोजिएको निर्देशक भूषण दाहालले बताए । मंगलबार सार्वजानिक गरिएको शृंखला बिहीबार बेलुकी ९ बजे कान्तिपुर टेलिभिजन (केटिभी) बाट प्रसारण हुनेछ ।
करिब डेढ करोडको लगानीमा निर्माण गरिएको आयोजकले जनाए । सर्च फर कमन ग्राउन्ड र एबी पिक्चर्स प्रालिले शृंखला निर्माण गरेको हो । टेलिफिल्मका सातजना कलाकारले संयुक्त रूपमा 'हाम्रो टिम' सार्वजानिक गरेका थिए । फुटबल धेरैले मन पराउने खेल भएकाले त्यसैमार्फत सन्देश दिन खोजिएको दाहालले बताए । शृंखलामा ऋचा शर्मा, इलम दीक्षित, सौरभराज तुलाधर, निरज चौधरी, घनश्यामकुमार मिश्र, अब्दुल्लाह खाँन र दयाहाङ राईले कलाकारको भूमिका निर्वाह गरेका छन् ।
निष्पक्ष र प्रभावकारी नेतृत्व, सामूहिक भावना र असल शासनको प्रवर्द्धनको उद्देश्य लिई 'हाम्रो टिम' को निर्माण भएको पत्रकार सम्मेलनमा जानकारी दिइयोे । 'नेपालको शान्ति प्रक्रियालाई सफल बनाउन हरेक क्षेत्रमा प्रेरणादायी नेतृत्वको आवश्यकता छ । असल नेतृत्व कस्तो हुन्छ र सामूहिक भावनाले कसरी लक्ष्य प्राप्तिमा मद्दत गर्दछ भन्नेजस्ता विषयमा सकारात्मक संवाद सुरु गर्नु नै 'हाम्रो टिम' को उद्देश्य हो,' आयोजकले विज्ञप्तिमार्फत भनेका छन्, 'हाम्रो टिम' को कथाले हाम्रो समाजका अन्य मुद्दाहरूलाई पनि समेट्ने प्रयास गरेको छ । यसमा जाति, भाषा, धर्मर्, संस्कार तथा संस्कृतिहरूका पहिचान, गरिबी, अशिक्षा, अन्तरपुस्ता द्वन्द्वजस्ता विषयहरूलाई पनि समावेश गरिएको छ ।'
साभार - इ. कान्तिपुर

No comments: