ओलम्पिक्स खेल्ने बेकह्याम रहर
लन्डनमा ओलम्पिक्स आयोजना हुँदा इंग्ल्यान्डका पूर्वकप्तान ३७ वर्षका हुनेछन्, तर उनी त्यसवेला पनि खेल्नका लागि योग्य रहने दाबी गर्छन्
लन्डन/ बि्रटेनले १९६० यता पहिलोपटक ओलम्पिक्स फुटबलमा सहभागिता जनाउन लागेको वेला डेभिड बेकह्यामले २०१२ को लन्डन ओलम्पिक्समा आफू प्रशिक्षकभन्दा खेलाडीका रूपमा मैदानमा उत्रन उपयुक्त रहेको दाबी गरेका छन् ।
लन्डनमा ओलम्पिक्स आयोजना हुँदा इंग्ल्यान्डका पूर्वकप्तान ३७ वर्षका हुनेछन्, तर उनी त्यसवेला पनि खेल्नका लागि योग्य रहने दाबी गर्छन् । 'ओलम्पिक्स आउन अझै १३ महिना बाँकी छ तथा अहिले पनि धेरै निर्णय गर्न बाँकी छन् । म बि्रटेनको ओलम्पिक्स टोलीको सदस्य बन्न पाएँ भने खुसी हुनेछु,' बेकह्यामले एजेन्सीसँग भने, 'मलाई थाहा छ, म प्रशिक्षकभन्दा खेलाडीका रूपमा उपयुक्त हुनेछु, त्यसैले अहिले म पर्खाइ र हेराइको अवस्थामा छु । म अहिले पनि आफूलाई त्यही खेलाडी महसुस गर्छु, जतिवेला म २१ वर्षको थिएँ । म अहिले पनि फुटबल खेल्न त्यति नै मन पराउँछु, २१ वर्षको हुँदा जति नै । म अहिले पनि फिट छु ।'
'सबैलाई थाहा छ, म सबैभन्दा पहिले आपै“mलाई ध्यान दिन्छु, खाना र फिटनेसका विषयमा पनि । त्यसैले म अहिले पनि खराब र्फममा छैन तथा म निरन्तर कडा अभ्यास गरिरहन्छु तथा मलाई आशा छ, म ओलम्पिक टोलीको हिस्सा बन्नेछु भन्ने कुरामा ।' इंग्ल्यान्डको यू-१९ को प्रशिक्षणको जिम्मा स्टुवार्ट पर्सले पाएका छन् भने फुटबल संघले नै व्यवस्थापन तथा खेलाडीको जिम्मेवारी लिएको छ ।
उता फिफामा आफ्नो मत बदर हुने डरले स्कटिस, वेल्स तथा उत्तरी आइरिस संघका टोलीका खेलाडीहरूले सो टोलीमा सहभागिता जनाएका छैनन् । ओलम्पिक्समा इंग्ल्यान्डसँगै स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डले ग्रेट बि्रटेनको झन्डामा खेल्ने गरेका छन् ।
चोटका कारण बेकह्यामले गत वर्षको विश्वकपमा फाबियो कापेलोको सहयोगीका रूपमा सहभागिता जनाएका थिए । उनले जीवनको अन्तिम तथा एक सय १५औँ अन्तर्राष्ट्रिय फुटबल अक्टोबर २००९ मा खेलेका थिए भने अहिले उनी अमेरिकाका एलए ग्यालेक्सीका लागि खेल्छन् ।
यो वर्षको अन्त्यमा ग्यालेक्सीसँगको करार समाप्त हुने भएकाले सम्भवत् उनी २०१२ को ओलम्पिक्स आयोजनाको क्रममा सो टोलीमा समेत रहने छैनन् । यद्यपि, बेकह्यामले एलए ग्यालेक्सी छाडेपछि के गर्ने भन्ने निर्णयसमेत गरेका छैनन् । 'मैले सधैँ भन्ने गरेको छु कि जहिलेसम्म म फुटबलमा रमाउँछु, त्यहिलेसम्म यो खेल खेल्छु,' उनी भन्छन् ।
बेकह्याम सर्वोत्कृष्ट, विलियम्स खराब
इंग्ल्यान्डमा गरिएको एक सर्वेक्षणले डेभिड बेकह्यामलाई फेरि एकपटक युकेको सर्वाधिक स्टाइलिस स्टारमा चुनेको छ भने बि्रटिस राजकुमार विलियम्सलाई नसुहाउँदो पहिरन लगाउने व्यक्तिको सूचीमा पहिलो नम्बरमा राखेको छ । बि्रटिस दर्शकमाझ गरिएको सर्वेक्षणले बेकह्यामलाई 'मोस्ट फेसनेबल सेलिब्रेटी' का रूपमा उभ्याएको हो भने उनीपछि टि्वलाइट हन्टका रोबर्ट प्याटिन्सन छन् ।
यद्यपि, प्रायःजसो नसुहाउँदो सर्ट तथा ज्याकेटमा देखा पर्ने कारण नवविवाहित राजकुमार विलियम्सले सो उपाधि पाएका हुन् । सो सर्वेक्षण गर्ने पिककका प्रवक्ताले भने, 'अब विलियम्सले आफू सुहाउँदो पहिरन लगाउनेछन्, होला ।'
सो सर्वेक्षणले नसुहाउँदा पहिरन लगाउने माथिल्ला १० स्टारमा विलियम्सका पिता राजकुमार चाल्सलाई पनि स्थान दिएको छ भने सो सूचीमा रोड स्टेवार्ट तथा सिमोन कोवेल पनि छन् ।
साभार : नया पत्रिका
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment