एमाले र युवा संघले गरे सहमति तर, महेश बस्नेतले दिए चुनौती
काठमाडौं, २ असार
महेश बस्नेतले सहमति कार्यान्वयन नहुने भन्दै आफू हिरासतबाट बाहिर निस्कन पनि मानेका छैनन्
तरबार हान्ने, छुरा धस्ने, अदालतभित्रै कुट्ने, जेलभित्रै पिट्ने र पत्रकारलाई मरणासन्न हुनेगरी घाइते बनाउने पर्शुराम बस्नेतलाई ओझेलमा पार्न युवा संघका अध्यक्ष महेश बस्नेतले अनौठो नाटक गरेका छन् । पर्शुरामको पक्षमा उभिएर राज्यलाई चुनौती दिँदै आएका महेशले अब आफ्नै पार्टी एमाले र आफ्नै संगठन युवा संघले गरेको सहमतिलाई पनि चुनौती दिँदै आन्दोलन घोषणा गरेका छन् ।
बिहीबार बिहान नाटकीय रूपमा इटहरीमा महेश बस्नेत समातिएपछि एमालेका युवा इन्चार्ज योगेश भट्टराईको नेतृत्वमा गृह मन्त्रालयमा वार्ता भएको थियो । गृहमन्त्रीसँगको वार्तामा एमाले नेता भट्टराईबाहेक युवा संघका उपाध्यक्षहरू हरिबहादुर राई, हिरा केसी र सत्यनारायण यादव महासचिव नीरज आचार्य र सचिवहरू राजीव पहारी र सूर्य ढकाललगायत सहभागी थिए ।
वार्तामा सरकारले महेशलाई तत्काल छाड्ने र युवा संघले शुक्रबार आह्वान गरेको नेपाल बन्द फिर्ता लिने सहमति भएको थियो । तर, महेश बस्नेतले सहमति कार्यान्वयन नहुने भन्दै आफू हिरासतबाट बाहिर निस्कन पनि मानेका छैनन्, उनले शुक्रबार नेपाल बन्द पनि जारी रहने दाबी गरेका छन् ।
महेशले पर्शुराममाथि लागेको आरोप पनि फिर्ता लिन माग राखेका छन् । त्यसो त अपराधका दर्जनौँ घटनाका नाइके पर्शुरामलाई समातेर देखाउन उनले एक सातादेखि नै राज्यलाई चुनौती दिँदै आएका थिए । 'पर्शुराम बस्नेत महेश बस्नेतको घरमा छ, आरोप पुष्टि गरेर प्रहरीले पक्राउ गरोस्, म चुनौती दिन्छु,' महेश बस्नेतले विभिन्न सञ्चारमाध्यममा अन्तार्वार्ता दिएर तथा पत्रकार सम्मेलन गरेर भनेका थिए । तर, प्रशासनले उनलाई छापा मार्न सकेन ।
सरकारसँग सहमति गर्ने एमालेका युवा इन्चार्ज भट्टराईले पार्टीको निर्देशन नमान्ने व्यक्तिको पछाडि कार्यकर्ता नलाग्ने प्रतिक्रिया दिएका छन् । 'सरकारसँग भएको सहमतिले पार्टी र युवा संघको अपमान भएको छैन, तर सहमति नमानेर एउटा व्यक्तिका पछाडि कोही दौडिन्छ भन्ने मलाई लाग्दैन,' बिहीबार राति उनले नयाँ पत्रिकासित भने, 'युवा संघका सबैजसो पदाधिकारीको समेत उपस्थितिमा हामीले सरकारसँग सहमति गरेका हौँ, त्यसैले शुक्रबार बन्द हुँदैन, भ्रमले भए फरक हो ।'
मोरङका प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीका अनुसार तपाईं रिहा हुनुभयो भनेपछि पनि महेशले आफू हिरासतमै रहने बताएका छन् । 'हामीले उहाँलाई छानबिनका लागि गिरफ्तार गरेका हौँ, तत्कालीन छानबिन सकियो, अहिले रिहा हुनुभयो भन्दा उहाँले जान मान्नुभएको छैन,' अधिकारीले बिहीबार राति नयाँ पत्रिकासित भने, 'अहिले रातिमा जबर्जस्ती गर्ने कुरा भएन, भोलि बिहान आफैँ जानुहोला भन्ने हाम्रो अपेक्षा छ ।'
यसअघि भएको वार्तामा महेशलाई सरकारले तत्काल रिहा गर्ने र शुक्रबारका लागि संघले आह्वान गरेको नेपाल बन्दसहितको कार्यक्रम फिर्ता लिने सहमति भएको थियो । यस्तै, बिहीबारको प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई उपचार गर्ने, पक्राउ परेका अन्यलाई पनि रिहा गर्ने सहमति भएको थियो ।
पत्रकार खिलानाथ ढकालमाथि आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गर्न युवा संघले सहयोग गर्ने पनि सहमति भएको थियो । 'पर्शुराम बस्नेत दोषी हो होइन यकिन भएको छैन, छानबिन गरी दोषी देखिए कारबाही गर्ने युवा संघको पहिलेकै निर्णय थियो,' वार्तामा सहभागी एमाले केन्द्रीय सदस्य योगेश भट्टराईले नयाँ पत्रिकासँग भने, 'पत्रकारमाथि भएको आक्रमणमा दोषी देखिएकालाई कारबाही गर्न सहयोग पुर्याउने सहमति भएको छ ।'
बिहीबार बिहान विराटनगर पुगेका महेशलाई प्रहरीले पक्राउ गरेपछि युवा संघ नेपाल र एमालेका अन्य भ्रातृ संगठनले राजधानीलगायत देशव्यापी विरोध प्रदर्शन गरेका थिए । महेशलाई पक्राउ गरेको विरोधमा युवा संघ नेपालको स्थायी समितिको आकस्मिक बैठक बसी आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको थियो ।
पत्रकारले बहिष्कार गरेको पत्रकार सम्मेलन
इटहरीको रिभरसाइड रेस्टुरेन्ट एन्ड होटलमा पत्रकार सम्मेलन हुँदै थियो, पर्शुराम बस्नेत निर्दोष रहेको र आफ्नो घरमा रहेको दाबी गर्ने युवा संघका अध्यक्ष महेश बस्नेत कार्यक्रममा आउँदै थिए, पत्रकारलाई कुट्नेलाई नै आफूखुसी सफाइ दिने महेशको पत्रकार सम्मेलन पत्रकारले बहिष्कार गर्ने सल्लाह गरिसकेका थिए ।
पर्शुराम बस्नेतको पक्षमा युवा संघले विराटनगरमा जुलुस गर्ने र सो जुलुसविरुद्ध १३ युवा संगठनले पनि जुलुस गर्ने भनेपछि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरी विराटगनरलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । तर, आफ्नो कार्यक्रम सफल पार्न महेश बुधबार साँझ नै इटहरी आएर युवा संघका स्थानीय नेता रुपेश बजगाईंको घरमा बस्नेत बसेका थिए ।
निम्ता पाएपछि पत्रकारहरूबीच पनि कार्यक्रममा जाने या न नजाने अन्योल छाएको थियो । बस्नेतको पत्रकार सम्मेलनमा इटहरीका पत्रकारहरूलाई निम्ता आएको जानकारी पाएपछि नेपाल पत्रकार महासंघ सुनसरीले सहभागी नहुन निर्देशन जारी गरेको थियो । सोही निर्देशनबमोजिम पत्रकारहरूले बस्नेतको सो पत्रकार सम्मेलन बहिष्कार गर्ने घोषणा गरेका थिए ।
पत्रकार सम्मेलन बहिष्कृत हुने भएपछि बस्नेतले नै केही पत्रकारलाई सम्पर्क गरेर पत्रकार सम्मेलनमा सहभागी नभए पनि दाजुभाइका नाताले सँगै बसेर चिया खान त मिल्छ नि भन्दै भेट्न आग्रह गरेका थिए । बस्नेतको आग्रहअनुसार केही टेलिभिजन र छापा माध्यमका पत्रकारहरू सो होटलभित्र प्रवेश गरेका थिए ।
पत्रकारहरू प्रवेश गर्नासाथ बस्नेतले शान्तिपूर्ण कार्यक्रम गर्ने नागरिकको हकअधिकारमाथि गृह प्रशासनले हस्तक्षेप गरेको बताए । उनले पत्रकार खिलानाथ ढकाललाई पर्शुरामको निर्देशनमा आक्रमण भए/नभएको निष्पक्ष छानबिन नगरी सञ्चारमाध्यमहरूले एकोहोरो पीत पत्रकारिता गरेको आरोप लगाए । पीत पत्रकारिता गर्नेलाई नै पत्रकार महासंघजस्तो गरिमामय संस्थाले साथ दिएकोमा उनले आक्रोश पनि पोखे ।
बस्नेतले बोल्दाबोल्दै एमाले नगर उपाध्यक्ष चन्द्र भट्टराईले पत्रकारहरू नै गुन्डा भएको आरोप लगाउँदै उनीहरू युवा संघलाई सिध्याउन लागिपरेको भन्दै आक्रोश पोखे । भट्टराईले पत्रकारलाई अपमान गर्न थालेपछि झुक्याएर भित्र लगिएका केही पत्रकार पनि होटलबाहिर आएका थिए । त्यतिवेलासम्ममा सिभिलमा आएका प्रहरी नायब उपरीक्षकसहितको टोलीले सो होटलमा घेरा हालिसकेको थियो ।
महेश बस्नेत र उनको टोली भने होटलभित्रै थियो, तर बाहिर प्रहरीले घेरिसकेको थियो । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब उपरीक्षक भीम दाहालको नेतृत्वमा आएको प्रहरीले उनलाई कार्यक्रमस्थलबाटै पक्राउ गर्यो । बस्नेतले पुर्जीविना आफूलाई पक्राउ गर्न नपाइने अडान लिएपछि दाहालले पुर्जी रहेको बताएका थिए । तैपनि, गिरफ्तारी दिन बस्नेतले इन्कार गरेपछि बलप्रयोग गर्न प्रहरीको टोली अगाडि बढेको थियो, बलपूर्वक उनी पक्राउ पनि परे ।
बस्नेत होटलभित्रबाट युवाहरूको घेरामा र बाहिरबाट प्रहरी घेरामा थिए । उनका कार्यकर्ता र प्रहरीबीच तानातान भयो । युवा कर्याकर्ता र प्रहरीबीच तानातान भएपछि डिएसपी दाहालले सबैलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका थिए । त्यसपछि, प्रहरीले होटलभित्र लाठीचार्ज गरेको थियो ।
होटलबाहिर फेरि युवा कार्यकर्ताले बस्नेतलाई आफूतिरै तानेका थिए । होटलबाहिर पनि प्रहरी र युवाहरूबीच तानातान भयो । युवा संघका कार्यकर्ताले सिभिलमा रहेका डिएसपी दाहालमाथि पनि मुक्का र लात्ती बजारेपछि प्रहरीले पनि लाठी र बुट प्रहार गरेको थियो ।
उनलाई भ्यानमा राखेपछि युवाहरू भ्यानमै चढेर बस्नेतलाई ओराल्न खोजेका थिए । सोक्रममा प्रहरीले बुट प्रहार गर्दै युवा संघ मोरङ सचिव सन्तोष वान्तवा र केन्द्रीय उपाध्यक्ष नीरु पाललाई पनि पक्राउ गरेको थियो । भ्यानमा राखेपछि युवा संघ सुनसरी २ नम्बर क्षेत्रीय कमिटी अध्यक्ष रोशन चापागाईं 'ल, हाम्रो अध्यक्षलाई कसरी लान्छस् लैजा' भन्दै भ्यानअगाडि चक्कामुनि लमतन्न भई सुतेका थिए ।
प्रहरीले भने विनासंकोच भ्यानअगाडि बढाएको थियो । प्रहरीले भ्यान अगाडि बढाउनासाथ युवा संघका अन्य कार्यकर्ताले चापागाईंलाई तत्काल तानेर बचाएका थिए । युवाहरूले तत्काल उनलाई ताने पनि ढाडमा चोट लागेको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
प्रहरीकै भ्यानमा बस्नेतले उपस्थित पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्ने मौका पाएका थिए । उनले आफूलाई विनाकारण प्रहरीले पक्राउ गरी गल्ती गरेको बताए । गृह मन्त्रालयले युवा संघविरुद्ध षड्यन्त्र गरेकाले अब आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने उनले चेतावनी पनि दिए ।
बस्नेतलाई पक्राउ गरी प्रहरीको विशेष टोलीले तत्कालै विराटनगर लगेको थियो । उनीसँगै पक्राउ परेका दुई नेतालाई भने एक घन्टापछि नेताको दबाबमा इलाका प्रहरी कार्यालय इटहरीले मुक्त गरेको थियो ।
आफ्ना केन्द्रीय अध्यक्षलाई प्रहरीले अपमान गर्दै पक्राउ गरेको भन्दै युवा संघले तत्कालै राजमार्गमा टायर बालेर यातायात बन्द गराएका थिए । आक्रोशित युवाले इटहरीचोकमा सातवटा सवारीसाधन तोडफोड गरेका थिए । युवा संघका कार्यकर्ताले इटहरी बजार बन्द गराउने क्रममा जथाभावी ढुंगा प्रहार गर्दा नौ वर्षीय बालक घाइते भएका छन् । ना३ख ५८४२ नम्बरको गाडीमा ढुंगामुढा गर्दा मोरङ कानेपोखरीका नौ वर्षीय बालक प्रवीण लिम्बू घाइते भएका हुन् । युवा संघका कार्यकर्ताले प्रहरी र गृहमन्त्री कृष्णबहादुर महराविरुद्ध पनि चर्का नारबाजी गरेका थिए ।
करिब एक घन्टासम्म उनिहरूले इटहरीमा यातायात बन्द गराएका थिए । तत्कालै प्रहरीले बलप्रयोग गरेर बन्द यातायात खुलाएको थियो । एमाले समर्थित युवा संघले यातायात साधन तोडफोड गरेलगत्तै एमाले समर्थित यातायात मजदुर संगठनले तोडफोड गर्नेमाथि कारबाही र क्षतिपूर्ति माग गर्दै दुई घन्टासम्म यातायात बन्द गराएका थिए ।
प्रहरीले उनीहरूसँग वार्ता गरी मागबारे राज्यको माथिल्लो निकायमा जानकारी गराउने सहमति गरेपछि यातायात सुचारु गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक महेन्द्र श्रेष्ठले बताए । इटहरीको बन्द खुल्नासाथ युवा संघका कार्यकर्ताले सुनसरीको खनार पनि बन्द गराएका थिए ।
सञ्चार संस्थामा हस्तक्षेप
पर्शुराम बस्नेत इटहरी आउने हल्ला बुधबारदेखि नै फैलिएको थियो । पर्शुराम खोज्दै प्रहरी इटहरीस्थित सप्तकोसी एफएममा समेत पुगेको थियो । कोही भन्दै थिए बस्नेतको त्यहाँ पत्रकार सम्मेलन छ, कोही भन्दै थिए त्यहाँ उनको 'लाइभ' अन्तर्वार्ता छ । फोनबाटै चल्ने अन्तर्वार्ता दिन कुनै फरार आरोपी किन रेडियो स्टेसनमै पुग्छ ? यति पनि हेक्का नराखी प्रहरी स्टेसनभित्र पस्यो । प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्दै स्टेसनका कोठा-कोठाको तलासी लियो ।
'प्रहरीहरू सबै कोठामा पसे,' एफएमका स्टेसन म्यानेजर चन्द्र न्यौपानेले भने, 'रेकर्डिङ रुमसमेत हेर्न खोजे, हामी देखाउन बाध्य भयौँ ।' एफएमले भने विज्ञप्ति प्रकाशित गर्दै प्रहरीले शाही शासन कालको जस्तो तानाशाही प्रवृत्ति देखाएको भन्दै विरोध जनाएको छ । पत्रकार महासंघ सुनसरीले पनि घटनाप्रति आपत्ति जनाउँदै विरोध गर्यो ।
पर्शुरामको क्राइम डायरी
जसलाई बचाउन हिरासतमा छन् महेश बस्नेत
२०६४ असोजमा एमाले पार्टी कार्यालयकै गेटमा एमाले विराटनगर-६ का वडा सचिव पंकज कट्टेलमाथि पर्शुरामसहितको समूहद्वारा तरबार प्रहार । कट्टेलको उजुरीका आधारमा प्रहरीद्वारा पर्शुराम पक्राउ । तर, तत्कालीन उपप्रधानमन्त्री केपी ओलीको निर्देशनमा त्यसै रात रिहा ।
ठेक्कापट्टा विवादमा निर्माण व्यवसायीहरू अशोक हुमागाईं, अजम परवेजमाथि आक्रमण । आक्रमणको आरोपमा २०६५ कात्तिक ५ गते अभिषेक गिरीसँगै जिल्ला प्रहरी कार्यालय मोरङमा सार्वजनिक मुद्दा दर्ता । तर, पर्शुरामलाई उन्मुक्ति ।
२०६७ चैतमा पार्टीकै कार्यकर्ताको मोटरसाइकल कब्जा । अनेरास्ववियुका केन्द्रीय सदस्य वसिम आलमको बिहेमा युथफोर्सले उपहार दिँदा खर्च भएको २० हजार मोरङ ७ नं क्षेत्रका सदस्य तथा विराटनगर ५ नं वडाका इन्चार्ज उदय मण्डललाई तिर्न निर्देशन । तर, मण्डलले तिर्न नमानेपछि उनको मोटरसाइकल पर्शुरामको निर्देशनमा कब्जा गरिएको थियो । मण्डलले बस्नेतलाई कारबाहीको माग गर्दै उजुरी गरेका थिए । तर, पार्टीले तिर्न मानेन ।
२०६५ सालमा युवा संघको बैठकमा माओवादीसँग भौतिक होइन, वैचारिक लडाइँ लड्नुपर्छ भन्दा युथफोर्स जिल्ला कोषाध्यक्ष अञ्जना अधिकारीलाई पेस्तोल देखाएर धम्की । तर, पार्टीबाट पर्शुरामलाई संरक्षण ।
२०६५ मंसिरमा विराटनगर रंगेली रोडमा औषधि पसल चलाएर बसेका सुशील यादवले हप्ता तिर्न नमानेकाले तरबार हानेको । उनले पनि न्याय पाएका छैनन् ।
त्यसपछि गायक रामकृष्ण ढकालको कार्यक्रममा नक्कली टिकट बनाएर बेचेको विषयमा विवाद भएपछि आयोजक सत्य मानन्धरलाई तरबार हानेको ।
केबुल एसोसिएसनका अध्यक्ष दिनेश सुवेदीलाई अस्पताल चोकमा छुरी प्रहार । प्रहरीले दुई दिन थुने पनि राजनीतिक दबाबमा छाडियो ।
२०६६ कात्तिकमा आफ्ना पूर्वसहकर्मी अभिषेक गिरीलाई मोरङ कारागारभित्रै सांघातिक आक्रमण । पूर्व ँपार्टनर’ गिरीले आफ्नो पोल खोलिदिने आशंकामा उनीमाथि आक्रमण ।
पर्शुरामबाट जोगाउन गिरीलाई काठमाडौं, सुनसरी र नुवाकोट कारागारमा ठाउँ सारी-सारी राखियो । तर, पेसीका लागि विराटनगर लगिएकै वेला २०६८ जेठ १८ गते अदालतभित्रै पर्शुरामका कार्यकर्ताबाट गिरीमाथि पुनः आक्रमण । प्रहरीलगायत १५ जना घाइते ।
अदालतभित्रै आक्रमण गराएको समाचार लेखेकै विषयलाई पत्रकार खिलानाथ ढकालमाथि जेठ २२ गते राति आक्रमण । तर, पर्शुरामलाई जोगाउन एमालेको युवा संघ देशव्यापी प्रदर्शनमा । पार्टीले सहमति गरे पनि युवा संघ अध्यक्ष पर्शुरामलाई जोगाउन आन्दोलनको पक्षमा ।
अपराधीका पछि लागेर पार्टीलाई बदनाम गर्नु हुँदैन
एमाले युवा इन्चार्ज योगेश भट्टराई
युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतलाई प्रहरीले पक्राउ गरेको सम्बन्धमा तपाईंहरूले गृहमन्त्रीसित गरेको सहमति त कार्यान्वयन नहुने भयो होइन ?
- किन हुँदैन ? पार्टी र युवा संघको निर्णयअनुसार हामीले सरकारसित वार्ता गरेका हौँ । त्यसैले त्यो सहमति कार्यान्वयन गर्नुपर्छ र हुन्छ पनि ।
युवा संघ अध्यक्ष बस्नेतले त सहमति आफूलाई मान्य छैन भनेका छन् नि ?
- अब एउटा व्यक्तिको पछाडि संसारै लाग्छ भने त कसको के लाग्यो ? होइन भने पार्टीले दिएको निर्देशन र गरेको निर्णय सबैले मान्नुपर्छ । उहाँ (बस्नेत) ले पनि मान्नुहुन्छ ।
अध्यक्ष बस्नेतले त युवा संघले शुक्रबार गर्ने भनेको नेपाल बन्दको कार्यक्रम यथावत रहेको बताएका छन् नि ?
- भोलि (शुक्रबार) नेपाल बन्द हुँदैन । भ्रममा परेर कोही त्यसको पछि लागे छुट्टै कुरा हो, होइन भने बन्दको कार्यक्रम फिर्ता भइसकेको छ । एमालेको संस्थागत निर्णय पनि यही हो ।
अध्यक्ष बस्नेतले त आफूलाई पक्राउ गर्नु र रिहा गर्नुको कारण सरकारले प्रस्ट नपारेसम्म हिरासतमै बस्छु भनेका छन् नि ?
- हामीले सरकारसित गरेको सहमति सम्मानजनक छ । त्यसले न पार्टीको, न युवा संघ, कसैको पनि मानहानी गरेको छैन । आपराधिक समूहको पछि लागेर कसैले पनि पार्टी र संगठनलाई बदनाम गर्नुहुन्न । उहाँ (बस्नेत) ले पनि पार्टीको निर्णय मान्नुपर्छ ।
तपाईं पार्टीको युवा इन्चार्जसमेत हुनुहुन्छ । तपाईंकै नेतृत्वमा सरकारसितको भएको सहमतिलाई चुनौती दिँदै अध्यक्ष बस्नेतले मान्दैनौँ भनिसक्नुभएको छ, पार्टीले उहाँलाई अनुशासनको कारबाही गर्नसक्छ ?
इन्चार्जले कारबाही गर्न सक्दैन । मैले त पार्टीमा सबै कुरा रिर्पोटिङ गरिदिने हो । यो सिंगो पार्टीको समस्या हो । यसबारेमा नेताहरूले आ-आफ्ना धारणा अगाडि ल्याएपछि पार्टी एउटा निष्कर्षमा पुग्नेछ ।
साभार : नया पत्रिका
सरकारसितको सहमतिपछि तपाईंको अध्यक्ष बस्नेतसित पनि सम्पर्क भएको छ ?
- मेरो सोझै सम्पर्क भएको छैन । मैले मोरङका पार्टी अध्यक्ष विनोद ढकाललाई फोन गरेर पार्टीले यस्तो सहमति गरेको छ, उहाँ (बस्नेत) लाई सबै जानकारी गराइदिनु, पार्टीको निर्णय सबैले मान्नुपर्छ भनेर भनेको छु । उहाँ (बस्नेत) लाई प्लेन चढाएर सकुशल काठमाडौं पठाइदिनु भनेको छु ।
साभार : नया पत्रिका
Subscribe to:
Post Comments (Atom)




No comments:
Post a Comment