युद्धका मुद्दा फिर्ता वा माफीः गृहमन्त्री महरा
उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महराले दसवर्षे सशस्त्र युद्धका बेला लगाइएका अधिकांश राजनीतिक मुद्दा झूटा भएको उल्लेख गर्दै त्यस्ता मुद्दा फिर्ता लिने वा माफी गर्ने तयारी भएको बताएका छन् ।
'१० वर्षे युद्धका अधिकांश मुद्दा झूटा छन्,' उनले भने, 'ती मुद्दाको अध्ययन गरी खारेज गर्ने वा माफी दिनेबारे पनि छलफल हुँदैछ ।' तर आपराधिक घटनालाई भने छुट नदिने उनको भनाइ छ । 'यसको अर्थ आपराधिक मुद्दालाई छुट दिनुपर्छ भन्ने होइन,' उनको भनाइ थियो, 'युद्धका बेला मुद्दा फिर्ता लिनु हुँदैन भन्नु विस्तृत शान्ति सम्झौताको भावनासँग मेल खाँदैन ।'
माओवादी सशस्त्र युद्धका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत सयौं नेता तथा कार्यकर्तालाई त्यसबेलाको सरकारले मुद्दा चलाएकामा अझै पनि केही मुद्दा विचाराधीन छन् ।
उनले गृह प्रशासनअन्तर्गत कसैले भ्रष्टाचार गरेको पाइएमा तुरुन्त कारबाही गरिने पनि बताए । सुडान प्रकरणमा प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीलाई सरुवा गरेको पाँच दिनपछि मन्त्री महराले विशेष गरी गृह प्रशासनमा भ्रष्टाचार शून्य पार्नुपर्ने बताए ।
महराले प्रहरीका विभिन्न कार्यशालामा आफूले भ्रष्टाचार नियन्त्रण गर्न निर्देशन दिइसकेको बताए । 'नीतिगत रूपमा भ्रष्टाचार शून्य गर्नुपर्छ भनेर मैले भन्दै आएको छु,' उनले कान्तिपुरसँग भने, 'भ्रष्टाचार गरेको पाइएमा तुरुन्त कारबाही गरिनेछ । त्यो कारबाही प्रक्रिया नवलपरासीबाट सुरु भइसकेको छ ।'
ठकुरीलाई सरुवा गर्नुमा कुनै राजनीतिक कारण नभएको उल्लेख गर्दै उनले प्रहरीको मनोबल बढेको दाबी गरे । 'प्रहरी प्रमुख नै अख्तियार जानुपर्ने अवस्थाले प्रहरीको मनोबल खस्केको महसुस भएको थियो,' उनले भने, 'प्रहरीको मनोबल वृद्धि गर्न उहाँ (ठकुरी) लाई सरुवा गरिएको हो । यो कारबाहीको रूपमा बुझ्नु हुँदैन ।'
उनले विभिन्न राजनीतिक शक्ति केन्द्र धाउने प्रहरी अधिकृतलाईर् चेतावनी दिँदै केही समस्या भए गृह मन्त्रालय आउन आग्रह गरे । 'विभिन्न राजनीतिक शक्ति धाएर दबाब सिर्जना गर्न खोज्नु ठीक हुँदैन,' उनले भने, 'त्यसो गरे हाम्रो कमान्डमा छैनन् भन्ने बुझ्नुपर्छ । के गर्ने नगर्ने भन्ने कुरा गृहमन्त्रीले सोच्ने हो ।' उनले प्रहरी प्रशासनभित्र कुनै समस्या परे प्रमुखदेखि सिपाहीका लागि ढोका खुला रहेको जनाए ।
महराले माओवादी नेताको दोहोरो सुरक्षा हटाएपछि हुने खतरालाई मूल्यांकन गरी उच्च सुरक्षा अपनाइने बताए । 'माओवादी नेताहरूलाई अहिले पनि सुरक्षा खतरा छ,' उनले भने, 'गृह मन्त्रालयले नेताहरूका लागि उच्च सुरक्षा व्यवस्था गर्नेछ ।'
राजधानी, तराईलगायत अन्य क्षेत्रको सुरक्षा संवेदनशीलतालाई हेरी प्रहरी प्रमुखको हेरफेर गर्ने संकेत पनि महराले दिए । 'हामीले विशेष गरी सुरक्षालाई ध्यानमा राखी प्रमुख जिल्ला अधिकारीलाई खटाएका छौं,' उनले भने, 'विभिन्न जिल्लाका प्रहरी प्रमुखबारे पनि हेर्दैछौं ।' उनले राजधानी र अन्य संवेदनशील क्षेत्रमा आपराधिक घटना हुन नदिन प्रहरीलाई सतर्क रहन निर्देशन निरन्तर दिएको पनि जनाए ।
उनले आन्तरिक सुरक्षासँग सम्बन्धित समस्या पहिचान गर्न सशस्त्र प्रहरी बलका पूर्वडीआईजी गोपालमान श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरी काम थालेको पनि जानकारी दिए ।
साभार - इ. कान्तिपुर
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment