रामदेव काण्डले राजनीतिक संकट-
नयाँदिल्ली, जेष्ठ २४ - प्रहरी हस्तक्षेपले योगगुरु रामदेवको आमरण अनशन कार्यक्रम बिथोलिएपछि भारतमा राजनीतिक संकट चुलिएको छ । विपक्षी भारतीय जनता पार्टी (भाजपा) ले सरकारविरुद्ध अभियान तीव्र बनाएको छ भने सत्तासीन मुख्य घटक कंग्रेसले बचाउको प्रयास जारी राखेको छ । भाजपाले सोमबार राष्ट्रपति प्रतिभा पाटिललाई भेटी संसद्को आपतकालीन अधिवेशन बोलाउनसमेत आग्रह गरेको छ ।
प्रहरी धरपकडका कारण क्रुद्ध बनेका नागरिक अगुवाहरूले पनि विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । भ्रष्टचारविरोधी अभियानका कारण चर्चित नागरिक अगुवा अन्ना हजारे र उनका सहकर्मीहरू बुधबार जन्तरमन्तरमा अनशन बस्दै छन् । रामलीला मैदानमा भएको घटनापछि सरकारलाई विश्वास गर्ने आधार नरहेको भन्दै उनीहरूले एकदिने अनशनको घोषणा गरेका हुन् ।
भ्रष्टाचारविरोधी लोकपाल विधेयकको मस्यौदा बनाउन गठित कमिटीका सदस्यसमेत रहेका हजारे र उनका सहकर्मीहरूले घटनाको विरोधमा सोमबार हुने भनिएको उक्त कमिटीको बैठक बहिष्कार गरेका थिए ।
रामदेवले सरकारी हस्तक्षेपको निन्दा गर्दै हरिद्वारस्थित आफ्नै आश्रममा आमरण अनशन जारी राख्ने घोषणा गरेका छन् । उत्तर प्रदेशस्थित नोइडामा अनशन जारी राख्न गरिएको आग्रह राज्य सरकारले अस्वीकार गरेपछि उनी हरिद्वारमै अनशन बस्ने निर्णयमा पुगेका हुन् । उत्तर प्रदेशकी मुख्यमन्त्री मायावतीले रामलीला मैदान घटनाको विरोध गरे पनि आमरण अनशनको निरन्तरताका लागि नोइडामा अनुमति दिन रामदेवले गरेको आग्रह अस्वीकार गरेकी हुन् ।
कर छलेर विदेशमा लुकाइएको धन तत्काल फिर्ता गर्नुपर्ने, अवैध धन राष्ट्रियकरण हुनुपर्नेलगायत माग राखी रामदेवले गत शनिबार नयाँदिल्लीमा आमरण अनशन सुरु गरेका थिए । चरणबद्ध वार्ता विफल भएपछि सरकारले सोही दिनको मध्यरात अनशन कार्यक्रममाथि हस्तक्षेप गरेको थियो । सर्वाेच्च अदालतले सरकारलाई र राष्ट्रिय मानव अधिकार आयोगले गृह मन्त्रालय एवम् दिल्ली प्रहरीलाई घटना किन भयो भन्नेबारे स्पष्ट पार्न सूचना जारी गरेपछि सरकार थप अप्ठ्यारोमा परेको छ ।
भाजपाको राजनीतिक दाउ
रामलीला मैदान घटनापछि उत्पन्न परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्न विपक्षी भाजपा र उससँग आबद्ध संघ/संगठन सक्रिय भएका छन् । भाजपाले प्रहरी धरपकडको विरोध गर्दै आइतबार रातिदेखि सोमबार बिहानसम्म राजघाटमा धर्ना गर्यो । भाजपाले यो घटनालाई सन् १९७५ मा संकटकाल घोषणापछि इन्दिरा गान्धी सरकारविरुद्ध समाजवादी नेता जयप्रकाश नारायणको अगुवाइमा सबै विपक्षी दल एक भएको घटनासँग तुलना गरेको छ । १९७७ सम्म चलेको संकटकालीन अवस्थापछि चुनाव गराउन बाध्य भएको तत्कालीन सरकार त्यसलगत्तै सत्ताच्युत
भएको थियो । भाजपा अध्यक्ष नितिन ड्करीलगायत नेताहरूले थप एक कदमअघि बढ्दै रामलीला मैदान घटनालाई स्वतन्त्रताको आन्दोलनमा क्रममा बि्रटिस नेतृत्वको प्रहरीले जलियावाला बागमा गरेको क्रूर दमनसँग तुलना गरेका छन् । सत्तारूढ कंग्रेसले भने जनताद्वारा चुनावमा लगातार दुईपटक अस्वीकृत भाजपाले रामलिला मैदान घटनालाई अनावश्यक राजनीतीकरण गरेको आरोप लगाएको छ ।
रामदेवको सम्पत्ति पनि छानबिनमा
शनिबार मध्यरातको धरपकडपछि परिवर्तित परिस्थितिमा सरकारले रामदेवको सम्पत्तिबारे छानबिन गर्ने भएको छ । त्यसका लागि उसले आयकर विभाग र केन्द्रीय जाँचब्युरो सीबीआईलाई जिम्मा दिएको छ । ती दुई निकायले रामदेव र उनका सहयोगीहरू संलग्न विभिन्न दुई सय कम्पनीको सञ्चालनबारे अध्ययन गर्नेछन् । तीमध्ये पतञ्जलि आयुर्वेद लिमिटेड, दिव्या फार्मेसी योग, आरोग्य हबस्, दिव्य प्याकमाफ, वैदिक अष्टभजन ब्रोडकास्टिङ, डायनामिक बिल्डकम, पतञ्जलि बायो रिसर्च इन्स्िटच्युटलगायत छन् । आयकर छुटको अनुसन्धानका अतिरिक्त ती सरकारी निकायले योगगुरुको ट्रस्ट र उनका सहयोगीहरूको नाममा रहेको जमिन तथा सम्पत्तिबारे छानबिन गर्ने भारतीय दैनिक दि हिन्दुस्तान टाइम्सले जनाएको छ ।
कंग्रेस महासचिवमाथि जुत्ता प्रहारको प्रयास
रामलीला घटनालाई लिएर चौतर्फी आलोचना भएपछि कंग्रेस आईको आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गरिरहेका सोही पार्टीका अर्का महासचिव जनार्दन द्विवेदीमाथि जुत्ता प्रहारको प्रयास भएको छ । पत्रकारका रूपमा प्रस्तुत भएका आक्रमणकारी कुनै दलसँग आबद्ध रहेको/नरहेको भन्ने प्रस्ट हुन सकेको छैन । कंग्रेसले उनी भाजपाको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघका कार्यकर्ता भएको बताएको छ ।
साभार - इ. कान्तिपुर
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment