सुजाता कोइरालाका सचिवमार्फत रुबेललाई चिनेको हुँ: शम्भु भारती
काठमाडौ, अषाढ ८ - बहुचर्चित सुडान घोटाला प्रकरणमा कांग्रेस नेतृ सुजाता कोइरालाका ज्वाई बंगलादेशी नागरिक रुबेल चौधरीको संलग्नता खुलासा भएको छ । सुडानमा तैनाथ प्रहरीका लागि खरिद गरिएका बख्तरबन्द गाडी एपीसीलगायतका सामग्रीको ठेक्का पाएको लन्डनस्थित एस्योर्ड रिस्क लिमिटेडका अपरेसनल डाइरेक्टर माइकल राइडरले स्थानीय एजेन्ट शम्भु भारतीलाई पठाएको एक इमेलबाट उक्त प्रकरणमा रुबेलको संलग्नता खुलेको हो ।
प्रहरीका चालकलाई एपीसी चलाउने तालिम दिने सम्बन्धमा २०६४ मंसिर २७ मा दुईबीच भएको इमेल पत्राचारमा राइडरले सुडान परियोजनामा पहिले नै धेरै खर्च भइसकेकाले एस्योर्ड रिस्कले ‘थप खर्च नबेहोर्ने’ जनाउँदै ‘अब हुने खर्च भारतीको कमिसनबाट काट्ने’ चेतावनी दिएका छन् । ‘केही समस्या भए रुबेलसँग कुरा गर । अबदेखि मलाई इमेल नगर, रुबेलसँग कुरा गर,’ राइडरले भारतीलाई लेखेको पत्रमा भनिएको छ ।
नेपाल प्रहरीको यूएन (राष्ट्रसंघ) शाखाबाट प्राप्त इमेल विवरणअनुसार प्रहरीद्वारा स्वीकृत दरभाउपत्र छाप लगाएर नपठाएकामा राइडरले इमेलमा भारतीलाई गालीगलौज गर्दै रोष प्रकट गरेका छन् । उक्त इमेलको एउटा प्रति (सीसी) प्रहरीको यूएन शाखालाई समेत पठाइएको थियो ।
ठेकेदार भारतीले राइडरसँग आफ्नो विवाद भएको र उनले इमेल पठाएको स्वीकार गरेका छन् । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सरोकारवाला निकायसँग रुबेलसँगको सम्बन्ध अस्वीकार गर्दै आएका भारतीले मंगलबार कान्तिपुरसँग कुरा गर्दै लन्डनको कम्पनीसँग सम्बन्ध बिग्रनुअघिसम्म रुबेलसँग भेटघाट, कुराकानी हुने गरेको स्विकारेका छन् ।
‘पूर्वमन्त्री सुजाता कोइरालाका स्वकीय सचिव हरि ढुंगानामार्फत मैले रुबेललाई चिनेको हुँ । लन्डनको कम्पनीसँग मेरो सम्बन्ध बिग्रनुअघिसम्म भेटघाट, कुराकानी हुन्थ्यो,’ उनले भने, ‘राइडरसँग पनि मलाई हयात होटलमा लगेर ढुंगानाले नै परिचय गराएका हुन् । त्यसपछि म एस्योर्ड रिस्कको स्थानीय एजेन्ट बनेको हुँ ।’ रुबेलले आफू लन्डनमा रहँदा राइडरसँग चिनजान भएको बताएको ठेकेदार भारतीले जानकारी दिए ।
‘राइडर रुबेलको विवाहको कार्यक्रममा सहभागी हुन पनि काठमाडौं आएका थिए,’ भारतीले भने । राइडरले प्रहरीले स्वीकार गरेको दरभाउसम्बन्धी आफ्नो प्रस्तावमा छाप लगाएर पठाउन भनेको तर आफूले ढिलाइ गरेकाले रिसाएको उनले जनाए । ‘स्थानीय एजेन्ट भएर काम गरेबापत मलाई प्रस्ताव स्वीकृत हुनासाथ राइडरले खरिद लागतको दुई प्रतिशत कमिसन दिनुपर्ने थियो, त्यो नपाएकाले मैले कागजपत्र पठाउन ढिलो गरेको थिएँ । त्यसैले ऊ मसँग रिसाएको हो,’ उनले भने ।
प्रहरी कल्याण कोषले २०६४ भदौ २६ गते सुडानमा तैनाथ प्रहरीका लागि एस्योर्ड रिस्कसँग सामग्री खरिदको स्वीकृति दिएको थियो । त्यसैअनुरूप असोज १० गते सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । भारतीले सम्झौतापत्रको सक्कल प्रति नपठाएपछि मंसिर २७ मा राइडरले प्रहरीसँग आफैंले सम्पर्क राख्ने जनाउँदै भारतीलाई इमेल पठाएका थिए ।
रुबेल र राइडर मिलेर आफूलाई फसाएको ठेकेदार भारतीको दाबी छ । ‘राइडरको इमेल पाएपछि मैले रुबेललाई सम्पर्क गरें, तर उनी यो तिमीहरूबीचको मामिला हो भनेर पन्छिए । यी दुवै मिलेर मलाई फसाए, मैले अहिलेसम्म कमिसनबापतको रकम पनि पाएको छैन,’ भारतीको दाबी छ, ‘प्रहरीलाई पनि सीसी गरेर पठाएर त्यहाँ पनि मलाई बदनाम गराउन खोजे ।’
उच्च प्रहरी स्रोतका अनुसार सुडान पठाउने सामग्रीको ठेक्का लिनकै लागि रुबेलले लन्डनका केही साथीलाई अगाडि सारेर मिलेर एस्योर्ड रिस्क कम्पनी खोलेका हुन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाताले आफ्नो प्रभाव प्रयोग गरी गृह मन्त्रालय र प्रहरीसँगको मिलेमतोमा एस्योर्ड रिस्कलाई ठेक्का दिन लगाएको स्रोतको दाबी छ । कोइराला परिवारस“ग निकट रहेका तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाको कार्यकालमा उक्त ठेक्का दिइएको थियो ।
‘अहिले मुख्य भ्रष्टाचारीहरू शक्तिको आडमा निर्धक्क घुमिरहेका छन्, सामान्य प्रहरी अधिकृतहरूलाई चाहि“ अभियुक्त बनाइएको छ,’ सुडान प्रकरणबारे एक प्रहरी अधिकृतले टिप्पणी गरे ।
स्मरण रहोस्, अख्तियारले यसै साता अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्नताको आशंका गर्दै रुबेललाई निगरानीमा राख्न निर्देशन दिएको थियो । ‘रुबेल चौधरीले अन्तर्राष्ट्रिय कल बाइपास गरी नेपाल टेलिकमको राजस्व हानि/नोक्सानी पुयाएको भन्ने उजुरीउपर आयोगको बैठकमा छलफल हु“दा नेपाल प्रहरीलाई निगरानी गरी अनुसन्धान गर्न आदेश दिने निर्णय भएको’ अख्तियारले प्रहरीलाई पठाएको गोप्य निर्देशन (चलानी नम्बर ११४०) मा उल्लेख छ ।
प्रहरीलाई निगरानीमा राख्न भनिए पनि रुबेल भने यसअघि नै बाहिर पुगिसकेको स्रोतको भनाइ छ । उनीस“ग प्रतिक्रिया लिने कान्तिपुरको पटक–पटकको प्रयास सफल हुन सकेन ।

No comments:
Post a Comment