थ्री-स्टार र हिमालयन बराबरीमा

कान्तिपुर संवाददाता/काठमाडौ
       'काउन्टर' आक्रमणको यो भन्दा राम्रो उदाहरण बिरलै हुनेछ । एक समय यति हिमालयन शेर्पा गोलको निश्चित संघारमा थियो, त्यसमा सफल हुन सकेन । फेरि अर्को अवसर पनि उसले गुमायो । त्यसयता दस सेकेन्ड के बितेको थियो, उसले अविश्सनीय रूपमा आफूलाई एक गोलले पछाडि रहेको स्थिति पायो ।
मेगा थ्री-स्टारका लागि बुद्ध चेम्जोङले २५ औं मिनेटमा गरेको गोल सम्भवतः यो लिगकै सर्वाधिक सुन्दर गोल हुनेछ । कप्तान सञ्जीव बुढाथोकीको गम्भीर भुलमा दीपक राईसामु गोलका लागि प्रतिद्वन्द्वी किरण चेम्जोङलाई मात्र 'बिट' गर्न आवश्यक थियो, उनी त्यसमा सफल भएनन् । रिबाउन्डमा जगजित श्रेष्ठको प्रहारलाई पनि गोललाइनबाट विकाससिंह क्षेत्रीले जोगाए ।
त्यसमा विसन गौचन र राजकुमार घिसिङ हुँदै बनेको 'मुभ' मा बुद्धले प्रशंसा गर्न लायक गोल गरे । त्यो २० सेकेन्डको स्थिति कति साह्रो रोमाञ्चक रह्यो भने दशरथ रंगशालामा उपस्थित दर्शकलाई जुरुक्क उठाउने काम गरेको थियो । थ्री-स्टारको त्यो गोलमा खुसी हुनेहरू अन्त्यमा भने निराश हुनुपर्‍यो । दीपक राईले ८५ औं मिनेटमा दिनेश कार्कीको क्रसमा गोल गरे ।
दीपकको प्रहार किरणको हातमा आइसके पनि फुत्केर पोस्टको दिशा लिएको थियो । स्वभाविक थियो, हिमालयन शेर्पा प्रशिक्षक उपेन्द्रमान सिंह खुसी रहे र उनले टिमको प्रदर्शन उपलब्धिमूलक माने । 'थ्री- स्टारविरुद्ध खेल्दा रमाइलो लाग्यो,' उनको प्रतिक्रिया थियो । उनका समकक्षी मेघराज केही निराश
रहे । उनलाई हात लागेको तीन अंक एकमा सीमित हुँदाको दुःख थियो ।
'हिमालयन शेर्पाविरुद्ध खेल्नु सजिलो नहुने भने थाहा थियो,' उनले पनि माने । तीन खेलपछि हिमालयनको सात अंक भएको छ भने थ्री-स्टार चार अंकमै सीमित रह्यो । त्यस अगाडि आर्मी र स्वयम्भू एकआपसमा भिडेका थिए र ९० मिनेटको निराशाजनक खेलमा कुनै गोल हुन सकेन । आर्मी नियमित पाँच खेलाडीबिना खेलिरहेको थियो र उनीहरूको अनुपस्थिति स्पष्ट खडकयो ।
'पहिलो रोजाइका खेलाडीको अनुपस्थितिमा आजको खेल गाह्रो हुने पूर्वअनुमान थियो,' आर्मी प्रशिक्षक डम्बर गुरुङ इमानदार देखिए । स्वयम्भू प्रशिक्षक राजकुमार लामा एक अंकमा खुसी देखिए । उनले आउने खेलहरूका लागि नयाँ खेलाडी भित्र्याउने दाबी पनि गरे र भने, 'हाम्रो टिमको प्रदर्शनमा अझ सुधार हुनेछ ।'
आर्मी ०-० स्वयम्भू
थ्री-स्टार १-१ हिमालयन शेर्पा
आजका खेल
मच्छिन्द्रविरुद्ध जावलाखेल
एनआरटीविरुद्ध सरस्वती :ई-कान्तिपुर खेलकुद

No comments: