शताब्दीकै ठूलो खग्रास चन्द्रग्रहण आज
काठमाडौँ, असार १ - मुलुकको धार्मिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा ठूलो असर पार्नसक्ने मानिएको शताब्दीकै सबैभन्दा ठूलो खग्रास चन्द्रग्रहण आज मध्यरातबाट सुरु हुँदैछ। चन्द्रग्रहण वृश्चिक राशीबाट सुरु भई धनुराशीमा अन्त्य हुनेछ। हिमवत् खण्डको उत्तरी गोलार्द्धमा अवस्थित नेपाल वृश्चिक राशीमा र भारत धनुराशीमा रहेकाले बढीरुपमा नेपाल तथा भारतमा यसको असर पर्ने राष्ट्रिय ज्योतिष विज्ञान सेवा समितिका महासचिव ज्यो.पं. विश्वप्रेम भट्टराई बताउँछन्।
नेपालको परिप्रेक्ष्यमा यस वर्ष राशीका स्वामी मङ्गललाई सेनापति मानिने भएकाले सेनापतिका घरमा ग्रहण लाग्नाले अशुभ हुने, राजनीतिक नेताहरूप्रति जनताको तिक्तता बढ्ने, सामाजिक वितृष्णा फैलने, राजनेतामा एकता हुन नदिने तथा नेताहरूले जनतालाई झुक्याउने प्रवृति बढ्नेजस्ता असर हुनेछ।
धार्मिक, सामाजिक, राजनीतिक क्षेत्रका अग्रज व्यक्तिहरू नेता, आचार्य, प्राचार्य, मठाधीश आदिलाई बढी असर पर्ने पनि महासचिव भट्टराई बताउँछन्।
पूर्णिमाका दिनमा लाग्ने खग्रासले सो रातलाई औंशीको राततुल्य बनाइदिने भएकाले मुलुकमा यसको असर ठूलो पर्न सक्ने राष्ट्रिय ज्योतिष विज्ञान सेवा समितिका अध्यक्ष ज्यो. तिलकराज पौडेल बताउँछन्।
उनका अनुसार 'न' अक्षरबाट उच्चारण भएका व्यक्ति तथा सङ्घसंस्थालाई यसले ठूलो असर पुग्ने, नेतानेताबीच एकआपसमा मनमुटाव, वैमनस्य तथा फुट हुनसक्ने देखिन्छ।
मुलुकबासीका लागि मेष राशी-कष्टकर, वृषराशी-स्त्रीपीडा तथा श्रीमान् पीडा, मिथुनराशी-सुख, कर्कटराशी-चिन्ता, सिंहराशी-रोगकष्ट, कन्याराशी- श्रीप्राप्ती, तुलाराशी-क्षति, वृश्चिकराशी-घात, धनराशी-व्यय, मकरराशी-लाभ, कुम्भराशी-सुख तथा मीनराशीलाई-अपमानका असर देखापर्ने अध्यक्ष पौडेलको भनाइ छ।
जगत लग्नअनुसार नेपाल राष्ट्रको राशी वृश्चिक भएको र सोही राशीमा शनिको दृष्टि परेकाले समयसीमाभित्र संविधान निर्माण गर्न जनताले पहरेदारको भूमिका निर्वाह गर्नुपर्ने ज्योतिषीहरूको भनाइ छ।
पञ्चाङ्गका अनुसार असार १ गते मध्यराति १२ बजेर ७ मिनेटमा स्पर्शकाल, १ बजेर ७ मिनेटमा सम्मिलन, १ बजेर ५७ मिनेटमा मध्यकाल, २ बजेर ४८ मिनेटमा उन्मीलनकाल र ३ बजेर ४७ मिनेटमा मोक्षकाल रहेको खग्रास चन्द्रग्रहणको सुतक सोही दिन अपरान्ह ३ बजेर ७ मिनेटबाट प्रारम्भ हुनेछ।
सो अवधिमा असर कम गर्न स्नान, ध्यान, दान, शनिग्रह तथा शिवजीको जप गर्नु राम्रो हुने अध्यक्ष पौडेलको कथन छ। -रासस
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment