ह्यान्डसम देखिन रुनीले कपाल रोपे


लन्डन/ कपाल झरेर उमेरभन्दा पाका देखिन लागेका इंग्ल्यान्ड तथा म्यानचेस्टर युनाइटेडका फुटबल स्टार वाइने रुनीले खेलबाट विश्रामको समयमा टाउकोमा कपाल रोपेका छन् ।

केही फोटोपत्रकारलाई शल्यक्रिया कक्षमा नै पुर्‍याएका रुनीले कपाल रोप्दा सोचेभन्दा बढी पीडा महसुस गरे । चिकित्सकले उनको टाउकोमा प्वाल पारेर कपाल रोप्दा रुनीले आँखा चिम्लिएर दाह्रा टोक्नुपरेको थियो । कपाल रोप्दै जाँदा उनको टाउको छोपिएको कपडासमेत रक्ताम्य भएको तर पीडाका बाबजुद ह्यान्डसम देखिने चाहनामा रुनीले आफ्नो योजनालाई मूर्त रूप दिए । चिकित्सकले उनको टाउको कपालका नयाँ सीमा तय गरिछाडे । आठ घन्टा लगाएर गरिएको सो शल्यक्रिया गराएपछि रुनीको 'लुक' नै फरक देखियो । शल्यक्रियापछि पनि पीडा महसुस गरिरहेका रुनीले भने, 'राम्रो देखिन पीडा त सहनु नै पर्‍यो नि ।' उनको सो नयाँ 'लुक' को कल्पना कलाकार एलिसन ज्याक्सनले गरेकी थिएन् ।

गत साता हार्ले स्टि्रटको क्लिनिकमा उनले १२ हजार पाउन्ड खर्च गरेर कपाल रोपेका हुन् । क्लिनिकभित्र रुनीले कपाल रोपिरहँदा उनको नयाँ लुक हेर्न हजारौँ समर्थक बाहिर उपस्थित थिए । कलाकार एलिसन ज्याक्सनले यसअघि शाही परिवारका साथै डेविड तथा भिक्टोरिया बेकह्याम, एल्टन जोन तथा चेरिल कोलजस्ता सेलिब्रेटीलाई राम्रो बनाउन पनि कार्य गरिसकेकी छिन् ।

ज्याक्सनले यसअघि राजकुमार विलियम्सकी पत्नी केट मिडलटनको विवाहको पोसाक तयार गर्नुका साथै सिमोन कोवेलको छातीमा वाक्स गराएकी थिइन् । साथै उनले रुनीलाई कस्तो हेयर स्टाइल सुहाउँछ भने वेबसाइटमार्फत रायसमेत संकलन गरेकी थिइन् ।

कपालमा रौँ रोपेपछि रुनीले बार्बाडोसमा रहेको आफ्नो घरमा छुट्टी मनाउने योजनासमेत बनाए तथा त्यहाँबाट फर्किएपछि उनको रोपिएको कपाललाई अझै स्टाइलिस बनाइनेछ ।

'मेरा सबै समर्थकलाई म यो भन्न चाहन्छु कि मैले कपाल रोपेँ । अब त २५ वर्षको झैँ देखिएको छु । नतिजाबाट म अति खुसी छु,' रुनीले ट्विटरमा लेखेका छन् ।

'यो अहिले अलि सानै छ तथा जब यसले अन्तिम रूप पाउँछ म सबैलाई आफ्नो नयाँ लुक देखाउनेछु । अब मलाई राम्रो हेयर जेलको बारेमा जानकारी दिए हुन्छ । हा...हा...हा ।'

'मैले यो ट्रान्सप्लाट लन्डनको हार्ले स्टि्रटको क्लिनिकमा गराएको हुँ । त्यसवेला मलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु,' रुनीले लेखेका छन् ।

आफ्नो भनाइ सार्वजनिक गरेको केही पछि उनले आफ्नो तस्बिरसमेत सार्वजनिक गरे अनि लेखे, 'हेर्नुस् सबैजना मेरो नयाँ टाउको । अब कपाल उम्रन अझै केही महिना लाग्छ । अहिले पनि रगत सुकिसकेका छैनन् । तर, अब म पीडाबाट बाहिर छु ।'

सो ट्रान्सप्लान्टको लगत्तै २५ वषर्ीय रुनीपत्नी कोलिन तथा छोरा काइका साथ छुट्टी मनाउन बार्बाडोस पुगेका थिए । कपाल ट्रान्सप्लान्ट गर्न पत्नी कोलिनले समेत स्वीकृति दिएको उनले बताएका छन् । 'वाइने वास्तवमा नै ह्यान्डसम देखिएका छन्,' कोलिनले ट्विटरमा लेखेकी छिन् ।
साभार : नया पत्रिका

No comments: