ट्राफिक नियम उल्लंघन गर्नेमा ८० प्रतिशत शिक्षित नागरिक रहेको उनी सुनाउँछन्
विज्ञानराज शर्माका नजरमा काठमाडौंको ट्राफिक समस्या केके हुन् ?
ट्राफिक नियम सबैभन्दा बढी मिच्ने विद्यार्थी हुन् ।
मोटरसाइकल कुदाउने ६० प्रतिशत विद्यार्थीसँग लाइसेन्स नै हुँदैन ।
नियम उल्लंघन गर्नेमा ८० प्रतिशत शिक्षित नागरिक छन् ।
ठूलाबडा सबैभन्दा बढी ट्राफिक नियम मिच्छन् । उनीहरूले ट्राफिकका हाकिम चिनेका हुन्छन् । त्यसकारण हाकिमलाई भनेपछि गल्ती गरे पनि उन्मुक्ति पाइन्छ भन्ने धारणा छ ।
सवारी चलाउन नै नजानी लाइसेन्स दिने गरिएको छ ।
सरकारी निकायहरू ट्राफिक समस्याप्रति गम्भीर छैनन् ।
सुघार्न के गर्ने ? विज्ञानका पाँच टिप्स
ट्राफिक जरिवानालाई १० हजार बनाइनुपर्छ । त्यसले धेरै मान्छेलाई अनुशासित बनाउँछ ।
सवारी नियम उल्लंघन गरे लाइसेन्स नै निलम्बन गर्नुपर्छ । अर्का बनाउने झन्झटको पीरले पनि नियम पालना गर्छन् ।
लाइसेन्सको आवेदन भर्नका लागि पहिले एक दिन ट्राफिक व्यवस्थापनमा प्रहरीसँग काम गर्नुपर्छ ।
नियम मिच्ने सवारीसाधनलाई पनि रुट परमिट नै खारेज गरिदिनुपर्छ ।
नयाँ सवारीसाधन आयतमा रोक लगाउनुहुँदैन । पुराना सवारी घटाउनुपर्छ ।
उनी त्रिपुरेश्वर चोकमा उभिएका छन् । त्रिपुरेश्वर त्यही चोक हो जहाँ उनको बाल्यकालका सुनौला दिनहरू बितेका थिए । 'हामी त्यतिखेर यही बाटोमा गुच्चा खेलेर बस्थ्यौँ', डिआइजी विज्ञानराज शर्माले बाल्यकाल सम्भिए, 'बिहानमा त यो सडक पूरै खाली हुन्थ्यो ।'
करिब ४० वर्षअगाडिको त्रिपुरेश्वरको सम्झना गर्दै थिए उनी । त्यसवेला काठमाडौंमा अहिलेजस्तो कोलाहल थिएन । 'साँझ परेपछि पूरै सडक खाली हुन्थ्यो । पुतलीसडकसम्म जान कस्तो डर लाग्थ्यो ।'
उनले सुनाए ।
अली तल बाग्मतीमा अहिले जस्तो ढल कहाँ बग्थ्यो र ? त्यसवेला बाग्मतीमा उनी पटक-पटक माछा मार्न जान्थे । कहाँ गयो त्यो बाग्मती अनि, त्यो शान्त र सुन्दर काठमाडौं ? डिआइजी शर्मा कहिलेकाहीँ भावुक बन्दा रहेछन् ।
'बाग्मती अहिलेको यो अवस्थामा आइपुग्ला भनेर हामीले कल्पनासमेत गरेका थिएनौँ,' उनले दुखेसो पोखे । दिनप्रतिदिन बदलिएको काठमाडौंप्रति उनलाई दिक्क लाग्छ कहिले आश्चर्य पनि । 'मलाई त एउटा सभ्यताको अन्त्य भएर नयाँ सभ्यता सुरु भइरहेको जस्तो लाग्छ' उनले भने ।
तर अहिले हामी काठमाडौंको सभ्यताको कुरा गर्न गइरहेका छैनौँ । तीव्र रूपमा बजारीकरण भएको काठमाडौंको एउटा समस्याको कुरा हो यो । विषय राजधानीमा बढेको ट्राफिक समस्याको हो । राजधानीको ट्राफिक व्यवस्थापनलाई केही हदसम्म सरल बनाएर लोकपि्रयता कमाएका महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी शर्मा बदलिएको काठमाडौंमा बढेको उपत्यकाको बढ्दो ट्राफिक समस्यामा अहिले केन्दि्रत छन् ।
यो त्यही त्रिपुरेश्वरचोक हो जुन उनको बाल्यकालको चोक रहेन बदलिइसकेको छ । सबैभन्दा बढी के बदलियो ? 'सडकमा गुड्ने सवारी साधन,' उनले जवाफ दिए ।
त्यतिवेला काठमाडौंमा मोटरसाइकल चढ्ने अधिकांश व्यक्तिलाई चिन्ने गरेको उनी सुनाउँछन् । यस्तो उनको स्मरणशक्ति विशेष भएर होइन, मोटरसाइकल चढ्नेहरू फाट्टफुट्टमात्र भएर याद हुन्थ्यो । मोटरसाइकल चढ्ने मान्छे ठूलो व्यक्तिका रूपमा गनिन्थ्यो । तर अहिले उपत्यकामा मात्र मोटरसाइकलको संख्या पाँच लाख पुग्न लागिसकेको छ । सहरवासीको दर्जनौँ समस्याका खातमा ट्राफिक जाम एउटा प्रमुख समस्याका रूपमा स्थापित भइसकेको छ । उपत्यकाका ४० लाख सर्वसाधरणको त्यही समस्यासँग विगत ६ महिनादेखि ट्राफिक प्रहरी प्रमुखका रूपमा डिआइजी शर्मा जुधिरहेका छन् ।
उपत्यकामा बढेका सवारी साधनभन्दा पनि यहाँका सवारी चालक देखेर उनलाई अचम्म लाग्छ । ट्राफिक नियम उल्लंघन गर्नेमा ८० प्रतिशत शिक्षित नागरिक रहेको उनी सुनाउँछन् । उनीहरूको लापरबाहीका कारणभन्दा पनि हेपाहा प्रवृत्तिबाट सडकमा समस्या भएको उनको भनाइ छ ।
कसरी ?
ठूलाबडाले ट्राफिकका हाकिम चिनेका हुन्छन् । त्यसकारण हाकिमलाई भनेपछि गल्ती गरे पनि उन्मुक्ति पाइन्छ भने उनको धारणा छ । अब त्यस्तो मान्यतालाई पनि आफूले धेरै कम गरेको उनले दाबी गरे ।
अहिले त्यस्ता सिफारिस आउन बन्द भए त ?
'बन्दै भएको त होइन तर पहिलेको तुलनामा निकै कम भएको छ,' उनले भने ।
सिफारिसकै विषयमा उनसँग एक रमाइलो अनुभव छ । बेलुका मस्त मदिरा पिएर कतिपय युवाहरू जभाभावी सवारी चलाउँछन् अनि ट्राफिकले कारबाही गरेपछि 'विज्ञानदाइ' भन्दै हारगुहार गछन् रे । त्यहीकारण हरेक दिन बेलुका भएपछि विज्ञानको मोबाइल अफ हुन्छ । आफूलाई ठूला नेता भनाउँदाहरूले समेत कारबाहीमा तानिएका सवारी साधनलाई कारबाही नगर्न अनुरोध गर्दै आउँछन् ।
उनी प्रहरीको केन्द्रीय प्रवक्ता रहँदाको घटना हो । त्रिपुरेश्वरकै एक वृद्ध छिमेकीले आएर उनलाई एउटा गुनोसो पोखेछन् । एकजना 'मुन्द्रे'ले सडकपेटीबाट मोटरसाइकल चलाएछ त्यसो नगर्न भनेर आग्रह गर्दा उल्टो ती वृद्धलाई नै कुट्न खोजेछन् । जब उनी ट्राफिक महाशाखामा आए सडकपेटी गाडी गुडाउन बन्द गराए । सडकपेटीमा सवारी कुदाउनेबाट एक हजार जरिवाना उठाउन थाले । जसबाट सवारी चालकको सडक अराजकता केही हदसम्म कम पनि भयो ।
त्यसपछि चक्रपथलाई खाली गराउने, सडकको पार्किङलाई हटाउने, साँघुरा रोडहरूलाई विस्तार जस्ता कामबाट ट्राफिक समस्यालाई घटाउने प्रयास गरे ।
अनि उनको आँखा विद्यालयका विद्यार्थीतिर गयो । विद्यार्थीको लाइसेन्स चेक गर्न थाले । मोटरसाइकल कुदाउने ६० प्रतिशत विद्यार्थीसँग लाइसेन्स नै नभएको खुल्यो । चेकजाँचलाई निरन्तरता दिए । हरेकदिन एउटै विद्यार्थीहरू त्यसरी कारबाहीमा पर्न थाल्यो । पटक-पटक कारबाही गर्दा पनि उनीहरूल मोटरसाइकल कुदाउन छाडेनन् । उनीहरूले ट्राफिकलाई जवाफ दिन्थे, 'नाथे दुई सय रुपैयाँ त हो नि ?
त्यसपछि उनलाई लाग्यो कम जरिवानाका कारण पनि चालकको मनपरी बढेको रहेछ । अनि उनले जरिवाना बढाएर एक हजार ५० रुपैयाँ बनाए । त्यसलाई कतियले ट्राफिकले आतंक सुरु गरेको पनि बताए । तर केही महिनायता उक्त 'आतंक'ले काठमाडौंको ट्राफिक समस्यामा धेरै सुधार आएपछि धेरैबाट उनले धन्यवाद पाउन थालेका छन् ।
डिजिटल नम्बर प्लेट परिवर्तनको ठूलो अभियानमा व्यापक विरोध हुँदाहुँदै पनि उनी सफल भए । बटुवालाई पनि कारबाही गर्न थाले । जसले काठमाडौंको ट्राफिकमा धेरै फरक पार्यो । 'हाम्रोमा संस्कृति नै खराब,' उनी भन्छन्, 'सिंगापुरमा गए भने हामी नेपाली सडकमा थुक्न डराउछौँ तर यहाँ भने जे पनि गर्दा पनि हुन्छ भन्ने मानसिकता छ ।' उनले दुखेसो गरे । काठमाडौंमा असाध्यै जंगली र अराजक सवारी चालकहरू रहेको उनको टिप्पणी छ ।
ट्राफिक प्रहरीचाहिँ सबै असल छन् त ? 'छैनन्,' डिआइजी शर्मा भन्छन्, 'हामी उनीहरूको ट्राफिकलाई पनि असल बनाउने प्रयासमा लागिरहेका छौँ ।' कलाकार, पत्रकार, यातायात व्यवसायीलगायत विभिन्न क्षेत्रका व्यक्तिबाट ट्राफिकलाई प्रशिक्षण दिन सुरु गरिएको उनी बताउँछन् ।
'ट्राफिक भन्नेबित्तिकै पैसा खान्छन्, घुस खाने प्रहरी हुन् भन्ने बुझाइ छ, सेतो टोपीभित्र पैसा नै छ भन्ने मान्यता छ, त्यसलाई हामी तोड्ने प्रयासमा छौँ,' उनले सुनाए ।
ट्राफिकमा हुने संस्थागत भ्रष्टाचार चाहिँ मैले बे्रक गरिदिएको उनको दाबी छ ।
ट्राफिकमा हुने भ्रष्टाचारलाई कम गरी व्यवसायिकता बढाउन कामअनुसार प्रोत्साहन भत्ता दिने योजना पनि उनले अघि सारेका छन् ।
एउटा व्यक्तिको दिमागले जनताको दैनिक जीवनमा कतिधेरै प्रभाव पार्न सक्छ भन्ने कुराको उदाहरण बनेका छन् शर्मा । किनकी काठमाडौंको ट्राफिकमा थोरै सुधार मात्र गर्दा पनि त्यसबाट ४० लाख सर्वसाधरण खुसी हुन्छन् ।
सबैको सहयोग भयो भने धेरै कुरा गर्न सकिने उनले यो ६ महिनाको अवधिमा संगालेका छन् । तर सरकारी निकायहरूबाटै उनले असहयोग पाएछन् । यातायात व्यवस्था विभाग, काठमाडौं महानगरपालिका, भौतिक योजना तथा निर्माण मन्त्रालयलाई काठमाडौंको सडक सुधार्न निकै बिन्ती गरे । झगडासमेत गरे तर निजामती कर्मचारीको 'ब्युरोक्रयाटिक' दिमाग उनले बुझ्न सकेका छैनन् ।
डिआइजी शर्माको अर्काे विशेषता के हो भने उनी हरेकदिन जसो ट्राफिक व्यवस्थापनमा आफै सडकमा खटिन्छन् । डिआइजी आफैँ खट्नुपर्छ र ?
'कुर्सीमा बसेर चिया खाएर गफ गर्नुभन्दा सडकमा गएर काम गर्दा धेरै मजा हुन्छ,' उनको अनुभव सुनाए । एक त ट्राफिक प्रहरीकै हौसला बढ्ने र अर्काेतर्फ फिल्डमै गएपछि मात्र वास्तविक समस्या बुझिने भएकाले आफू सडकमै खट्ने गरेको उनले सुनाए ।
ट्राफिक व्यवस्थापनमा ऐन नियमसहितको सम्पूर्ण जिम्मेवारी दिने हो भने उनले के गर्लान् ? 'पहिलो काम ट्राफिक जरिवानालाई १० हजार बनाइदिन्छु, उनी भन्छन्, 'दोस्रो काम सवारी नियम उल्लंघनमा लाइसेन्स नै निलम्बन गर्नुपर्छ ।' नियम मिच्ने सवारीसाधनलाई पनि रुट परमिट नै खारेज गरिदिनुपर्ने उनको विचार छ । यति नगरी काठमाडौंको ट्राफिक व्यवस्था सोचेअनुरूप सुधार नहुने उनको ठहर छ ।
काठमाडौंमा गाडी पनि बढी भएका होइनन् ?
उनी भन्छन्, 'गाडी बढी भएका हुन् तर नयाँ गाडीमा रोक लगाउनुहुदैन पुराना गाडीलाई विस्थापन गर्नुपर्छ ।'
सवारी लाइसेन्स वितरण प्रक्रियामा उनको ठूलो विमति छ । अहिले राम्रोसँग सवारी चलाउन नै नजानी लाइसेन्स दिने गरिएको उनको आरोप छ । लाइसेन्सको आवेदन भर्नका लागि पहिले एक दिन ट्राफिक व्यवस्थापनमा प्रहरीसँग काम गर्नुपर्ने उनको विचार छ । उनी भन्छन्, 'तब मात्र व्यक्तिले जिम्मेवारी महसुस गर्छ ।' डिआइजी शर्माको एउटा विशेषता के भने उनी स्पष्टवादी छन् । जुन थोरै मात्र प्रहरीमा हुने गुण हो ।
हुन त उनका लागि बाल्यकालमा सबैभन्दा मन नपर्ने पेसा थियो प्रहरी । चार्टर्ड एकाउन्टेन्ट बन्ने सपना रहेको उनी सुनाउँछन् । एक समय राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका शर्मा आकस्मिक रूपमा प्रहरी सेवामा प्रवेश गरे । र अहिले प्रहरी सेवामा एकजना राम्रा प्रहरी अधिकृतका रूपमा पहिचान बनाउन सफल भएका छन् ।
प्रायः प्रहरी अधिकारीहरू आफ्नो जागिरको बारेमा सधै गुनासो गरिरहेका हुन्छन् । तर विज्ञानराज शर्मा त्यस्ता व्यक्ति हुन् जो चाहनाविनै प्रहरी सेवामा प्रवेश गरेर पनि उनको कुनै गुनासो छैन । विविध समस्याका बावजुद् पनि आफू प्रहरी सेवामा रमाइरहेको उनी बताउँछन् ।
कहिलेकाहीँ दिक्क लाग्दैन ?
'म दिक्कलाई पनि म रमाइलोका रूपमा लिन्छु ।' उनले सुनाए । ट्राफिक महाशाखामा आएर उनलाई थप हौसला मिलेके छ । उनी भन्छन्, 'चाह्यो र गर्यो भने धेरै काम गर्न सकिँदो रहेछ भन्ने मलाई विश्वास बढेको छ ।'
साभार : नयाँ पत्रिका

No comments:
Post a Comment