‘एनआरएनको संस्थागत सुधार र नेपाल प्रबर्द्धनमा मस्को सम्मेलन केन्द्रीत हुनेछ’

गैरआबासीय नेपाली संघ (एनआरएन)
अन्तर्राष्ट्रिय परिषद्का उपाध्यक्ष जीवा लामिछाने ।
            जेष्ठ ४ - गैरआबासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय परिषद्का उपाध्यक्ष जीवा लामिछाने यतिखेर निकै ब्यस्त छन् । उनको काँधमा रुसको राजधानी मस्कोमा हुन गइरहेको एनआरएनको छैठौं क्षेत्रीय सम्मेलन सफलतापूर्बक सम्पन्न गर्नुपर्ने जिम्मेवारी छ । दुई महिनापछि जुलाई २३ देखि २५ सम्म हुन गइरहेको यो सम्मेलनको तयारीमा उनी लागिपरेका छन् । मस्को सम्मेलनले प्रमुख रुपमा दुईटा बिषयमा छलफल गर्दैछ । पहिलो, एनआरएनको संस्थागत सुधार र दोश्रो नेपालको सम्वर्द्धन । लामिछानेसँग मस्को सम्मेलन, एनआरएनको अभियान र कामदारको सुरक्षासँग सम्बन्धित बिषयमा ईकान्तिपुरका होम कार्कीले गरेको कुराकानीः    
तपाईहरुले गैरआबासीय नेपालीहरुको सम्मेलन दुबईपछि लगत्तै मस्कोमा आयोजना गर्न लाग्नुभएको छ, किन ?
गैरआबासीय नेपालीहरु बिभिन्न ब्यबसाय तथा पेशामा आबद्ध छन् । सबै समुदायका मुद्दाहरुलाई एउटै सम्मेलनमा समेट्न सम्भव हुँदैन । गत जनवरीमा दुबईमा सम्पन्न क्षेत्रीय सम्मेलनमा ‘सामुहीक लगानी र सुरक्षित आप्रबासन’ बारे छलफल भएको थियो । यसपटक फरक  बिषयमा छलफल गरिनेछ ।
मस्को सम्मेलनका मुख्य एजेण्डा के हुने छन् ?
मस्को सम्मेलनको बिषय ‘गैर आबासीय नेपाली सञ्जालको सम्वर्द्धनः नेपालको प्रवर्द्धन’  भन्ने छ । आठ बर्षमा एनआरएनको सञ्जाल बिश्वभर बिस्तार भयो । अब यसलाई सशक्तिकरण गर्नु हाम्रो मुख्य काम हो । संगठनका आन्तरीक बिषयबस्तुमाथि छलफल हुनेछ । नेपालको सम्रग बिकासमा हाम्रा श्रोत तथा सम्भावनाहरुलाई कसरी परिचालन गर्न सकिन्छ भन्ने बिषयमा छलफल तथा निर्णयहरु गरिनेछ ।
खाडी सम्मेलनपछि तुरुन्तै अर्को क्षेत्रीय सम्मेलन  गर्नुपर्नको कारण के हो ?
नेपालमा दुई/दुई बर्षमा गैरआबासीय नेपालीहरुको बिश्व सम्मेलन हुन्छ । क्षेत्रीय सम्मेलनहरु आबश्यकताअनुसार बिभिन्न क्षेत्रमा हुने गर्छन् । रुसमा धेरै पहिलेदेखि नै हामीले सम्मेलन गर्ने सोच बनाउँदै आएका थियौं । रुसमा अहिले स्वतन्त्र बजार ब्यबस्था भएपनि लामो समयसम्म राज्यनियन्त्रित अर्थतन्त्र रहेकाले यहाँ अझै पनि अरु देशहरुमा जस्तो त्यति सहज बाताबरण छैन । भिसा सहज छैन । बजार पनि निकै महंगो छ । त्यसकारण पनि हामीले सम्मेलनलाई पर सार्दै आएका थियौं । तर यसपटक साथीहरुको अनुरोधलाई मनन गर्दै केही कठिनाईका बाबजुद हामीले सम्मेलन गर्ने निर्णय गरेका छौं । अर्को कुरा,  यसपटक हामीले रुसमा बन्दै गरेको ‘नेपाली घर’को पनि उद्‌घाटन गर्न गइरहेका छौं ।
त्यो कस्तो घर हो ?
मस्को नजिकै कालुगा जिल्लामा एउटा एत्रोमिर भन्ने ‘वर्ल्र्ड भिलेज’ निर्माण हुँदैछ । त्यस भिलेजभित्र बिश्वका ५२ राष्ट्रका संस्कृति झल्किने घरहरु निर्माण हुँदैछन् । ब्यवसाय गर्ने नेपालीहरु तथा रुसी नागरिकको संयुक्त लगानीमा हामीले त्यहाँ एउटा नेपाली घर बनाउदैछौं । त्यस घरभित्र नेपाली सामानहरुको संग्रहालय, हल, नेपाली रेष्टुराँ तथा २२ कोठा भएको नेपालको तराई, पहाड, मधेस झल्किने एउटा पाहुना घर रहनेछ । २० लाख अमेरिकी डलरको लागतमा बन्ने यो घरका धेरै सामग्री नेपालबाट आयात गरिएको हो । रुसमा यो घरको निर्माण हुन थालेपछि अष्ट्रेलिया, बेलायत, बेल्जियमलगायत अन्य देशमा बस्ने गैरआबासीय नेपालीहरुले पनि यस्तै साँस्कृतिक घरको निर्माण प्रक्रिया अगाडि बढाएका छन् ।
एनआरएनले निकै महत्वका साथ सम्मेलन गर्छ,  घोषणापत्र पनि जारी गर्छ, तर कार्यान्वयन भने निकै फितलो देखिएको छ नी ?
हामीले घोषणा गरेका धेरै कामहरु कार्यान्वयन भएका छन् । शुरुका दिनहरुमा हामीले अलि बढी उत्साहित भएर केही बढी नै घोषणाहरु गर्यौं कि जस्तो लाग्छ । तर पनि पुराना प्रतिबद्धताप्रति हामी निकै सचेत छौं । हालका दिनहरुमा सम्भाबनायुक्त र गर्न सकिने कुराहरु मात्रै घोषणा गर्ने गरिएको छ । अर्को कुरा, नेपालमा पनि एनआरएनको क्षमताभन्दा बढी नै आशा गरिएको हो कि जस्तो लाग्छ । पहिलो पुस्ताको डायास्पोरा भएकाले बिदेशको भुमिमा हामी आफैं स्थापित हुने प्रयासमा छौं । एउटै ब्यक्ति वा समुहबाट ठुलो लगानी गर्नसक्ने हैसियत अझै पनि हाम्रो बनिसकेको छैन । बिदेशमा कठिन अबस्थाका बाबजुद पनि मातृभुमिका लागि केही गर्नुपर्छ भन्ने दृढ सोचाई सबैतिर रहि आएको छ । यही सोचाईका कारण सामुहीक रुपमा अगाडि बढ्नुपर्छ भन्नेमा हामीले जोड दिइरहेका छौं ।
बिदेशमा नेपालीहरुको अवस्था अहिले कस्तो देख्नु हुन्छ ?
नेपालीहरु बिदेश जाने परम्परा त्यति पुरानो होइन । पछिल्लो २० बर्षमा ठुलो सख्यामा नेपालीहरु बिदेश जाने परम्परा सुरु भएको हो । त्यसभन्दा अघि बिदेश जाने नेपालीहरुको संख्या ज्यादै कम थियो । हाम्रो अनुमानित तथ्याङ्कअनुसार बिश्वका करिब ६० राष्ट्रमा ३० लाख गैरआबासीय नेपाली छन् । यो तथ्याङमा भुटान र भारतमा बस्ने नेपालीहरुको संख्या जोडिएको छैन् । गैरआवासीय नेपालीमा बैदेशीक रोजगारमा जानेको संख्या ठुलो छ । ब्रिटिस गोर्खा, एकेडेमिक लाइनमा कार्यरत नेपालीहरु, उद्यमी, ब्यबसायी, बहुराष्ट्रिय कम्पनीमा काम गर्ने नेपालीहरुसमेत यसमा पर्छन् । पछिल्लो समयको स्थिति हेर्दा बिदेशमा गएपछि सुरक्षित भबिष्यका लागि जागिर खानुपर्छ अर्थात उद्यमी बन्नुपर्छ भन्ने नयाँ पुस्ताका नेपालीहरुमा भावना बिकास भएको छ । फलस्वरुप बिदेशमा नेपालीहरुको सानातिना ब्यवसाय प्रशस्त खुल्ने क्रम अहिले बढेको छ ।  
एनआरएनलाई पहिले जसरी उत्साहजनक रुपमा लिन छाडिएजस्तो तपाईलाई लाग्दैन ?
मलाई त्यस्तो लाग्दैन । एनआरएनलाई नेपालमा योगदान दिनसक्ने ‘रियल फोर्स’ का रुपमा लिएको मैले अनुभव गरेको छु । एनआरएनको योगदान प्रतिबर्ष बढ्दैछ । एनआरएनको लगानीमा ठुला प्रोजेक्टहरु बन्ने क्रम पनि शुरु भएका छन् । सामुहीक लगानीमा योजनाहरु बन्न थालेका छन् । नेपालको अर्थतन्त्रलाई मजवुत बनाइराख्न यसको ठुलो भुमिका छ नै ।
एनआरएन ठुलाका लागि मात्रै भयो, खाडीमा श्रम–पसिना बगाउने श्रमिकका लागि भएन । उनीहरुको अधिकार र सुरक्षाका लागि कहिल्यै पनि राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा कडा रुपमा उठ्दैन भनेर आलोचना भइरहन्छ नि ?
बिदेशमा रहेका आधाभन्दा बढी नेपाली बैदेशिक रोजगारमा छन् । उनीहरुका मुद्दा नै हाम्रा प्रमुख मुद्दा हुन्  । बैदेशीक रोजगारीका मुद्दाहरुलाई सम्बोधन गर्न सन् २००५ मा कतारमा पहिलो क्षेत्रीय सम्मेलन भएको हो । त्यस बेला हामीले उठाएको श्रम सम्झौता, अनिबार्य बिमालगायतका कतिपय कुराहरु पछि कार्यान्वयन पनि भएका छन् । बैदेशिक रोजगारीमा ठूलो समुदाय संलग्न रहेकोले त्यो समुदायका ब्यक्तिगत समस्याहरु धेरै हुनु स्वभाबिक नै हो ।  हरेकको समस्या समाधान गर्न गाह्रो हुँदोरहेछ । तर पनि हामी प्रयास गर्छौ । प्रत्येक राष्ट्रिय परिषद्ले आफ्नो क्षमता बमोजिम यस्ता समस्या समाधान गर्ने प्रयास गरिनै रहेको छ । आपत बिपदमा परेकालाई सरसहयोग भइरहेकै छ । हामीले सधै बैदेशिक रोजगारीका समस्यालाई पहिलो प्राथमिकतामा राखेका छौं ।
हुन त एनआरएनकै पदाधिकारीले बैदेशीक रोजगारमा गएका कामदारलाई ठगी गरिरहेका घटना पनि सार्वजनिक भएका छन् । दुबई घोषणापत्रमा पनि यसलाई पुष्टि गर्दै एनआरएनको संस्थागत संरक्षणमा गैरकानुनी काम भएको भन्दै कारबाही गर्ने भनियो, के भएर त्यस्तो घोषणा गरिएको हो ?
दुबईमा यो कुरा उठेको हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय परिषद्मा आबद्ध केही साथीहरुले म्यानपावर कम्पनीमार्फत कामदारलाई धोका दिएको भन्ने कुरा यदाकदा सुन्नमा आएका छन् । म्यानपावर ब्यबसाय आफैमा खराब होइन, यो सेवा र उद्योग हो । तर, यो मुल्य–मान्यता र आचारसंहिताभित्र चल्नुपर्छ । कसैलाई धोका हुनुहुँदैन । यदि यो भएमा वा एनआरएनको संस्थागत संरक्षणमा भएमा छानबिन गर्छौ । प्रमाण भेटिए संस्थाको बिधानमुताबिक कारबाही गर्छौ । तर अहिलेसम्म औपचारिक रुपमा कारबाही गर्न हामीमा उजुरी आएको छैन् ।
तपाईहरुले कल्याणकारी कोष बनाउने कुरो पनि उठेको थियो, अहिले कहाँ पुग्यो ?
बिशेषगरी खाडी मुलुकमा यस्तो कोष खडा गर्ने काम भएको छ । तर यो कोष खडा गर्न त्यत्तिकै समस्याहरु रहेछन् । खाडी मुलुकहरुमा त्यसरी पैसा उठाउन कानुनी अड्चनहरु रहेछन् । त्यसले अप्ठ्यारो बनाइरहेको छ । तैपनि आपसी बिश्वासको भरमा राष्ट्रिय समन्वय परिषद अन्तर्गत केही फन्ड जम्मा गर्ने काम भइ नै रहेको छ । आमरुपमा भने यसलाई लैजान सकिएको छैन ।
एनआरएनलाई तपाईहरु ‘अभियान’ पनि भन्ने गर्नुहुन्छ, त्यो कसरी नि ?
यो एउटा जनजागरणको अभियान हो । ठुलो सख्यामा रहेको जनसमुदायलाई मातृभुमिप्रतिको कर्तब्यबाट बिमुख रहनुहुन्न भन्ने भाबना बिकास गराउने अभियान हो, यो । यो अभियानको अर्को सकरात्मक कुरो के हो भने पछिल्ला समयमा आफै केही गरौं भन्ने मानसिकता तथा उद्यमशिलतातर्फ नेपालीहरु आकर्षित भएका छन् । कामदारका रुपमा गएकाहरु रोजगारदातामा परिणत भएका छन् । जस्तो जर्मनीमा केही समयअघिसम्म नेपालीका ३/४ वटा मात्र रेष्टुराँ थिए । अहिले त्यहाँ एकसय ५० वटा नेपाली रेष्टुराँ खुलेका छन् । पहिला कुक, सेफको रुपमा गएका नेपालीहरु आज आफ्नै रेष्टुराँका मालिक भएका छन् ।
तपाईहरुको अभियान शुरु भएको आठ बर्ष भयो, यस अवधिमा उपलब्धीहरु के भए त ?
हामीबीच अन्तर्राष्ट्रिय नेटवर्क बन्यो । अहिले एक आपसमा बिश्वासको बाताबरण बनेको छ । नेपालमा एक्लै होइन सामुहीक रुपमा काम गरौं भन्ने भाबनाको बिकास भएको छ । सामाजिक तथा आर्थिक क्षेत्रमा केही लगानीहरु आएका छन् । यो त केबल सुरुवातमात्रै हो । यो सञ्जालको सही उपयोग गर्न सके धेरै काम गर्न सकिने सम्भावना मैले देखेको छु ।
तपाई विभिन्न मुलुक पुग्नु भएको छ, त्यहाँ रहेका नेपालीको मनोभाव पनि बुझ्नुभएको छ । उनीहरु बढी पलायनवादी प्रकृतिका देखिन्छन् कि स्वदेशमै केही गरौं भन्ने जोश छ ?
नेपालभन्दा बाहिर रहँदा यो देशप्रति माया झन बढ्दो रहेछ । धेरै नेपालीहरुमा केही समयपछि फर्कने गन्तब्य नेपाल नै हो भन्ने भावना रहेको मैले अनुभव गरेको छु ।  नेपालमा नै प्रशस्त रोजगारीका अबसर मिल्ने भए आफ्नो घरपरिवार, बालबच्चा छाडेर कमै मानिस सायद बिदेश जान्थे होलान् । बिदेशमा केही समय बसेपछि त्यहाँको अनुभबलाई उपयोग गर्दै केही साथीहरुले स्वदेशमा पनि त्यस्तै प्रकृतिका कामहरुको थालनी गरेको हामीले पाएका छौं । अहिले बिश्व नै एउटा सिंगो गाउँजस्तो भएको छ । इन्टरनेट र मोबाइल फोनले मानिसको जीबन पद्धतिलाई निकै सहज बनाईदिएको छ । बिहान टोकियोमा भएको मानिस साँझ न्युयोर्कमा डिनर खान पुग्न सक्छ । त्यसैले जहाँ अबसरहरु छन्, तिनको उपयोग गर्नुपर्यो । संसार भरिनै मानिसहरु अबसरको खोजी गर्दै हिडिरहेका छन् । ब्रेन ड्रेन भन्ने पुरानो मान्यता अब भत्किदै जान थालेको छ । नयाँ ठाउँमा सिकेको सिप, ज्ञान तथा एक्सपोजरले ब्रेन डेन होइन, ब्रेन गेन गराउँछ भन्ने मान्यता हामी राख्छौं ।

No comments: