जनगणनामा ५० प्रश्न

गणेश राई/काठमाडौ
          राष्ट्रिय जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागले ५० वटा प्रश्नावली तयार पारेको छ । जसमा २३ वटा पारिवारिक र २७ वटा व्यक्तिगत छन् । जनगणनालाई बढी वैज्ञानिक र नेपालको परिवेशअनुकूल प्रभावकारी बनाउन प्रश्नावली निर्माण गरिएको केन्द्रीय तथ्यांक विभागको दाबी छ ।

राष्ट्रिय जनगणा २०६८ का निम्ति निर्मित प्रश्नावलीमध्ये उनीहरूले व्यक्तिको नाम, थर, जाति, मातृभाषा, दोस्रो भाषा र धर्म प्रमुख ठानेका छन् । 'जनगणना जातीय पहिचानको सवाल पनि हो,' किराँत राई यायोक्खाका महासचिव चन्द्रविक्रम राईले भने, 'यति धेरै प्रश्नमध्ये पाँचवटा मात्र हाम्रो सरोकारको विषय मानेका छौं ।'

विभागले जनगणनालाई राज्य पुनसर्ंरचनाको आधार निर्माण गर्ने कडीका रूपमा पनि लिएको छ । त्यसमा जाति र भाषा आधार मानिएको छ । नेपाल आदिवासी जनजाति महासंघले जनगणनालाई 'मिथ्यांक' हुन नदिन केन्द्रदेखि स्थानीय तहसम्म सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको छ । 'अहिले पनि हामीले भनेजस्तो जनगणना हुन सकेको छैन,' सबै पक्षको चासो उत्तिकै रहेको उल्लेख गर्दै महासंघका अध्यक्ष राजकुमार लेखी थारूले भने, 'हामीले जाति, भाषा, धर्म स्पष्ट पार्न भनेका छौं ।'

देशभरि ८० जिल्ला जनगणना कार्यालय र साढे तीन सय इकाला जनगणना कार्यालय छन् । त्यसअन्तर्गत साढे आठ हजार सुपरीवेक्षक र ३४ हजार गणक खटाइएका छन् । स्थानीय तहमा जनजाति, दलित, अल्पसंख्यक मैत्री जनगणनाका निम्ति सम्बन्धित जातिको गणक हुनुपर्ने महासंघले भनेको थियो । राष्ट्रिय जनगणना २०५८ मा सशस्त्र द्वन्द्व थियो । जनगणना सुरु भएलगत्तै जेठ १९ गते दरबार हत्याकाण्ड भएको थियो । जसले गर्दा जनगणना प्रभावित बनेको थियो । द्वन्द्व प्रभावित क्षेत्रमा जनगणना लिन सकिएको थिएन । जसरी भए पनि दसौं राष्ट्रिय जनगणना पूरा गरियो । मुलुकको जनसंख्या २ करोड ३१ लाख ५१ हजार देखाएको छ । त्यसमध्ये ३७ दशमलव ८ प्रतिशत आदिवासी जनजाति छन् । यसअघि धर्मको महलमा हिन्दू, बौद्ध, क्रिश्चियन, किराँत र मुस्लिम उल्लेख थियो । यो पटक खुला राखिएको छ । 'धर्म, मातृभाषा, थरमा त्यति धेरै सजग छैन,' नागरिक पर्यवेक्षण समितिको तर्फबाट म्याग्दीको बेनीबजार पुगेका पर्यवेक्षक गोविन्द छन्त्यालले पहिलो दिनको अनुभव सुनाए ।
स्रोत:कान्तिपुर 

No comments: