कोइराला अप्ठ्यारोमा


पार्टीभित्र प्रधानमन्त्रीका दुई आकांक्षी देखिएपछि कांग्रेस सभापति सुशील कोइरालालाई पार्टी एकता बिग्रने डर

भावी प्रधानमन्त्रीका लागि कांग्रेसभित्र वरिष्ठ नेता शेरबहादुर देउवा र संसदीय दलका नेता रामचन्द्र पौडेल दुवैले आन्तरिक कसरत थालेपछि पार्टी सभापति सुशील कोइराला अप्ठ्यारोमा परेका छन् ।
पाँचबुँदेमा प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिने पनि उल्लेख भएपछि कांग्रेसभित्र देउवा र पौडेल दुवैले उक्त पदमा आफूलाई दाबी गर्दै 'लविङ' थालेका हुन् ।

सभापति कोइरालाले आफ्नो अप्ठ्यारोपनको संकेत शनिबार नेता देउवासँगको भेटमा गरेका थिए । भेटमा नेता देउवाले कोइरालालाई आफूलाई सहयोग गर्न प्रस्ताव राखेका थिए । कोइरालाले भने पौडेलसँगको कुराकानी गरेर आफैं सहमति जुटाउन सुझाव दिएका थिए । पौडेललाई मनाउनसके आफ्नो कुनै आपत्ति नहुने कोइरालाको तर्क थियो ।

शुक्रबार आफू पक्षीय सभासद भेला राखेर प्रधानमन्त्रीका लागि अघि बढेका देउवा शनिबार अपराह्न प्रधानमन्त्री झलनाथ खनालसँग भेटेर कोइरालासँग कुराकानी गर्न महाराजगन्जस्थित उनकै निवास पुगेका थिए । जिब्रोको परीक्षण गर्न आइतबारै अमेरिका जान लागेका कोइरालाले देउवासँग सहयोग/असयोगबारे केही नबोली सहमतिका साथ अघि बढ्न सुझाव दिए ।

पछिल्लोपटक पार्टीमा मुलुकभर छाएको एकता भत्केला भन्ने त्रासका कारण उनी दुवैको पक्षमा खुल्न चाहेका छैनन् । उपसभापतिमा पौडेल र महामन्त्रीमा कृष्णप्रसाद सिटौलालाई मनोनयन गर्ने प्रस्तावमा देउवाको सहयोगबाट सर्वसम्मत अनुमोदन गराएपछि सुरु भएको देशव्यापी जागरण अभियानले पार्टी एक भएको सन्देश दिएको थियो । कोइरालाले यस अभियानलाई आफ्नो कार्यकालको उपलब्धिको रूपमा लिएका छन् । 'कोइरालामा बल्लबल्ल स्थापित पार्टी एकताको सन्देश भत्केला भन्ने डर छ । त्यसैले पनि तत्काल प्रधानमन्त्री खनालले राजीनामा दिनुपर्छ भन्ने मुडमा उहाँ देखिनुहुन्न,' उनी निकट एक सदस्यले भने, 'शान्ति प्रक्रिया सहमतिअनुसार अघि बढेमा भदौ १४ पछि माओवादी नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने र त्यसमा कांग्रेस सहभागी हुने कुरा गर्दै आउनुभएको छ ।'

देउवा पक्षीय नेताहरू भने पदाधिकारी मनोनयन गर्दा भएको सहमति कार्यान्वयन गरिनुपर्नेमा जोड दिन थालेका छन् । तर त्यस्तो सहमति भए/नभएकोबारे कोइराला र देउवाले सार्वजनिक रूपमा मुख खोलेका छैनन् । शनिबार देउवा-कोइराला भेटमा केन्दीय सदस्य नरहरि आचार्यले ६ बँुदे समझदारीबारे जिज्ञासा राख्दा दुवै नेताले त्यस्तो सहमति नभएको बताए । 'बाहिर दुई नेताबीच ६ बुँदे सहमति भयो भनेर आएको छ । के हो भनेर मैले सोधेको थिएँ,' आचार्यले कान्तिपुरसँग भने, 'तर दुवैले लिखित र मौखिक कुनै त्यस्तो सहमति भएको होइन भनेर भन्नुभयो ।'

देउवाले आफू निकट सदस्य र सभासदहरूसँग भने पदाधिकारी अनुमोदनमा सहयोग गर्दा त्यस्तो सहमति भएको जानकारी गराएका थिए । देउवा पक्षीय केन्द्रीय सदस्य प्रकाशशरण महतले सहमतिकै आधारमा पदाधिकारी मनोनयन गर्दा सर्वसम्मत भएको बताए । 'विभाग र समितिसमेत मिलाएर जाने गरी दुवै पक्षका सदस्य रहेको कार्यदल बनाउने र सरकारको नेतृत्व गर्ने अवसर आएमा देउवालाई सहयोग गर्ने समझदारी भएको त्यतिबेला नै जानकारी गराइएको हो,' महतले कान्तिपुरसँग भने, 'कसैलाई झिक्ने फाल्ने भन्दा पनि त्यही समझदारीअनुसार सबैलाई सम्मान र ठाउँ दिनेगरी अघि बढ्नुपर्छ ।' देउवा पक्षीय सदस्यहरूले केन्द्रीय समिति र संसदीय दलको बैठकमा दुई नेताबीचको समझदारीलाई कार्यान्वयन गर्न जोडदार आवाज उठाउने तयारी गरेका छन् । पौडेलले भने संसदीय दलको नेताका हैसियतले आफू स्वाभाविक दाबेदार रहेको बताउँदै नछाड्ने संकेत दिएका छन् । उनले एमाले र माओवादीका केही समूहसँग आफ्नो पक्षमा सहयोग जुटाउन अनौपचारिक रूपमा वार्ता जारी राखेका छन् ।

देउवालाई उनी पक्षका सदस्यहरूले पौडेलले नछाडे संसदीय दलको नेताबाट हटाउन लाग्नुपर्ने सुझावसमेत दिएका थिए । तर देउवाले त्यसो नगरी सभापति कोइरालामार्फत नै पौडेललाई सहमतिमा ल्याउने प्रयास गर्ने जवाफ दिएका थिए ।

केन्द्रीय सदस्य आचार्य प्रक्रियाअनुसार सदस्यीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था रहे पनि आफ्नो पार्टीको बहुमत नरहेको अवस्थामा अर्को व्यक्तिले नेतृत्व लिँदा केन्दीय समितिले निर्णय गर्नुपर्ने बताए ।

देउवाले कोइरालासँगको भेटमा पौडेल सत्रौंपटकसम्म चुनाव लडेर पराजित भइसकेकाले अब आफ्नो पालो भएको तर्क गरेका थिए । सर्वसम्मत रूपमा आफूलाई अघि बढाएमा राष्ट्रिय सहमतिको सरकार बन्न सक्ने प्रवल सम्भावना देखिएको दाबी उनले गरेका थिए । तर कोइरालाले बाहिर नकारात्मक सन्देश जाने कुनै गतिविधि नगर्न देउवासँग आग्रह गरेका थिए । 'भेला बोलाएर आफ्नै ढंगले लाग्दा राम्रो सन्देश जाँदैन' कोइरालाको जवाफ थियो, 'तपाईं आफैँ रामचन्द्रजीसँग कुरा गरेर सहमति खोज्नुहोस् ।'
साभार - इ. कान्तिपुर

No comments: