हेलो नेपालको ५ मेगाहर्ज फ्रिक्वेन्सी रद्द गरिने


नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल) ले कोड डिभिजन मल्टिपल एक्सेस (सीडीएमए) सेवाका लागि लिएको ५ मेघाहर्ज फ्रिक्वेन्सीको स्वीकृति रद्द हुने भएको छ । ०६५ वैशाख २४ मा कम्पनीले लिएको यो फ्रिक्वेन्सी हालसम्म सेवा सञ्चालन नभएको र कुनै प्रक्रियासमेत अगाडि नबढेपछि स्वीकृति रद्द गर्न दूरसञ्चार प्राधिकरणले चौथो पटक पत्राचार गरेको छ ।

यसअघि गरिएका पत्राचारको कम्पनीले बेवास्ता गरेपछि प्राधिकरणले चौथो पटक जेठ १७ मा पुनः पत्र काटेको हो । रेडियो फ्रिक्वेन्सी वितरण विनियमावली २०६६ को विनियम ६ बमोजिम फ्रिक्वेन्सी लिई दुई वर्षभित्र सेवा उपलब्ध नगराएमा रद्द गर्न सकिने प्रावधान छ ।

कम्पनीले ०६५ वैशाख २४ मा सीडीएमएको फ्रिक्वेन्सी स्वीकृति लिएको हो । सोही बमोजिम प्राधिकरणले सेवा सञ्चालन नभएको र सञ्चालनका लागि कुनै प्रक्रिया पनि अगाडि नबढेको पाएपछि सीडीएमए ८०० ब्यान्डमा दिइएको ५ मेगाहर्ज फ्रिक्वेन्सी रद्द गर्न पत्राचार गरेको जनाएको छ ।

प्राधिकरणले सेवा सञ्चालन नगरी ओगटेको फ्रिक्वेन्सी रद्द गर्नु नपर्ने कुनै आधार, औचित्य र प्रमाण भए पत्र काटेको सात दिनभित्र पेस गर्न आदेश दिएको थियो । तर, चौथो पटक काटेको पत्रको मंगलबार समयसीमा सकिए पनि हेलो नेपालले कुनै प्रतिक्रिया दिएको छैन ।

पटक–पटक पत्र काटी प्रमाण पेस गर्न आदेश दिँदा पनि प्रतिक्रिया नजनाएपछि स्वीकृति रद्द गर्नुको विकल्प नभएको प्राधिकरणका अधिकारीहरुले बताए ।

हेलो नेपालले सीडीएमए ८०० ब्यान्डमा ५ मेगाहर्ज, ग्लोबल सिस्टम मोबाइल (जीएसएम) को ९०० ब्यान्डमा ४.४ मेगाहर्ज र १८०० ब्यान्डमा ९ मेघाहर्ज गरी जम्मा १८.४ मेगाहर्ज फ्रिक्वेन्सी लिएको छ । जीएसएम सेवाका लागि लिएको फ्रिक्वेन्सी पनि सबै प्रयोग नभएको प्राविधिकहरुले बताएका छन् ।

हालै फ्रिक्वेन्सी नीति निर्धारण समितिले ग्राहक र आम्दानीका आधारमा फ्रिक्वेन्सी वितरण गर्न र सेवा सञ्चालन नगरी ओगटेको फ्रिक्वेन्सीको चार गुणा बढी शुल्क लिन निर्देशन दिएको छ । आगामी साउन १ देखि लागू हुने ‘दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी नीति २०६८’ मा ओगटेका फ्रिक्वेन्सी फिर्ता लिई लिलाम बढाबढमा वितरण गर्ने व्यवस्था छ ।

हाल कम्पनीले झन्डै १ करोड लाइन सेवा विस्तार गर्न पुग्ने फ्रिक्वेन्सी ओगटेको छ । दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी नीति २०६८ मा ५ मेगाहर्ज फ्रिक्वेन्सी लिन न्यूनतम २५ लाख ग्राहक र ९ अर्ब रुपैयाँ आम्दानी हुनुपर्ने मापदण्ड तोकेको छ ।

कम्पनीले हालसम्म सीडीएमए सेवाका लागि लिएको फ्रिक्वेन्सीको दस्तुरसमेत बुझाएको छैन । फ्रिक्वेन्सी धेरै लिँदा सेवाको गुणस्तर राम्रो हुने भएकाले सेवा प्रदायक कम्पनीहरुले आवश्यकताभन्दा धेरै फ्रिक्वेन्सी होल्ड गर्दै आएका छन् । तर, हालै बनेको नीतिले भने ग्राहक र आयलाई आधार मानेको छ ।

हेलो नेपालले प्राधिकरणबाट ०६४ चैत ५ गते सेवा सञ्चालनको अनुमति प्राप्त गरेको हो । कम्पनीलाई मध्यपश्चिमाञ्चल विकास क्षेत्रका दूरसञ्चार सेवा नपुगेका २ सय ७३ गाविसमा सेवा प्रदान गरिसकेपश्चात् देशका बाँकी अन्य स्थानमा सेवा विस्तार गर्न पाउने सर्तमा अनुमति पत्र दिइएको छ ।

प्राधिकरणले हालसम्म अन्य ग्रामीण दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट र एसटीएम टेलिकम सञ्चार प्रालिलाई सहरमा सेवा विस्तार गर्न पाउने बाटो खुला गरेको छैन ।
साभार : नया पत्रिका

No comments: