प्रहरी महानिरीक्षक ठकुरी सुटुक्क गए अख्तियारमा

काठमाडौ, जेष्ठ २ -

नेपाल प्रहरीका महानिरीक्षक रमेश चन्द ठकुरी सोमबार बिहान सुटुक्क अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन गएका छन् । आयोग श्रोतका अनुसार महानिरीक्षक ठकुरीको बयान नथालिएकै कारण आयोग यो प्रकरणमा अन्तिम निष्कर्षमा पुग्न सकेको छैन । बिहान ८ बजेर २० मिनेटमा टंगालस्थित आयोग परिसर छिरेका ठकुरी पौने ११ बजे निस्केका थिए ।

सुनौलो तीन तारा भएको निलो गाडीमा झण्डा फहराउदै हिडने चन्द आयोग जाँदा रातो नम्बर प्लेटको गाडीमा गएका थिए । उनले पोशाक पनि प्रहरी महानिरीक्षकको नलगाई सामान्य लगाएका थिए ।

समाचार श्रोतका अनुसार महानिरीक्षक ठकुरीको आग्रहमा आयोगका पदाधिकारीहरुले उनलाई बिहान बयान लिने व्यवस्था मिलाइए दिएका थिए । कार्यालय समयमा बयान दिन जाँदा सन्चारकर्मीहरुले पछ्याएर हैरान गर्ने भएकाले ठकुरीकै आग्रहमा आयोगका सचिवले चन्दलाई बिहान बयान लिने व्यवस्था गरिदिएका थिए ।

नेपाल प्रहरीको कल्याणकोषबाट गरिएको साढे ४१ करोडको खरीद प्रक्रियामा ३० करोड बढी घोटला भएको ठहर संसदको राज्यव्यवस्था समितिले गरेको छ । सुडान प्रकरणमा बयान दिने महानिरीक्षक ठकुरी अन्तिम उच्च प्रहरी अधिकृत हुन् । ठकुरी महानिरीक्षक भएपछि अधिल्लो आईजीपी ओमविक्रम राणाले गरेको बुक फोर्स लोनका आधारमा दुई पटक भुक्तानी भएको थियो । आयोगले महानिरीक्षक ठकुरीलाई सुडानमा पठाउने सामाग्रीमा घोटला भएको सूचना पाएपछि त्यसको भुक्तानी रोक्न तपाईले के कदम चाल्नु भयो ? भनी आयोगले जिज्ञासा राखेको थाहा भएको छ ।
साभार - इ. कान्तिपुर

No comments: