थप दस सभासद् रातो पासपोर्ट दुरुपयोगको अनुसन्धान घेरामा

सुरेन्द्र पौडेल, काठमाडौं, जेठ २- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुटनीतिक राहदानी दुरुपयोग गरेको सम्बन्धमा थप १० जना सभासदमाथि अनुसन्धान थालेको छ। नेपाल जनता दलकी सभासद् गायत्री साह र मधेसी जनाधिकार फोरम नेपालका बिपी यादवले कुटनीतिक राहदानी दुरुपयोग गरेसम्बन्धमा अख्तियारले थालेको अनुसन्धान क्रममा थप दस सभासदको नाममा रहेको कुटनीतिक राहदानी पनि दुरुपयोग भएको भेटिएको हो।



‘साह र यादवबाहेक थप १० सभासद्ले आफ्नो कुटनीतिक राहदानी दुरुपयोग गरेको प्रमाण अनुसन्धानका क्रममा भेटिएको छ,' अख्तियार स्रोतले नागरिकलाई भन्यो, ‘राहदानी दुरुपयोगमा संलग्न सबै सभासद्माथि अनुसन्धान भइरहेको छ।'
अख्तियार स्रोतका अनुसार अनुसन्धान दायरामा रहेका थप १० सभासदमा मधेसी जनाधिकार फोरम नेपालका रामसहायप्रसाद यादव, रम्भा देवी, शिवपुजन राय यादव, सल्मा खातुन मिकरानी, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका करिमा बेगम, सञ्जयकुमार साह, निलम वर्मा, आशाकुमारी सरदार र नेकपा एमालेका नारदमुनि राना र प्रकाश पाख्रिन छन्।

सभासद्हरू रामप्रसाद यादव, रम्भा देवी, करिमा बेगम, शिवपुजन राय यादव, सल्मा खातुन मिकरानी र सञ्जयकुमार साहको राहदानी उपलब्ध गराउन अख्तियारले गत साता संसद सचिवालयसँग अनुरोध गरेको थियो। थप ४ सभासद्को राहदानी पनि उपलब्ध गराउन यसै साता सचिवालयसँग अनुरोध गरिने स्रोतले बतायो।

अख्तियारकै आग्रहमा संसद सचिवालयले गत साता नै छ सभासदलाई आफ्नो कुटनीतिक राहदानी सचिवालयमा ल्याउन भने पनि आइतबारसम्म कसैले पनि उपलब्ध नगराएको स्रोतले बतायो।

‘राहदानी दुरुपयोगमा १२ जना सभासद जानीजानी संलग्न देखिन्छ,' अख्तियार स्रोतले भन्यो, ‘दलाल, सभासद र अध्यायगमनका कर्मचारीको मिलेमतोमा राहदानी खरिदबिक्री भएको देखिएको छ।'

अख्तियारका अनुसार आफूलाई असाक्षर भन्ने र हस्ताक्षरको ठाउँमा ल्याप्चे लगाउने सभासद्ले आश्चर्यलाग्दा सम्मेलनमा भाग लिन राहदानी लिएका छन्। स्रोतले भन्यो, ‘ज्ञाताले समेत बुझ्न गाह्रो हुने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन लेखपढै नजान्ने सभासद्ले राहदानी लिएका छन्, संसद सचिवालयले त्यस्ता कार्यक्रमका लागि परराष्ट्रलाई भिसा नोट लेखिदिन पत्र पठाएको छ भने परराष्ट्रले पनि तुरून्तै सघाएको छ।'

मुद्दा खेपिरहेकी सभासद् साहले अन्तर्राष्ट्रिय सम्मेलनमा थाइल्याण्ड जान २०६५ असोज १०, द कम्युनिटी पार्टीको निम्तोमा बेलायत जान २०६६ असोज ८ र अस्ट्रेलिया जान २०६६ कात्तिक २५ गते गरी ३ पटक हस्तलिखित कुटनीतिक राहदानी लिएको र नवीकरण गरेको संसद सचिवालयको तथ्यांकले देखाउँछ।

बिपीले भने २०६५ असोज २७ गते इटालीमा आयोजित सम्मेलनमा भाग लिन र २०६७ असोज १८ गते अस्ट्रेलिया र क्यानडा जान रातो पासपोर्ट लिएका थिए।

उनीसँगै एउटै कार्यक्रममा क्यानडा र अस्ट्रेलिया जान सभासद्द्वय सल्मा खातुन मिकरानी र रम्भा देवीलाई पासपोर्ट उपलब्ध गराइदिन संसद सचिवालयले परराष्ट्रलाई पत्र लेखेको थियो। यसबाहेक खातुनले २०६५ असोज ६ गते र २०६६ असोज ९ गते बेलायत जान सचिवालयसँग भिसा र राहदानीका लागि पत्र लेख्न लगाएकी थिइन्।

अनुसन्धानमा रहेका अन्य सभासद्मध्ये करिमा बेगमले २०६५ असार ३० गते दक्षिण अफ्रिका जान, शिवपुजन राय यादवले २०६५ भदौमा बेलायत जान, सञ्जयकुमार साहले २०६५ भदौ ३ गते अन्तर्राष्ट्रिय उड्डयन सम्मेलनमा सहभागी हुन इटाली जान, नारदमुनि रानाले २०६५ भदौ २ गते भारत जान, निलम बर्माले अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन रोमानिया तथा इटाली जान र आशाकुमारी सरदारले २०६५ भदौ ३१ र २०६६ असोज ९ गते द कम्युनिटी एक्सन पार्टीको निम्तोमा बेलायत जान राहदानी लिएको सचिवालय तथ्यांकमा देखिन्छ।

अध्यागमन कर्मचारीले सघाए

सभासद्द्वय गायत्री साह र बिपी यादवको राहदानीमा अस्टे्रलिया जाँदै गरेका पृथ्वी छन्त्याल र सीता साहलाई अन्तर्राष्ट्रिय विमानस्थलको अध्यायगमनमा त्यहींका कर्मचारी जितबहादुर मडैले सघाएको अख्तियार स्रोतले जनाएको छ। उनी अध्यागमनमा वरिष्ठ सहायक (सुब्बा) छन्।
अख्तियार स्रोतले भन्यो, ‘उनलाई यस कार्यमा अध्यागमनका अन्य कर्मचारीले पनि सघाएका छन्।'

छन्त्याल र साहलाई अस्ट्रेलिया जाने क्रममा अवुधाबी विमानस्थलबाट फिर्ता पठाएपछि उनीहरू अध्यायगमन कर्मचारीको सहयोगमा त्रिभुवन विमानस्थलबाट बाहिरिएका थिए। उनीहरूलाई सघाएकामा अध्यागमनका सहसचिव तथा प्रमुख अध्यागमन अधिकृत खडानन्द ढकाल, शाखा अधिकृत भुमिनन्द भण्डारी, श्यामबाबु भण्डारी, इन्द्र सुनुवार र नासु देवीदत्त खत्रीमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ।
साभार : नागरिक न्युज

No comments: