२०२२ को विश्वकपका लागि फेरि मतदान हुनसक्ने

जुरिच/ अन्तर्राष्ट्रिय फुटबल महासंघ -फिफा) का अध्यक्ष सेप ब्लाटर अहिले कठिन समयबाट गुजि्ररहेका छन् । कतारी नागरिक मोहम्मद बिन हमामविरुद्ध आगामी फिफा अध्यक्षको चुनावमा होमिएका ब्लाटरलाई त्यही कतारलाई २०२२ को विश्वकप आयोजना सुम्पिँदा भएको भ्रष्टाचारले पनि टाउको दुखाइ रहेको छ ।


सन्डे टाइम्सको खुलासाअनुसार कतारलाई विश्वकपको आयोजना सुम्पिँदा फिफाका दुई मतदाताले जनही डेढ करोड अमेरिकी डलर घुस खाएका थिए । सो खुलासालगत्तै फिफाले सो सम्बन्धमा आइतबारदेखि छानबिन पनि सुरु गर्ने भएको छ । कतारले २०२२ को आयोजनाका लागि राम्रै मत पाए पनि फिफाभित्रै सो आयोजनाका लागि फेरि मतदान गर्नुपर्ने आवाजसमेत उठिरहेको छ । फिफामा उठेका आवाज सुरु असान्दर्भिक मानिए पनि ब्लाटर स्वयंले पुनर्मतदान असम्भव नरहेको बताएका छन् ।

ब्लाटर भन्छन्, 'यो विचार अहिले विश्वभरि नै उठाइरहिएको छ, तर मलाई अहिले नै पुनर्मतदान हुन्छ कि हुँदैन भनेर नसोधौँ । सबै कुरा क्रमबद्ध रूपमा अगाडि बढ्छन् । हामी अहिले नै के होला भन्न सक्दैनौँ ।' फिफा मुख्यालयमा पत्रकारसँग कुराकानी गर्दै ब्लाटरले भने, 'हामी भ्रष्टाचारको विषयका प्रमाणहरूको प्रतीक्षामा छाँै तथा प्रमाण हात लागेपछि उचित कदम चाल्छौँ ।'

'हामी एउटा संस्था हौँ तथा पत्रिकामा छापिएको समाचारले हाम्रो ध्यान सो विषयमा तानिएको छ । अब हामी त्यस विषयमा छानबिन गर्छौँ ।' फिफाका पदाधिकारीहरूका अनुसार ब्लाटरले सो विषयलाई हलुका रूपमा नलिने बताएका छन् ।
साभार : नया पत्रिका

No comments: