विद्यार्थी भर्ना अभियान

रामचन्द्र अधिकारी

सकेसम्म बढी विद्यार्थीलाई विद्यालयमा भित्र्याउने उद्देश्यले सरकारले अहिले भर्ना अभियान सञ्चालन गरिरहेको छ । पाँचदेखि १४ वर्षसम्मका बालबालिकालाई लक्षित गरी चलाइएको भर्ना अभियान वैशाख महिनाभरि रहने सरोकारवाला निकायले जनाएको छ । यसो भन्दैमा भर्नाको ढोका अरू केही समय बन्द नहोला ।



वैशाखको सुरुदेखि नै सुरु गरिएको भर्ना अभियानको उपलब्धि के कति भयो भन्ने कुराको लेखाजोखा गर्ने बेला भएको छ । विद्यार्थीलाई विद्यालय ल्याउन के कस्ता पहल गरिए र कस्ता कार्यक्रम चलाइए भन्ने कुराको निन्दा गर्नुपर्दछ ।

सरकारले सञ्चालन गरेका सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण क्रमशः घटिरहेको छ । सङ्ख्या र गुणस्तर दुवै कमजोर भइरहेको अनुभूत गरिँदैछ । यस्तै अवस्था रहिरहने हो भने विद्यालयका ढोका सँधैका लागि बन्द नहोला भन्न सकिन्न । यद्यपि सरोकारवालाहरूले प्रयास गरेका पनि होलान् । तथापि शिक्षाको गुणस्तरमा सुधार नआएकाले यसबारे अझै प्रयास गर्नु जरुरी छ ।

शिक्षाको गुणस्तरको सबैभन्दा महìवपूर्ण भूमिका शिक्षकको हुन्छ । शिक्षकहरूले जागिर पकाउने उद्देश्य नराखी राम्रो पढाउनु पर्छ र पूरा कर्तव्य निर्वाह गर्नुपर्दछ । जब पूरा समय नठगी काम गरिन्छ भने परिणाम अवश्य पनि सकारात्मक हुनेछ । उत्कृष्ट परिणाम देखिएपछि विद्यार्थी स्वतः विद्यालयतिर आकषिर्त हुन्छन् । प्राय अहिलेको स्थिति कस्तो छ भने अधिकांश शिक्षकले पूरा समय पढाउँदैनन् भन्ने गुनासो प्रधानाध्यापकको अनुपस्थितिमा काममा असाध्यै लापरबाही देखिन्छ । सरकारी विद्यालयका प्रायः श्ािक्षक आफ्नो कर्तव्यमा निष्ठावान् छैनन् । उनीहरू स्वयंलाई महसुस भएकै हुनुपर्छ कि विद्यालयमा के कति कर्तव्य निर्वाह गरिँदैछ । आदि भनाइ पनि त्यति नै सुनिँदैछ ।

दोस्रो पक्ष के छ भने अचेल अङ्ग्रेजी भाषाको जमाना छ । अङ्ग्रेजी बोल्न र लेख्न जानेको छ भने संसारको कुनै पनि कुनामा गरी खान सकिन्छ भन्ने आमधारणा छ । वास्तविकता यो होइन भन्न पनि सकिन्न । अङ्ग्रेजीकै लागि अभिभावकले नानीहरूलाई अङ्ग्रेजीमा पढाइ गरिने संस्थागत विद्यालयमा पढाउँछन् । त्यसो गर्दा अभिभावकले ठूलो आर्थिक भार बेर्होर्नु पर्नेहुन्छ । गरिब अभिभावकलाई यस्तो कुराले निकै प्रभाव पारिदिन्छ । त्यसो हुनाले अब सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमा नै पढाएमा झन् राम्रो हुनेथियो । यो योजना लागू गर्नलाई कुनै कुराले समस्या उत्पन्न गर्दैन । सामुदायिक विद्यालयमा विद्यार्थी तान्ने अर्को उपाय छ- टाइसुट । जमाना देखाउने खालको छ । बालबालिकामा एउटा यस्तो मानसिकताको विकास भएको छ कि टाई र पेटी कसेर विद्यालय जानुको शान बेग्लै आनन्द लाग्दो छ । सामुदायिक विद्यालयमा यसप्रकारको युनिर्फम कमै पाइन्छ । सबै सामुदायिक विद्यालयले टाई र बेल्टको प्रयोग गराएमा विद्यार्थीको मन तानिने देखिन्छ ।

बालबालिकालाई विद्यालयमा रत्याउन, विद्यालय आउने बानी लगाउन, विद्यालय पि्रय बनाउन पनि शिक्षकहरूकै भूमिका सर्वोपरी हुन्छ । सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थीबीचको दूरी निकै लामो छ तर संस्थागतमा यो दूरी कम भएको पाइन्छ । अझ सानो कक्षामा त लगभग घरकै वातावरण र घरकै जस्तो मायाप्रेम देखाइन्छ । फकाइफुल्याइ गरिन्छ, मिठाइ र खेलौना दिइन्छ । यस्तो काम सामुदायिकले पनि गरेको खण्डमा किन बालबालिकाले मन अर्कातिर बटार्थे र । साना कक्षाहरूमा पढाउने शिक्षकहरूमा विशेष शिक्षण विधिको आवश्यकता पर्दछ । विद्यालयका शिक्षकहरू यसकलामा निपूण छन् । उनीहरूले ज्ञानलाई व्यवहारमा उतारे विद्यार्थी तान्न बेर लाग्दैन ।

विद्यालयको भौतिक वातावरण एउटा प्रमुख पक्ष हो जसले विद्यार्थीलाई आकर्षण या विकर्षण गर्ने भन्ने कुरा निर्धारण गर्दछ । परिसरमा उपयुक्त सरसफाइ, शौचालयको प्रबन्ध, खानेपानी चमेनागृह आदि सुविधा प्रदान गर्नु पर्दछ । यी कुनै असम्भव सामग्री होइनन् । सरसफाइ राम्रो छैन, विद्यार्थीको शारीरिक सरसफाइको मूल्याङ्कन गरिँदैन भने विद्यालयप्रति मानिसको विकर्षण हुनेमा दुईमत छैन । ठूला कक्षामा बीचैमा पढाइ र विद्यालय छोड्ने समस्या विकराल रूपमा स्थापित भएको छ । यसका पछाडि विभिन्न कारण छन् । ती कारण पत्ता लगाएर समाधानको उपाय शिक्षकहरूको अगुवाइमा गर्नुपर्दछ । विद्यालयमा बालबालिका ल्याउन र अड्याएर राख्नमा पनि मुख्य भूमिका शिक्षककै हो । उनीहरूको व्यवहार, उदारता, लगनशीलता, अभिमुखीकरण र शीलस्वभावले अमूल्य भूमिका खेल्दछ ।

सामुदायिक विद्यालयमा देशी मात्रै होइन अन्तरर्राष्ट्रिय लगानी पनि छ । अनेक प्रकारका छात्रवृत्तिको व्यवस्था गरिएको छ तर विडम्वना कतिपय विद्यालयमा कस्तो पाइन्छ भने सुविधा विद्यार्थीलाई वा अभिभावकलाई नै पनि थाहा हुँदैन कि कुन र कस्तो अनि कति रकमको सुविधा हो भनेर । छात्रवृत्तिको रकम, पुस्तकको रकममा अनियमितता छैन भन्ने अवस्थै छैन । तसर्थ असली विद्यार्थीलाई छात्रवृत्ति दिलाएर पनि सामुदायिक विद्यालयमा आकर्षण थप्न सकिन्छ । उल्लिखित कार्यहरू गरेमा भर्ना अभियानलाई सफल पार्न पञ्चैबाजा बजाएर, ब्यानर बोकी, नाचगान गर्दै गाउँ घुमिरहनै पर्दैन ।
साभार - गोरखापत्र

No comments: