सन्तोष पोखरेल, पोखरा, वैशाख २८- क्षत्री समाज नेपालले आह्वान गरेको पश्चिमाञ्चल बन्दले १२ कक्षाको परीक्षा दिन हिँडेका विद्यार्थी सबैभन्दा बढी प्रभावित भएका छन्। परीक्षा दिन हिँडेका विद्यार्थीहरुले बन्दले सास्ती खेप्नुपरेको भन्दै आक्रोश व्यक्त गरेका थिए।
‘परीक्षा दिनका लागि बिहानै एकघण्टा भन्दा बढी समय हिँड्नुपर्यो' परीक्षा दिएर फर्केकी छात्रा रजनी गुरुङले भनिन्।
बन्दले पश्चिमाञ्चलका गण्डकी, धवलागिरी र लुम्बिनी अञ्चलका जिल्ला प्रभावित छन्। यातायात, शिक्षणसंस्था, कलकारखाना, बजार बन्द भएका छन्। बजारको भित्री खण्डमा केही पसल खुलेपनि बाहिरी बजार सबै ठप्प भएका छन्। बन्दले यहाँबाट संचालन हुने लामो तथा छोटो दुरीका सवारी साधन चल्न पाएका छैनन्।
बन्दको आह्वानमा बिहानैदेखि पोखराको चोकचोकमा बसेका क्षत्री समाजका युवा तथा समर्थकले सवारी चेकजाँच गरेका थिए। उनीहरुले एम्बुलेन्स, प्रेस, पर्यटकवाहक लगायतका अत्यावश्यक सवारीलाई निर्वाध चल्न दिएका छन्।
निर्धारित समयमा संविधान जारी गर्नुपर्ने, जाति, धर्म, भाषाका आधारमा राज्यको पुर्नसंरचना गर्न नपाउने, क्षत्रीलाई आदिवासी जातीमा सुचिकृत गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रनुपरेको क्षत्री समाजका केन्द्रीय महासचिव कुमार खड्काले बताए।
उनले जातीय आरक्षण खारेज गरी वर्गीय आरक्षणको व्यवस्था गर्नुपर्ने बताए। राज्यको हरेक अंग र तहमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने बताए।
साभार - नागरिक समाचार

No comments:
Post a Comment