खेलकुदको जनवादी 'हित;


'यो संक्रमण कालमा देखिएको अनिश्चितताभित्रको अनिश्चितता हो।' बुधबार विस्तार गरिएको झलनाथ खनाल नेतृत्वको मन्त्रिपरिषदका बारेमा बिहीबार एक जना माओवादी कार्यकर्ता भन्दै थिए। मन्त्रिमण्डल विस्तारको खबरसँगै नेपाली खेल जगतले केही मात्रामा भए पनि बाटो पहिल्याउने आशा गरेको थियो। किनभने यस पटकको विस्तारमा देशले हितबहादुर तामाङका रूपमा खेल मन्त्री पनि पाएको छ। तर विस्तारसँगै सत्तारुढ दलमा देखिएको विवादले भने यसको स्थायित्वमै शंका उत्पन्न भएको छ।

विशेषगरी नेकपा (एमाले) र एनेकपा (माओवादी)मा मन्त्री चयनका कारण उत्पन्न विवादले यस्तो शंका उत्पन्न भएको हो। एमालेका कार्यकर्ताले केही समयअगाडि खेल मन्त्रालय आफ्नो दलले राख्नुपर्ने माग सार्वजनिकरूपमा गरेबाहेक यस मन्त्रालयप्रति कसैले खासै चासो राखेको देखिएको छैन। त्यही माग पनि खेलको विकासका लागि नभई नेपाली खेल जगतमा देखिएको वर्तमान विवाद आफ्नै हातमा डाडु भएपछि आफू अनुकूल बनाउन सजिलो होस् भनेर गरिएको आरोप लागेको थियो। त्यसैले अहिलेको राजनीतिक असन्तुष्टिबाट तत्कालै अर्को समीकरण निर्माण भए खेलकुद मन्त्रालय कुनै अर्को दलको पोल्टामा उछिटिट्न सक्नेछ।
माओवादीभित्र वौद्धिकमध्येमा मानिने मन्त्री तामाङप्रति नेपाली खेलकुद अन्योलग्रस्त र आशान्वित रहेको छ। किनभने 'जनयुद्ध'र त्यसपछिको समयमा सार्वजनिक भएकामध्ये वर्तमान खेलकुद मन्त्रीको नाम नेपाली राजनीतिमा उति सारो चल्तीमा थिएन। यसैले उनका विषयमा अन्योलमा पर्नु स्वाभाविकै हो।

खेललाई संसारभर प्राविधिक क्षेत्र मानिन्छ। तर नेपालमात्र यस्तो मुलुक हो जहाँ कसैलाई खेल क्षेत्रको जिम्मा दिँदा यसको प्राविधकपनमा कत्ति पनि ध्यान पुर्‍याइँदैन। परिणामस्वरूप खेल जगत हरेक पटक आफ्नो विकासका लागि भनेर अर्को विस्तृत योजनाका लागि व्यस्त हुनुपर्छ। नयाँनयाँ नारा र भाषण, अनि वाचाको सूची तयार पार्नुपर्छ।

नेपाली खेल जगतमा सुधार नहुनुको अर्को कारण यसले स्वतन्त्र अस्तित्व नपाउनु पनि हो। यो कहिले शिक्षा, कहिले युवा त कहिले युवा र संस्कृतिसँग जोडिँदै आएको छ। परिणामस्वरूप हरेक पटक आफू जोडिएको मन्त्रालयको सेपमा पनि पर्दै आएको छ। त्यसको अर्को कारण मन्त्रालय गठन गर्दा खेलकुदभन्दा पनि त्यससँगै रहेको अर्को मन्त्रालयप्रति बढी चासो हुनु हो। खेलकुद मन्त्रालयका सम्बन्धमा मन्त्रीले कुनै व्यक्ति वा कार्यकर्तालाई नेपाली खेलकुदको प्रमुख निकायका रूपमा रहेको राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव तोकेर आफ्नो काम सकिएको ठान्दै आएका छन्। त्यसपछि खेल क्षेत्रमा उनीहरूको चासो कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा पुरस्कार वितरण गर्नमा सीमित रहँदै आएको छ।

नवनियुक्त मन्त्रीले खेलकुदलाई कुन रूपमा कसरी बुझेका छन् भन्ने जानकारी भइसकेको छैन। हुनत, अहिलेसम्मको स्थितिलाई हेर्दा खेल मन्त्रालय सम्हाल्न यसलाई बुझ्नैपर्ने आवश्यकता देखिएको पनि छैन। यो त दल र व्यक्तिगत स्वार्थका लागि मात्र प्रयोग हुँदैआएको छ।

मुलुक र जनताको नाममा राजनीति गर्दै आएको माओवादीका मन्त्रीले पनि त्यही शैली र परम्परालाई निरन्तरता दिनेछन् भनिहाल्न मिल्दैन। किनभने दलगत स्वार्थलाई अगाडि राखेरै पनि खेल क्षेत्रको विकास सम्भव हुने दलभित्र वौद्धिक मानिएका तामाङले बुझेकै हुनुपर्छ। देशमा खेेल क्षेत्रमा लागेका बालबालिका, किशोर र युवाको संख्या लाखौँमा छ। उनीहरूमा निहित प्रतिभाले परिष्कृत हुने अवसर पाए यस क्षेत्रप्रति युवा वर्गको सोचले सकारात्मक मोड पाउन सक्नेछ। त्यसको सकारात्मक असर नेपाली खेल जगत, खेल मन्त्रालय र दलमा पनि पर्नेछ। तर यस्तो फाइदा भने दीर्घकालीन हुन्छ। त्यसका लागि योजनाबद्धरूपमा अगाडि बढ्ने धैर्य चाहिन्छ। आजसम्म त सबैले कार्यकर्ता भर्ती र नेता तथा कार्यकर्तालाई विदेश सयर गराउन खेल क्षेत्रको दुरुपयोग गरेर छोटो बाटो अवलम्बन गरेको उदाहरण छ।

त्यस्ता विसंगतिबाट खेल जगतलाई जोगाउनु वर्तमान मन्त्रीको पहिलो चनौती हुनेछ। त्यसबाहेक युवासँगै जोडिएको खेल मन्त्रालय विगतमा जस्तै छायाँमा पर्नबाट रोक्न उनी कति सफल हुन्छन् त्यसमा पनि खेलको विकास निर्भर हुनेछ। त्यसबाहेक यसलाई राजनीतिक हस्तक्षेपबाट अलग राख्नसके नेपाली खेल जगतले मन्त्री तामाङको ठूलो गुन मान्नेछ।
साभार - नागरिक समाचार

No comments: