म्यानचेस्टरको लक्ष्यभित्र परेका साल्केका गोलकिपर म्यानुअल नेउयरले एकल उत्कृष्ट प्रदर्शनमा विपक्षीका थुप्रै आक्रमणलाई विफल पारे पनि दोस्रो हाफमा रायन गिग्स र वाइने रुनीले गोलमा सफलता पाएपछि सर एलेक्स फर्गुसनको टोली अवे खेलमा महत्त्वपूर्ण विजयको लायक बन्यो। अवे मैदानमा आफ्नो पोस्ट सुरक्षित राख्दै गरेका दुई गोल म्यानचेस्टरलाई चौथो सिजनमा तेस्रोपटक च्याम्पियन्स लिगको फाइनल पुर्याउन बलियो आधार बनेको छ। टोलीले दोस्रो लेग खेल्न आगामी साता साल्केलाई ओल्ड ट्राफोर्ड निम्त्याउने छ।
'आज रातिको प्रदर्शन अत्यन्तै व्यावसायिक थियो। खेलमा एकाग्रता, इच्छाशक्ति र पासहरू उच्च स्तरका थिए। यो खेललाई पूर्ण रूपमा उत्कृष्ट भन्न मिल्छ,' म्यानचेस्टर प्रशिक्षक फर्गुसनले भने। रुनी भने आफ्नो टोलीले थप गोल गर्न सक्ने विश्वास राख्छन्। 'हामी जितमा जती खुसी छांै, त्यति नै थप गोल गर्ने अवसर उपयोग गर्न नसकेकोमा निराश पनि छौं। साल्केलाई अझै पनि कमजोर मान्न मिल्दैन। उनीहरूले इन्टर मिलानजस्तो टोलीलाई क्वार्टरफाइनलको पहिलो लेगमा ५-२ ले हराएका थिए। त्यसैले हामीले दोस्रो लेगमा पनि आफ्नो उच्च प्रदर्शनलाई कायम राख्नुपर्छ,' रुनीले भने।
सुरुदेखि नै जितको विश्वासमा रहेको बताउने गिग्सले भने प्रदर्शनमा पूर्ण सन्तुष्टि व्यक्त गरे। मंगलबारको गोलपछि ३७ वर्षे वेल्सका यी खेलाडी च्याम्पियन्स लिगमा गोल गर्ने सबैभन्दा बढी उमेरका खेलाडी बनेका छन्।
साल्केका रक्षक क्रिस्टोफ मेट्जेल्डर भने म्यानचेस्टरसामु आफ्नो टोली निरीह भएको स्वीकार्छन्। 'घरमै भएको पहिलो लेगमा हामी पूरा निरीह भएको स्वीकार्नैपर्छ। तर अझै हाम्रो सम्भावना सकिएको छैन। ओल्ड ट्राफोर्डमा गएर हामीले नतिजा उल्टाउन सक्छौं। हामीले अर्को साता ओल्ड ट्राफोर्डमा आफ्नो तर्फबाट सतप्रतिशत मेहनत गर्नुपर्नेछ,' उनले भने।
साल्केले क्वार्टरफाइनलमा साविक विजेता इन्टरलाई निराश पारेको थियो, तर सेमिफाइनलमा म्यानचेस्टरका गोलकिपर इडविन भान डर सारलाई साँच्चै समस्यामा पार्न भने उनीहरूलाई धेरै कठिन हुनेछ। किनकि भान डर सारले च्याम्पियन्स लिगमा गोल नखाएको खेलसंख्या ५० पुर्याइसकेका छन्।
साभार - नागरिक
No comments:
Post a Comment