म्याद थपअघिका २३ घण्टा (लाइभ अपडेट)
तोकिएको दुई वर्ष र थपिएको एक वर्षमा पनि संविधान बन्न नसकेपछि शनिबार मध्यराति दोस्रोपटक संविधानसभाको म्याद तीन महिनाका लागि थपिएको छ ।
लडाकुलाई हतियारबाट अलग गर्नुपर्ने अडानमा रहेको प्रतिपक्षी कांग्रेस र मधेसवादी दल तथा मध्यमार्गी बाटो खोजेका एमाले–माओवादीबीच सहमति भएपछि संविधानसभाको कार्यकाल तीन महिना थपिएको हो ।
तीन महिनामा शान्ति प्रक्रिया पूरा गरी संविधानको एकीकृत मस्यौदा निर्माण गर्ने, प्रधानमन्त्रीले राजीनामा गरी राष्ट्रिय सहमतिको सरकारका लागि मार्गप्रसस्त गर्नेलगायतका सहमति दलहरुबीच भएको छ । सहमतिको खाकालाई अहिले अन्तिमरुप दिने काम भइरहेको छ ।
संविधानसभाको म्याद थपमा सहमति जुटाउन प्रमुख तीन दलसहित चौथो शक्तिकारुपमा रहेका मधेसवादी दलहरुबीच द्विपक्षीय र त्रिपक्षीय छलफल भएका थिए । दलहरुका बैठकमा सहमति जुट्न नसकेपछि बिहान ८ बजेकै लागि बोलाइएको संविधानसभाको बैठक राति ११ बजेर १२ मिनेट जाँदा बसेको थियो ।
संविधानसभाको म्याद थपिन पौने घण्टा बाँकी रहेकाबेला बसेको संसद् बैठकले विद्येयकमाथि छलफलका लागि ७२ घण्टा समय दिनुपर्ने कार्यव्यवस्था नियमावलीको प्रावधान निलम्बन गरी छोटो प्रक्रियाबाट संविधान संशोधन भएको थियो । अन्तरिम संविधानको धारा ६४ संशोधन भएपछि संविधानसभाको कार्यकाल तीन महिनासम्म थपिएको छ ।
यसअघिका म्याद थप गतिविधि
– संविधानसभा भवनमा प्रमुख तीन दलका नेताहरुको बैठक चलिरहँदा प्रमुख एमालेका तीन नेता बाहिरिएका छन् । बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, केपी शर्मा ओली र विष्णु पौडेल बाहिरिएका छन् ।
- राति ११. ४० बजेः संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
- राप्रपा नेपाल संसदीय दलका नेता चन्द्रबहादुर गुरुङले दर्ता गराएको विरोधको सूचना बहुमतले अस्वीकृत भएको छ ।
- म्याद थपका लागि दर्ता गराइएको संविधान संशोधनको प्रस्तावको विरोधमा दर्ता गराइएको विरोध प्रस्तावबारे राप्रपा नेपाल संसदीय दलका नेता चन्द्रबहादुर गुरुङले आफ्नो भनाइ राखेका छन् ।
- राति ११. १२ बजेः संविधानसभाको म्याद थपका लागि संविधानसभाको बैठक सुरु भएको छ । के सहमतिमा बैठक सुरु भएको भन्ने प्रकाशमा आएको छैन । - राति १० बजेः तीन दलले सहमतिका लागि भएका वार्तामा सहभागी नगराएको भन्दै मधेसवादी पाँच दलले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् । 'हाम्रो सहमतिबिना गरिएका कुनै पनि सहमति हामीलाई मान्य छैन, मधेसलाई बाइपास गरेर भएका सहमतिले मधेसको प्रतिनिधित्व गर्न सक्दैन,' सदभावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए । मधेसी मोर्चाले सेनामा दस हजार मधेसी यूवाको सामूहिक प्रवेश, स्वायत्त मधेस प्रदेश र प्रधानमन्त्री झलनाथ खनालको राजीनामाको माग उठाउँदै आएका छन् ।
- साँझ ९. ३१ बजेः दलहरुले सहमति गर्न नसकेपछि म्याद नथपिएको अवस्थाबारे आकंलन पनि सुरु हुन थालेका छन् । संविधानविद् पूर्णमान शाक्य भन्छन्, 'आशा गरौं पहिलेजस्तै मध्यरातमा सहमति हुन्छ । म्याद थपिन्छ । यदि नथपिए भ्याकुम हुन्छ । झलनाथ खनाल नेतृत्वको सरकार कामचलाउ हुन्छ । म्याद नथपिए फेरि पनि यीनै दलहरु बसेर मुलुकलाई निकास दिनुपर्छ यसको विकल्पै छैन ।'
- साँझ ९. ३० बजेः राजधानीको सुरक्षा थप कडा, दिनभर राजधानीबाट १० जना पक्राउ गरिएको महानगरीय प्रहरी प्रवक्ताले जानकारी दिएका छन् ।
- साँझ ८. ३० बजेः द्विपक्षीय छलफल सकिएपछि प्रमुख तीन दलको बैठक सुरु भएको छ । बैठकमा सहभागी हुन एमाले नेता केपी शर्मा ओली पनि संविधानसभा भवन प्रवेश गरेका छन् ।
- साँझ ८. १५ बजेः कांग्रेसले मधेसवादी दलहरुसँग छलफल सकेपछि एमाले नेताहरुसँग छलफल गरिरहेको छ । छलफलमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री झलनाथ खनाल पनि सहभागी छन् ।
- साँझ ७. ४५ बजेः दिनभर बन्द रहेको राजधानीको कोटेश्वर-माइतीघर सडक साँझ खुला गरिएको छ । यद्यपि संविधानसभा वरपरको सुरक्षा भने कडाइ गरिएको छ ।
- साँझ ७ बजेः माओवादीसँग छलफल सकिएपछि मधेसी मोर्चाले कांग्रेससँग छलफल सुरु भएको छ ।
- साँझ ६. ५० बजेः मधेसवादी-माओवादी बैठक सकियो, बैठक सकिएपछि तमलोपा नेता हृदयष त्रिपाठीले भने, 'माओवादी र मधेसी मोर्चाको मागबारे छलफल भयो, हामीले प्रधानमन्त्रीको राजीनामा माग्यौं । तर सहमति भएको छैन, दुवैको पोजिसन बुझ्ने काम भयो, हामीबीचको भयहरु साटासाट गर्यौं ।'
- साँझ ६. २० बजेः बिहान ८ बजे बस्ने भनिएको संसद् बैठक अझै अनिश्चित छ । सभासद्समेत शीर्ष नेताहरुबीच के सहमति भयो भन्नेमा जानकार छैनन् । 'हामीलाई त केही थाहा छैन, भित्र के भइरहेको छ तपाईंलाई जानकारी छ भन्ने भन्नुहोला,' पत्रकारसित एक सभासद्को आग्रह छ ।
- साँझ ५: ३५ बजेःराजधानी बाहिरका जिल्लाहरुमा पनि सर्वसाधारणको ध्यान संविधानसभाको म्याद थपिन्छ कि थपिन्न भन्नेमा केन्द्रित रहेको ई-कान्तिपुरकर्मीहरुले जनाएका छन् । 'जनआन्दोलन भाग-२ मा जस्तै सर्वसाधारणले चासोका साथ रेडियो र टेलिभिजन छाडेका छैनन्,' ई-कान्तिपुरकर्मीहरुको भनाइ छ ।
- साँझ ५: ३१ बजेः नेपाल मजदुर किसान पार्टीले संविधानसभाको म्याद थपबारे हुने मतदानमा म्याद थपको पक्षमा मतदान गने भएको छ । पार्टी सचिवालय बैठकले म्याद थपको पक्षमा मतदान गर्ने निर्णय गरेको पार्टी सचिव सुनिल प्रजापतिले जानकारी दिए ।
- साँझ ५. ३० बजेः संविधानसभाको म्याद थपमा स्वदेशी तथा विदेशी सञ्चारमाध्यम चासो छ । नेपालका प्रायः सवै निजी टेलिभिजन र केही रेडियोले प्रत्यक्ष प्रसारण गरिरहेका छन् । केही टेलिभिजनले राजनीतिक विश्लेषक, अधिवक्ता र नागरिक समाजका व्यक्तिलाई राखेर अन्तर्क्रिया र अनुमान गरिरहेका छन् ।
- साँझ ५: २१ बजेः माओवादी प्रवक्ता दीनानाथ शर्मा भन्छन्, 'माओवादी प्रधानमन्त्रीको राजीनामा गराउने पक्षमा छैन, त्यो प्रधान विषय होइन पनि । कांग्रेसले राखेको तीन महिनामा शान्ति प्रक्रिया पूरा गर्न म्याद थप्ने र फेरि संविधान बनाउन तीन महिना म्याद थप्ने प्रस्ताव व्यवहारिक छैन ।'
- साँझ ५ बजेः अहिले माओवादी र मधेसवादी नेताहरुबीच संसद् भवनमा बैठक भइरहेको माओवादी नेता वर्षमान पुनले जानकारी दिए ।
- साँझ ५ बजेः माओवादी नेता वर्षमान पुनले संसद् भवनमा भने, 'छलफल सकारात्मक छ । ६ महिना थप्नुपर्छ भन्ने कुरा भइरहेको छ । १ देखि ३ महिनामा शान्ति प्रक्रियामा सक्नुपर्छ भन्ने कुरा छ । माओवादी र कांग्रेसबीच सांकेतिक सहमति हुने सम्भवना छ । माओवादी नेताहरुको दोहोरो सुरक्षा हटाउने विषयमा छलफल भइरहेको छ ।'
- दिउँसो ४. ४५ बजेः माओवादी सचिव सीपी गजुरेलले भने, 'जनमुक्ति सेनाको समायोजनमा पार्टीले कार्यतालिका बनाएको छ, यही कार्यतालिका अहिलेको तीन दलको बैठकमा छलफल भइरहेको छ । '
- दिउँसो ४ बजेः संविधानसभाको म्याद थपमा सहमति हुन नसकदा जनआक्रोस बढिरहेको छ । युवा संघलगायतका समूहले बाहिर नाचगान र व्यंग्य गरेर समय कटाइरहेका छन् ।
- दिउँसो ३ बजेः प्रमुख तीन दलका नेताहरुको बैठक संविधानसभा भवनमै सुरु ।
- मध्यान्ह १२ बजेः संविधानसभा भवन अगाडि प्रदर्शन जारी ।
- बिहान ११: १५ बजेः संविधानसभा भवन अगाडि एमाले निकट युवा संघ नेपाल, राप्रपा नेपाल, आदिवासी जनजाति महासंघ, क्षत्री समाजलगायतका दर्जन बढी समूह जम्मा । राप्रपाले धर्ना दिंदै आएको क्षेत्र युवा संघको कब्जामा । राप्रपा नेपाल थापागाउँ-पुरानो बानेश्वर मोडमा सीमित ।
- बिहान ११: १५ बजेः एमाले स्थायी समिति बैठक सम्पन्न, म्याद थपका लागि अन्तिम समयसम्म पहल गर्ने निर्णय ।
- बिहान ११ बजेः माओवादी स्थायी समिति बैठक नयाँबजारस्थित अध्यक्ष पुष्पकमल दाहाल निवासमा सम्पन्न, हतियार सरकारलाई नबुझाउने, लडाकु समायोजनको कार्यतालिका तयार ।
- बिहान ११ बजेः कांग्रेस संविधानसभा दल र संसदीय दलको बैठकद्वारा पूर्व अडानमा अडिग रहने निर्णय ।
- बिहान ११ बजेः बिहान ८ बजे संसद् बैठक बोलाइए पनि सुरु नभएपछि सभासद्हरु संसद् भवनभित्रकै क्यान्टिनमा खाना खान लाइन बसेका छन् ।
- बिहान १० बजेः प्रधानमन्त्री झलनाथ खनालले शीतल निवासमा राष्ट्रपति रामवरण यादवलाई भेट गरेका छन् ।
- बिहान ९ बजेः संसद् भवन बाहिर सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । सर्वसाधारण र विभिन्न दल तथा दबाब समूह आउन सुरु गरेका छन् ।
- बिहान ८ बजेः संसद् बैठक बोलाइए पनि सभासद्हरुको संख्या संसद् भवनमा न्यून छ ।
साभार - इ. कान्तिपुर
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment