केही वर्षको ग्यापपछि संगीतजगत्मा 'अन द फ्लोर' बाट फर्केकी नायिका/गायिका जेनिफरलाई चोरीको आरोप बलिउडका संगीतकार बप्पी लहिरीले लगाएका हुन् । चर्चित संगीतकारले यूके म्यजिक चार्टमा पहिलो स्थान ओगटिरहेको गीतको संगीत आफ्नो १९९० ताका कम्पोज गरेको गीतसँग मिलेको दाबी गरेका छन् ।
'जेनिफर लोपेजको नयाँ गीत 'अन द फ्लोर' मा रहेको लाम्बाडा-स्याम्लिङ र मैले दुई दशकअघि संगीत दिएको गीत 'सोच ना क्या जो भी होगा देखा जायगा' सँग मिल्छ,' बप्पीले भनेका छन् । गीतको ओपनिङ ट्युन उस्तै भएको थप्दै उनले भने, 'भारतमा १९ वर्षअघि मैले लाम्बाडाको स्वाद भित्र्याएको थिएँ, जेनिफरले अहिले गरिन् त्यसैले पनि गीतको क्रेडिट मलाई जानुपर्ने हो ।' नृत्य गर्न मिल्ने एक प्रकारको म्युजिक लाम्बादा बोलिभियन ब्यान्ड 'लस जार्कास' ले चर्चित बनाएका थिए, जसले पछि 'काओमा' फ्रेन्च ब्यान्डले प्रयोग गरेकोमा कपिराइटको मुद्दा खेप्नुपरेको थियो ।
सुनका विविध गरगहना लगाउने संगीतकारका रूपमा चिनिएका बप्पीले आफ्नो संगीत अनुमतिबिना प्रयोग गरिएको भन्दै क्रेडिटको दाबी गरेको यो पहिलो घटना होइन । आठ वर्षअघि ट्रुथ हर्टस्' ब्यान्डले उनीहरूको सिंगल 'एडिक्टिभ' मा यी संगीतकारको चर्चित गीत 'थोडा रेसम लगता है...' को केही म्युजिक प्रयोग गरेकोमा क्रेडिटका लागि विवाद भएको थियो ।
यता बप्पीले लगाएको आरोपमा केही प्रतिक्रिया नदिएकी 'अमेरिकन आइडल' की निर्णायक जेनिफरको सिंगलको भने चारैतिरबाट प्रशंसा भइरहेको छ । गायक पति मार्क एन्थोनीसँग विवाहबन्धनमा बाँधिएर केही वर्ष पारिवारिक जीवनलाई समय दिएकी जुम्ल्याहाकी आमा गायिका यो वर्षको 'मोस्ट ब्युटिफुल वुमन' पनि घोषित भएकी छन् । महिना दिनअघि बि्रटेनकी स्विटहार्ट गायिका सेरिल कोललाई नचिन्ने बताएकी जेनिफरले संगीतको चोरी गरेको दाबी गर्ने बलिउड संगीतकार बप्पीलाई चिन्छिन् कि चिन्दिनन्, हेरौं ।
साभार - इ. कान्तिपुर
No comments:
Post a Comment