विदेशी संकटको भुमरीमा नेपाली अर्थतन्त्र पर्ने चेतावनी

सञ्जय ढकाल

बीबीसी सम्वाददाता




देश बाहिरका समस्याहरुका कारण नेपालको अर्थतन्त्र चेपुवामा पर्न सक्ने हिचककले बताए
देशभित्रको बेथितिका कारण दलदलमा परेको अर्थतन्त्र अब देशबाहिरको समस्याका कारण झनै भासिन सक्ने एशियाली विकास बैंकका अधिकारीहरुले चेतावनी दिएका छन्।

खाडी देशहरुमा फैलिएको राजनीतिक अस्थीरताका कारण एकातिर तेलको भाउ आकाशिएको र अर्कोतिर लाखौं नेपाली कामदारहरुको रोजगार संकटमा परेको भन्दै त्यसबाट नेपाललाई निकै अप्ठेरो पर्न सक्ने एडिबीका नेपाल निर्देशकले बताएका छन्।

तीन महिना अगाडि ट्यूनिसियाबाट शुरु भएको राजनीतिक संकटको हावाले हाल खाडीका अरब देशहरुलाई समेत हल्लाउन थालेपछि त्यसको प्रभाव संसारभर पर्न थालेको छ।

अप्ठेरोमा नेपाल
तर तेलदेखि लिएर रोजगारीसम्मको लागि त्यही क्षेत्रका देशहरुमा भर पर्ने नेपालको निम्ति यसको असर अरुलाई भन्दा निकै गम्भीर पर्ने देखिएको छ।

तेलको भाउसंगै संसारभर बढेको खानेकुराको मूल्य र रोजगारीमा आउनसक्ने समस्या, नेपालको निम्ति, दुई वर्ष अगाडिको विश्व आर्थिक संकटभन्दा डरलाग्दो हुने सक्ने ठानिएको छ।

आउने वर्ष एशियाली देशहरुको आर्थिक स्थितिबारे गरिएका आँकलनहरु प्रस्तुत गर्ने क्रममा थिए एडिबीका नेपाल निर्देशक ब्यारी हिचककले सो चिन्ता व्यक्त गरेका हुन्।

“विश्व आर्थिक संकटताका नेपालले धेरै समस्या बेहोर्नु परेन किनकि यहाँका बैंकहरु विश्व पूँजी बजारसंग त्यति जोडिएका थिएनन्। तर अहिलेको तेल र खानेकुराको भाउवृद्धि र कामदारहरु फर्कनुपर्ने स्थिति भनेको त नेपालको लागि प्रत्यक्ष प्रभाव पर्न सक्ने र सजग हुनुपर्ने समस्या हुन्,” हिचककले बीबीसीलाई बताए।

तेलको खेल
विश्व आर्थिक संकटताका नेपालले धेरै समस्या बेहोर्नु परेन किनकि यहाँका बैंकहरु विश्व पूँजी बजारसंग त्यति जोडिएका थिएनन्। तर अहिलेको तेल र खानेकुराको भाउवृद्धि र कामदारहरु फर्कनुपर्ने स्थिति भनेको त नेपालको लागि प्रत्यक्ष प्रभाव पर्न सक्ने र सजग हुनुपर्ने समस्या हुन्
ब्यारी हिचकक, नेपाल निर्देशक, एशियाली विकास बैंक
गएको चार महिना यता कच्चा तेलको भाउ प्रति ब्यारेल अर्थात प्रति १५९ लिटर करीब ८० डलरबाट बढेर १२० डलर पुगिसकेको छ।

तेल उत्पादक राष्ट्र लिबियाको बेहाल तथा संकटका बाछिटाहरुले ओमान, बहराइन देखि लिएर साउदी अरबिया सम्मलाई गाँज्न सक्ने अनुमानका कारण तेलको भाउ दिन का दिन बढिरहेको छ।

शतप्रतिशत आयातमा भर पर्नु पर्ने नेपालको लागि यो निकै कठिन चुनौति हो।

अधिकारीहरुका अनुसार अहिलेनै नेपाल आयल निगमको घाटा मासिक डेढ अर्ब रुपियाँ अर्थात दैनिक पाँच करोड रुपियाँ पुगिसक्यो।

बिजुलीको संकट संग जुधिरहेको कारण नेपालमा तेलको माग झन झन बढिरहेको छ।

अधिकारीहरु भन्छन् स्थिति कहाँसम्म पुगेको छ भने देशले निर्यातबाट कमाएको भएभरको विदेशी मुद्रा तेलमात्रै किन्न ठिक्क हुन थालेको छ।

कमजोर वृद्धि
स्थिति विग्रिएमा उसै त १२ अर्ब घाटामा रहेको शोधनान्तर झनै बढ्न सक्छ।

त्यसले अन्तत आर्थिक वृद्धि घटाइदिन सक्छ।

“यसले वृद्धिलाई निकै नराम्रो असर पार्न सक्छ। साथै सरकारले तेलमा दिइरहेको अनुदानलाई निरन्तरता दिन कठिन हुन सक्छ,” उनले भने।

एडिबीको पछिल्लो प्रक्षेपण अनुसार सन् २०११ मा नेपालको आर्थिक वृद्धि दर केवल ३.८ प्रतिशत रहनेछ जबकि एशियाका विकासशील देशहरुको औसत ७.८ प्रतिशत हुनेछ।

अझै डरलाग्दो त के छ भने आफ्नो नियन्त्रणभन्दा पर देश बाहिर, संकटको हुरी चलिरहेको बेला देशभित्र संविधान निर्माण र शान्ति प्रक्रिया जस्ता जटिल विषय थाँति नै छन्।

जसका कारण समस्याको गहिराईप्रति नेतृत्वमा रहेकाहरुको कमै ध्यान जानसक्ने धेरैको आशंका छ।

No comments: