काठमाडौ, जेष्ठ ३ -
सर्वसाधारणको निक्षेप हिनामिनाको कसुर गरेका १८ जनाको नेपाल प्रहरीले खोजी थालेको छ । राष्ट्र बैंकको आग्रहबमोजिम नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सका तीन जना र गार्खा विकास बैंकका १५ जना पूर्वसञ्चालक/व्यवस्थापकको प्रहरीले खोजी सुरु गरेको हो ।
प्रहरीको खोजी सूचीमा फाइनान्सका पूर्वअध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ, उनकी श्रीमती तथा संस्थापक गीता र छोरा सौरभ छन् । यता गोर्खा विकास बैंकमा बैंकिङ कसुर गरेका पूर्वकार्यकारी अध्यक्ष डम्बरबहादुर
-डीबी) बम्जन, पूर्वसञ्चालक तथा ऋणीहरू निर्मल गुरुङ, धनप्रसाद राई, रमेश तामाङ, महेशप्रसाद रिजाल, सञ्जिवकुमार मिश्र, मीना श्रेष्ठ, जीवन घिमिरे, सञ्जिवकुमार अग्रवाल, राकेश अडुकिया, प्रवीन नौलखा, रुचि जाजोडिया, पुनम खेतान, दीपक राना मगर र पूर्वमहाप्रबन्धक राजेन्द्रदास श्रेष्ठलगायत छन् ।
फाइनान्समा हिनामिना गरेका श्रेष्ठ परिवार फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध बुधबार मुद्दा दर्ता गर्ने तयारी प्रहरीको छ । 'बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाउन म्याद लिन्छौं,' काठमाडौं प्रहरी प्रमुख केदार रिजालले भने ।
यता गोर्खामा निक्षेपकर्ताको हितविपरीत बैंकिङ मापदण्ड मिचेर गरिएका ३८ वटा ठूला अनियमितताको सूची राष्ट्र बैंकले प्रहरीलाई पठाएको छ । ती सबै फाइलमा बैंकलाई डुबाउने उद्देश्यले गरिएको अनियमितताका प्रमाणसमेत संलग्न गरिएको प्रहरीले जनाएको छ । राष्ट्र बैंकले अनुसन्धान तथा आवश्यक कारबाहीका लागि लेखिपठाएका पत्रमा सञ्चालकहरूको बदनियतले बैंकमा जम्मा भएको सर्वसाधारणको कम्तीमा ५५ देखि ५७ करोड निक्षेप जोखिममा परेको उल्लेख छ ।
खोजी गरिएकामध्ये अडुकिया र नौलखाको नाममा सबैभन्दा बढी अनियमितता भएको देखिन्छ । अडुकिया सेयर बजारलाई प्रभावित गर्न सक्ने खेलाडीका रूपमा चिनिएका व्यक्ति हुन् भने नौलखा उनीहरूले नै प्रयोग गरेका सामान्य युवा हुन् । अडुकिया आफूले किनेको ठूलो परिणामका सेयरको दर घट्न नदिन महिनौं बजार रोक्न सक्ने क्षमताका व्यवसायी मानिन्थे ।
बैंक सञ्चालकहरूले कमलादीको पाँच रोपनी जग्गामा जेएसबी फाइनान्सियल टावर बनाउने नाममा जग्गा किन्न र भवन बनाउने भन्दै झन्डै ९० करोड रुपैयाँ अनियमित रूपमा निकालेको खुल्न आएको छ । त्यस्तै कृषि प्रेमुरा प्रालिका नाममा बिनाधितो ७ करोड दिएको, एक दिनका लागि सापटी लिएको साढे तीन करोड रकम पुनः जम्मा नगरेको, सामाखुसीस्थित एक हाउजिङलाई बिना मूल्यांकन एक करोड दिएको, जीवन घिमिरेले चार करोड रुपैयाँ सेयर धितोका रूपमा लिएको तर हालसम्म साँवाब्याज केही नतिरेको लगायतका झन्डै तीन दर्जन अनियमितताको सूची प्रहरीले पाएको छ ।
अडुकिया प्रोप्राइटर रहेको नेपाल मेन्था प्रोडक्ट कम्पनीले बैंक डुबाउने उद्देश्यले एउटै धितो राखेर विभिन्न नाममा १० वटा बैंकबाट ८९ करोड निकालेको प्रमाणसमेत राष्ट्र बंैकले प्रहरीलाई पठाएको छ ।
वित्तीय अनियमितता गरेका यी व्यक्तिलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गत कारबाही गर्न केन्द्रीय बैंकले अर्थ मन्त्रालयमार्फत पत्र पठाएको हो । 'हामीले बैंकिङ कसुर ऐनअनुसार कारबाही अघि बढाइयोस् भनेर पत्र पठाएका हौं,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने ।
बैंकिङ कसुर ऐनअनुसार तीन वर्षसम्म कैद र बिगोबमोजिमको असुली र जरिवाना गर्ने व्यवस्था छ । बैंकिङ कसुर गरेको प्रमाणसहित राष्ट्र बैंकले गृह र प्रहरीलाई पत्राचार गरे पनि यसअघिका अनियमिततामा कसैलाई कारबाही भएको छैन । सम्झना फाइनान्सका सञ्चालकलाई पनि बैंकिङ कसुरअनुसार कारबाहीको माग भए पनि प्रहरीले कुनै कदम नचालेको गुनासो राष्ट्र बैंकको छ ।
साभार - इ. कान्तिपुर

No comments:
Post a Comment