विवाहको उपहार आँखादान

काभ्रे, वैशाख ३१ -
विवाहका निम्तालुले न पुष्पगुच्छा दिएका थिए, न कुनै भौतिक सामग्री । तर पनि आफूहरूले पाएको उपहारकै कारण शनिबार विवाहित एक जोडीको खुसीको सीमै रहेन ।


किनकि, उदयपुर, पञ्चावती- ४ का २८ वर्षे सुशील ढुंगाना र काभ्रे, पुरानागाउँ- २ दाप्चाकी २१ वषर्ीया सरिता थापाको बनेपास्थित चण्डेश्वरी मन्दिरमा भएको विवाहका सय जना निम्तालुले मृत्युपर्यन्त आँखादान गरे । उनीहरूले नवविवाहित दम्पतीलाई आँखादान इच्छापत्रको फाराम भरी उपहारस्वरूप बुझाए ।

'निमन्त्रणा कार्डमै दाम्पत्य जीवनको शुभकामना दिनुहुन्छ भने आँखादान दिनुहोस् भनिएको रहेछ,' काठमाडौं- ३४ बानेश्वरकी मधु पौडेलले भनिन्, 'मलाई यो निकै राम्रो लाग्यो, त्यही भएर आँखादान नै उपहार दिएँ ।'

यसरी उपहार दिनेमा केटा/केटी दुवै पक्षका थिए । 'मेरो विवाहले सामाजिक सेवाको कुनै पाटोमा महत्त्वपूर्ण भूमिका खेलोस् भन्ने सोच राख्दै आएको थिएँ । आज त्यो मेरो सोचले मूर्तरूप पायो,' दुलाहा ढुंगानाले भने, 'भौतिक सामान उपहार लिएको भए, त्यो हाम्रा लागि मात्रै हुन्थ्यो । आज २ सय जनाले यो संसार देख्न पाउने भएका छन् । यो नै हाम्रा लागि ठूलो उपहार भयो ।'

दुलाही थापाले दुवै जनाको सल्लाहमा यो योजना बताएको सुनाइन् । 'मान्छे एक दिन मर्छ,' उनले भनिन्, 'बाँच्ाुञ्जेल आफ्ना लागि मात्रै होइन अरूका लागि पनि केही गर्नुपर्छ भनेरै यो काम गरेका हौं ।'

मन्दिरमै भएको अर्को विवाहका निम्तालुहरूले पनि यस कामको प्रशंसा गरे । 'नेताहरू सामाजिक क्रान्ति गर्छांै भनेर बोल्छन् मात्रै,' उपहार दिएको नियालिरहेका सँगैको विवाहका निम्तालु रामेश्वर खड्काले भने, 'यस्तो पो विवाह ।'

विवाहमा आएको उपहार तिलगंगा आँखा अस्पताललाई बुझाइने जानकारी दुलाहा-दुलहीले दिए । अस्पतालका आँखा बैंक म्यानेजर शंकरनारायण ट्वायनाले आँखा बैंकसँगको समन्वयमा जोडीले यो अभियान थालेको बताए । विवाहमा यस्तो अभियान पहिलो भएको उनले बताए । फाराम आइसकेपछि अस्पतालमा दर्ता गर्ने र परिचयपत्र जारी गरिने जानकारी ट्वायनाले दिए ।
साभार - इ. कान्तिपुर

No comments: