‘बाबुरामपक्षका मजदुरबाट जमकट्टेलमाथि आक्रमण

अनलाइन खबर /Share

     १० कार्तिक, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले माओवादी मजदुर नेता शालिकराम जमकट्टेलमाथि बाबुराम पक्षीय मजदुर नेता रमेश पन्तको निर्देशनमा शिविरका लडाकुबाट आक्रमण भएको दावी गरेको छ । सीआईबीले बिहीबार पत्रकार सम्मेलन गरी आक्रमणको मुख्य योजनाकार अखिल नेपाल ट्रेड युनियन महासंघका निवर्तमान महासचिव तथा अखिल नेपाल होटल तथा रेष्टुरा मजदुर संघका निवर्तमान अध्यक्ष काभ्रे बिर्तदेउरालीका रमेश भनिने तारानिधी पन्त भएको जनाएको छ । उनी प्रधानमन्त्री डा. बाबुराम भट्टराई पक्षका सिमित महत्वपूर्ण मजदुर नेता हुन् ।
तस्विर:अनलाईन खबर
उनकै योजना र निर्देशनमा माओवादीका लडाकू र पूर्व लडाकूले जमकट्टेलमाथि आक्रमण परेको देखिएको सीआईबीले बताएको छ । सीआईबीले आक्रमणमा संलग्नमध्ये ४ जनालाई पक्राउ गरि बिहीबार नै सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा प्रभात भनिने राम पुडासैनी ६५ सालमा तेस्रो डिभिजनबाट भागेका पूर्व लडाकू हुन् । सीआईवीका अनुसार उनी योजनाकार हुन् । यस्तै ६८ सालमा तेस्रो डिभिजनबाट भागेका पूर्व लडाकू मकवानपुर आग्रा- ३ बसेरीका २३ वषर्ीय इन्द्रबहादुर शाही ठकुरी, अयोग्य लडाकू बसामाडी-५ सिमलथलीका २० वषर्ीय नविन भनिने सुदिप कार्की र अखिल नेपाल होटल तथा रेष्टुरा मजदुर संघ मुल इकाई कमिटी क्यासिनो नेपालका सदस्य एवं सेक्युरिटी गार्ड खोटाङका ३२ वषर्ीय कमल बुढाथोकी रहेका छन् । प्रहरीका अनुसार माओवादी नेता जम्मरकट्टेललाई ठकूरीले रड प्रहार गरेका हुन् भने कार्की र बुढाथोकी सहयोगी हुन् । मूख्य योजनाकार रमेश र सहयोगी तेस्रो डिभिजनका लडाकू धिरज भनिने रजन खरेल भने फरार रहेको सीआईबीले जनाएको छ ।
सीआईबीले माओवादी मजदूर युनियनमा देखिएको राजनीतिक तथा आन्तरिक मतभेदका कारण घटना भएको बताएको छ । अनुसन्धानका क्रममा रमेशले रोजगारीको प्रलोभन देखाएर जमकट्टेलमाथि आक्रमण गर्न लगाएको खुलेको प्रहरीले बताएको छ । पन्तले ‘सबक सिकाउने हो, मार्नेगरि नहान्नु’ भन्ने निर्देशन दिएको सीआईबीले बताएको छ । आक्रमणमा बाबुरामको निर्देशनबारे सोधिएको प्रश्नमा सीआईबीले आन्तरिक विवादले आक्रमण भएको पाइएको भन्दै भट्टराईको संलग्नता नदेखिएको प्रष्ट पारेको छ । मुख्य योजनाकार मानिएका पन्त हाल फरार रहेका छन् ।
सभासद् जमकट्टलमाथि गत भदौ १० गते काठमाडौँको बबरमहलमा धारिलो हतियार प्रहार गरी आक्रमण भएको थियो ।

No comments: