१४ असार, काठमाडौं । मानव बेचबिखनविरुद्व सक्रियरुपमा काम गर्दै आएकी नेपालकी चरीमाया तामाङलाई अमेरिकाले ‘हिरो एक्टिङ टु एण्ड मोर्डन–डे स्लेभरी अवार्ड–२०११’ ले सम्मान गरेको छ ।
वशिङ्टनस्थित विदेश विभागमा सोमबार आयोजित मानव वेचविखन प्रतिवेदन–२०११ सार्वजनिक समारोहमा तामाङलाई अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले अवार्ड प्रदान गरिन् । पुरस्कार ग्रहणका लागि अमेरिका आउनुअघि तामाङलाई नेपालका लागि अमेरिकी राजदूत डेलिसीले बधाई दिइका थिए ।
गरिब परिवारमा जन्मिएकी चरिमाया बुबाको निधन भएपछि १६ वर्षमा भारतमा बेचिएको प्रतिवेदनमा उल्लेख छ । वेश्यालयमा २२ महिनासम्म नरकी जीवन काटेकी तामाङलगायत अन्य दुई सय नेपाली चेलीलाई सन १९९६ मा भारत सरकारले उद्वार गरेको थियो ।
घर फर्किएपछि तिरस्कृत र अपहेलित भएकी तामाङ आफूलाई बेच्ने गिरोहविरुद्व जिल्ला प्रहरी कार्यालयमा उजुरी हाल्ने पहिलो साहसी महिला बनिन् । फलतः सन १९९७ मा जिल्ला अदालतले तामाङलाई बेच्ने आठ दोषीलाई जेल चलान गरेको थियो ।
नेपाली चेलीको बेचविखन नहोस भन्नाका खातिर तामाङले उद्वार गरिएका अन्य पन्ध्र महिलाहरुको सहयोगमा सन २००० मा शक्ति समूह स्थापना गरेकी थिइन् । सन २००७ मा बेचबिखनविरुद्वको उत्कृष्ट कार्यका लागि नेपाल सरकारले पनि तामाङलाई राष्ट्रिय सम्मान प्रदान गरेको थियो ।
हाल उनी २००९ मा स्थापित मानब बेचविखनविरुद्वको राष्ट्रिय समितिमा कार्यरत छिन् । उनले अहिले देशभरको जिल्ला समितिमा उद्वार गरिएका महिलाहरुलाई सदस्यको रुपमा समावेस गरी बेचविखनविरुद्व जनचेतना फैलाउन ठूलो योगदान पुर्याएकी छिन् ।
No comments:
Post a Comment