समग्र बैंकिङ क्षेत्रमा समस्या छैनः गभर्नर डा. युवराज खतिवडा

समाचारपत्र/काठमाडौं
      नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले समग्र बैंकिङ क्षेत्रमा समस्या नरहेको बताउनुभएको छ। केही वित्तीय क्षेत्रमा देखिएको कमीलाई समग्र बैंकिङ क्षेत्रको कमजोरीको आंकलन गर्न नहुने उहाँको भनाइ छ।

मंगलबार राजधानीमा आयोजना भएको एच एन्ड बी डेभलपमेन्ट बैंकको औपचारिक मर्जर कार्यक्रममा गभर्नर खतिवडाले सो कुरा बताउनुभएको हो। एक-दुइवटा वित्तीय संस्थामा कमजोरी देखिँदैमा सिंगो बैंकिङ क्षेत्रको आंकलन गर्नु उचित हुँदैन’ -गभर्नर खतिवडाले भन्नुभयो। 

अहिले बैंकिङ क्षेत्रमा २४ देखि २५ प्रतिशतसम्मको तरलता रहेको उल्लेख गर्दै खतिवडाले व्यक्तिगत बैंकिङ सुशासनका कारण केही वित्तीय क्षेत्रमा समस्या आएको प्रस्ट पार्नुभयो। सामान्य कमजोरीलाई ठूलो रूपमा लिइयो भने राम्रा बैंकमा पनि समस्या देखा पर्छ’ -उहाँले भन्नुभयो।

वित्तीय क्षेत्रको समस्यालाई राष्ट्र बैंकले समाधान गर्न नसक्ने र समस्या समाधानका लागि आफैं स्वनियन्त्रित हुनुपर्ने उहाँले बताउनुभयो। वित्तीय क्षेत्रबीच आपसी समझदारी हुन नसक्दा पनि बैंकिङ क्षेत्रमा समस्या पर्ने गरेको उहाँको भनाइ थियो। 

एच एन्ड बी हिमचुली विकास बैंक लिमिटेड र वीरगन्ज फाइनान्स लिमिटेड मर्ज भएर बनेको बैंक हो। हाल बैंकको चुक्ता पुँजी ९० करोड र अधिकृत पुँजी २ अरब रुपियाँ रहेको प्रमुख कार्यकारी अधिकृत जशोदा सैजुले बताउनुभयो। विकास बैंक क्षेत्रमा महिला कार्यकारी रहेको यो नै पहिलो बैंक हो। साभार: समाचारपत्र

No comments: