दूतावासको कामकाज कहिले पार्कमा त कहिले रेष्टुरेन्टमा
'सबै आर्थिक समस्या हो, न टिए डिए को व्यवस्था छ न त सरकारी बजेट, आफ्नो तलबमा मंहगो होटलमा बसेर काम गर्न सकिंदैन ।' - महावाणिज्यदूत
मकाउ समेत हेर्ने जिम्मेवारी पाएको हङकङस्थित महावाणिज्यदूतावासले बजेटको अभावमा सार्वजनिक स्थलमै सरकारी कामकाज गर्न बाध्य छ । मकाउमा दूतावासको स्थायी कार्यालय छैन् । बजेटको अभाव देखाउदै दूतावासले कहिले सार्वजनिक पार्क, कहिले फेरि (पानीजहाज रोकिने स्थल), त कहिले रेष्टुरेन्टलाई सरकारी कामकाज गर्ने थलोका रुपमा प्रयोग गर्दै आएको हो । जबकी यसरी कार्य गरिनु अवैध भएको दूतावास स्वयंको भनाई छ । 'सार्वजनिक स्थलमा सरकारी कामकाज हुनु निकै संवेदनशिल विषय हो,' हङकङस्थित महावाणिज्यदूत विनोद कुमार उपाध्याय नेपालले भने, 'प्रहरीले चाल पाए पक्रन सक्छ, तर बजेटको अभावमा बाध्य छौँ ।'
विगतमा महिनाको एकपटक नियमित तोकिएको होटल कोठामा दूतावासका कामकाज हुँदै आएका थिए । तर अहिले भने त्यो समेत रोकिएको छ । कान्तिपुरको जिज्ञासामा महावाणिज्यदूत उपाध्यायले भने, 'सबै आर्थिक समस्या हो, न टिए डिए को व्यवस्था छ न त सरकारी बजेट, आफ्नो तलबमा मंहगो होटलमा बसेर काम गर्न सकिंदैन ।' उनले अत्यन्तै जरुरी अवस्थामा बाहेक अन्यबेला मकाउ जाने क्रम रोकिने समेत जनाए ।
सार्वजनिक स्थलमा पासपोर्ट बाँडने लगायतका सरकारी कामकाज हुनु राष्ट्रकै छवि धुमिल्याउने कार्य भएको मकाउबासी नेपालीहरु बताउँछन् । 'कार्यालय नभएपनि विगतमा होटल कोठाभित्र कामकाज गरिदा केही गोप्यता र सुरक्षा थियो,' गैरआवासीय नेपाली संघ -एनआरएन) मकाउका अध्यक्ष सुर्दशन थापा मगरले भने, 'अहिले सार्वजनिक स्थलमै सरकारी कामकाज गरिदा सधै डर त्रास हुने गरेको छ ।' म्यानपावर व्यवसायी एकता इन्टनेशनलका संचालक त्रिलोक गुरुङले समेत यसमा विमति राखेनन् । 'बजेटकै अभाव भएका भए हामी सहयोग गर्छौ पनि भनेका हौ,' व्यवसायी गुरुङले भने, 'प्रस्ताव पनि नमान्ने अनि गलत कार्यलाई निरन्तरता दिइरहनु राम्रो भएन ।' गुरुङ एनआरएन हङकङका निवर्तमान अध्यक्ष हुन् ।
हङकङ पानीजहाजबाट एकघण्टाको दूरीमै भएपनि नेपाली राहदानी वाहकलाई प्रवेशमा कडाई छ । 'सरकारी कामकाज गर्ने निश्चित स्थल र समयतालिका नहुदा नेपाली मर्कामा छन्,' मकाउमा कार्यरत पूर्ण गुरुङले भने, 'अत्याआवश्यक काम पर्दा पासपोर्ट लगायतका कागजात कुरियरबाट हङकङ पठाउने गरिएको छ, तर लाग्ने दस्तुर भने त्यसरी पठाउन नमिल्ने भएकाले उतै बस्ने चिनेजानेकालाई गुहार्नु पर्छ ।' यो अधिकांशका लागि सम्भव नभएको उनले सुनाए । 'यसैले पनि दूतावासले मकाउमा समेत स्थायी कार्यालय राख्नु जरुरी भएको छ,' उनले जोड दिदै भने ।
नेपाली कामदारका हकमा मकाउ ज्याला र सुविधा दुबैका दृष्टिकोणले उत्कृष्ट थलो हो । दिनप्रतिदिन नेपाली कामदारको संख्या समेत बढ्दै गएकाले दूतावास खोलेर राम्रो सम्बन्ध विस्तार गर्नसके रोजगारी समेत सिर्जना हुनसक्ने एनआरएनका अध्यक्ष थापाले बताए । मकाउमा रहेका करिब दुई हजार नेपालीहरु मध्ये दुईसयजनाले स्थानीय मकाउ आईडी लिइसकेको समेत उनले जनाएका छन् ।
साभार - इ. कान्तिपुर
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment