राजविराज, अषाढ ४ - करिब चार महिना अगाडि सप्तरीबाट मलेसिया पुगेका आठ नेपाली युवाहरु त्यहाँ काम गर्न नपाएर अलपत्र परेका छन् ।
राजविराजका एजेन्ट मो. इमामुद्दिनले आठै जना युवाहरुसित जनही ९५ हजार रुपैयाँ लिई काम लगाई दिने भन्दै गत चैत्र १५ गते मलेसिया पठाएका थिए ।
सप्तरीको बैरवा गाविस ४ निवासी अजाद मन्सुरी, जमिर मन्सुरी, नुरतुज मन्सुरी, मोहरम शेख, नजमुद्दिन सेख, सरफराज मन्सुरी, नसिर मन्सुरी र रजाक मन्सुरीलाई एजेन्ट इमामुद्दिनले मलेसिया पठाएर अलपत्र बनाएका हुन् ।
आठै जना युवाहरु त्यहाँ गएदेखि कुनै किसिमका काम गर्न नसकेको मलेसिया अलपत्र परेका सप्तरी बैरवा गाविसका नसिर मन्सुरीका बुवा फजिल मन्सुरीले ईकान्तिपुरसित भने । ऋण लिएर छोरालाई मलेसिया पठाएपनि एजेन्टको बदामासीका कारण आफ्नो छोरा सहित गाउका अन्य सात जना युवाहरु अहिले त्यहा अलपत्र परेको उनको भनाई छ ।
९५ हजार रुपैया लिएर मलेसियामा होम गार्डको काम गरे वापत ८ सय ५० रियाल पाउने भन्दै आठै जनालाई एजेन्ट इमामुद्दिनले मलेसिया पठाएका हुन् । तर, त्यहाँ पुगेका चार महिना हुन लाग्दा पनि आठै जना युवाले कुनै किसिमको काम गर्न नपाएर खान बस्न समेत अप्ठ्यारो भईरहेको छ ।
मलेसियामा अलपत्र परेकाहरु मध्ये नसिर मन्सुरीले शनिवार टेलिफोनमा भने, 'रोजगारीका लागि हामीहरु मलेसिया आएपनि यहाँ काम नपाएर अलपत्र परेका छौं, यहाँ आएदेखि नै कुनै किसिमको कामकाज गर्न पाएको छैन, कामकाज गर्न नपाएपछि बस्न खान समेत समस्या भइरहेको छ ।'
आफुहरु मलेसियामा अलपत्र परेकोबारे एजेन्टलाई बारम्बार भन्दै आए पनि कुनै सुनवाई नगरेको उनको भनाई छ । 'यहा अलपत्र परेका हामीहरुलाई उद्धार गरिदिनुपर्छ,' नसिरले भने, 'नेपाल सरकारले हामीहरुप्रति गम्भिर भई उद्धार गरिदिनु पर्यो ।'
यस सम्बन्धमा मलेसिया पठाउने एजेन्ट इमामुद्दिनले भने छुट्टै दाबी गरेका छन् । उनका अनुसार आठै जनाले विगत तीन महिनादेखि कामकाज गर्दै आएको र अहिले एक महिनादेखि काम गर्न नपाएको दाबी गरे । आफुले आठै जनालाई पुनः काममा लगाउन प्रयासरत रहेको एजेन्ट इमामुद्दिनले बताए ।
साभार - इ. कान्तिपुर

No comments:
Post a Comment