क्रिकेटपछि पेरीले फुटबल विश्वकप पनि खेल्ने

(एजेन्सी)- एलिसे पेरीको दुविधाले अस्ट्रेलियाको पक्षमा काम गर्न पुगेको छ। अब विश्वविद्यालयकी २० वर्षीया छात्रा १२ महिनाभित्र फरक खेलमा दोस्रोपटक विश्वकपलाई चयन भएकी छन्।
पेरीलाई बुधबार विश्वकपका लागि अस्ट्रेलियाली महिला फुटबल टोलीमा चयन गरिएको छ। क्यारेबियाली क्षेत्रमा भएको विश्वकप क्रिकेट ट्वान्टी-२० उपाधि जिताउन भूमिका खेलेको एक वर्षभन्दा कम समयमा उनले दोस्रो विश्वकप उपाधिका लागि प्रयास गर्ने छन्।
विश्वकपका लागि चयन गरिएको अस्ट्रेलियाली टोलीको औसत उमेर २२ वर्ष छ। जुन अहिलेसम्म चयन गरिएको टोलीमा सबैभन्दा युवा हो।
'मैले फुटबललाई क्रिकेटजति नै मन पराउने हुनाले यो मेरा लागि यो अवसर निकै राम्रो हो,' पेरीले भनिन्, 'विश्वकप क्रिकेट जितेपछिको त्यो अनुभव गजबको थियो।'
अस्ट्रेलियाली प्रशिक्षक टम सरमानीले पेरीले क्रिकेटमा पाएको प्रतियोगिताको अनुभवले फुटबलमा फाइदा पुर्‍याउने बताए। अस्ट्रेलिया ब्राजिल, नर्वे र इक्वेटोरिएल गुयनासँगै समूह 'डी' मा छ।
'मेरो विचारमा यसले दबाब कम गर्न मद्दत गर्ने छ। दुईवटा उच्च स्तरको खेलले निर्णय क्षमतामा सकारात्मक असर पार्छ,' सरमानीले भने, 'त्यसैले एलिसेको क्रिकेटको गुणले केही सीमासम्म फुटबलमा पनि सहयोग पुर्‍याउने छ।'
विश्वस्तरसम्म दुई खेलमा देशको प्रतिनिधित्व गर्दाको दबाबसँगै पेरीले गतवर्ष 'फुटबल स्टार्स अफ टुमारो' नामको रियालिटी शो पनि थपेकी थिइन्। त्यसबाहेक विश्वकपबाट फर्केपछि उनी राजनीतिशास्त्र, अर्थशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर तहको दुई विश्वविद्यालय स्तरको परीक्षामा सामेल हुने छन्।
बढ्दो दबाबबीच पेरी क्रिकेट र फुटबलमा चयन गर्न चाहँदिनन्। उनले ट्वान्टी-२० विश्वकप खेल्न सन् २०१० को महिला एसिया कप फुटबल छाडेकी थिइन्।
'दुईवटै खेलले मलाई खुसी प्रदान गर्छ र मलाई क्षमताअनुसारको प्रदर्शन गर्न सहयोग पनि पुर्‍याउँछ,' उनले भनिन्, 'मलाई अझसम्म दुई खेलमध्ये एउटाको चयन गर्ने बाध्यता भएको छैन।'
उता पेरी क्रिकेट विपरीत यस प्रतियोगितामा सम्भावित विजेताभन्दा नयाँ टिमका रूपमा सहभागी हुन पाउँदा उत्साहित छन्।
'त्यस स्थितिमा हुनु आफैमा चाखलाग्दो हुन्छ,' उनले भनिन्, 'हामीले भयरहित भएर फुटबल खेल्ने अवसर पाउने छौं। हेरौं, कहाँसम्म पुग्न सकिन्छ?'
साभार : नागरिक न्युज

No comments: