४० हजार बिदेसिए अहिलेसम्मकै उच्च संख्या
काठमाडौ, अषाढ ६ - जेठमा ४० हजार जना युवा काम खोज्दै बिदेसिएका छन् । गत वर्षभन्दा यस महिनामा २७ दशमलव ९० प्रतिशत बढी युवा बाहिरिएका छन् । त्यसबेला ३१ हजार ६ सय ३६ कामदार बिदेसिएका थिए ।
चालू आर्थिक वर्षको ११ माहिनामा बिदेसिने संख्या ३ लाख नाघेको छ । वैदेशिक रोजगार विभागका अनुसार यस अवधिमा ३ लाख १० हजार १ कामदार बिदेसिए । यो संख्या गत आर्थिक वर्ष (०६६/०६७) को कुल संख्याभन्दा करिब १५ हजार बढी हो । गत आवमा २ लाख ९४ हजार ९४ जना बिदेसिएका थिए ।
जेठमा हालसम्मकै उच्च ४० हजार ४ सय ६१ नेपाली कामदार बिदेसिएको विभागको तथ्यांकमा छ । यसले गत असारमा गएका ३२ हजार ८ सय ६९ को रेडर्कलाई तोडेको हो ।
मुख्य रोजगार गन्तव्य मुलुकको आर्थिक अवस्थामा सुधार आएको र मुलुकमा रोजगारीको अवस्था सिर्जना हुन नसकेकाले बिदेसिनको संख्यामा यस्तो वृद्धि भएको जानकारहरू बताउँछन् । बैदेसिक रोजगारीविज्ञ गणेश गुरुङ मलेसिया, कतारजस्ता मुलुकमा बढेको कामदार मागका कारण एकै महिनामा यति धेरै बिदेसिएको बताउँछन् । 'धेरै कामदारहरू अदक्ष कामका लागि जाने गर्छन्,' उनले भने, 'नेपालीले कम तलबमा पनि काम गर्ने भएकाले माग बढेको हो ।'
सन् २०२२ मा हुन लागेको फिफा विश्वकपका लागि कतारले पूर्वाधार निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाएकाले माग बढेको वैदेशिक रोजगार व्यवसायी बताउँछन् । जेठमा बिदेसिएका ४० हजारमध्ये १३ हजार ७ सय १९ कतार गएका छन् । ८ हजार ७ सय ४८ जना मलेसिया गएका छन् । तेस्रो गन्तव्य मुलुक साउदीमा ८ हजार २ सय ९६ जना गए । यस अवधिमा संयुक्त अरब इमिरेट्स र कुवेत जाने कामदारको संख्या क्रमशः ५ हजार ४ सय ६७ र २ हजार ९८ छ ।
वैदेशिक रोजगार व्यवसायीहरू सहज रूपमा पासपोर्ट पाउने अवस्था नभए पनि कामदारको माग उच्च भएकाले धेरै बिदेसिएको बताउँछन् । उनीहरू अझ सहज रूपमा पासपोर्ट उपलब्ध भए अझै बढ्ने बताउँछन् । 'कतार, कुवेत, मलेसियाका साथै कोरियामा पनि नेपाली कामदारको माग बढिरहेको छ,' वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष सोमलाल बाटाजुले भने, 'पासपोर्ट सहज रूपमा आएको भए यो संख्यामा अझ वृद्धि हुन सक्थ्यो ।'
साभार - इ. कान्तिपुर
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment