बिदा भए लडाकु, भावुक बने प्रचण्ड

बिदाइमा प्रचण्डले छोटो मात्रै बोले, तर भावुक बनेर

काठमाडौं, २२ जेठ
माओवादी नेताहरूको सुरक्षामा रहेका लडाकुहरू शिविर र्फकन सुरु गरेका छन् । शान्तिप्रक्रियालाई अघि बढाउने समझदारीअनुसार माओवादी अध्यक्ष प्रचण्डले आफ्नै निवास नयाँबजारमा रहेका लडाकुहरूलाई धन्यवाद दिँदै उनीहरूको प्रगतिको कामनासमेत गरेका छन् ।
बिदाइ कार्यक्रममा सुरक्षामा खटेका लडाकुहरूको टोलीले प्रचण्डसँग बसेर सामूहिक फोटो लिए । लडाकुहरूले पनि छुट्टाछुट्टै समूहमा फोटो लिए । शान्तिप्रक्रियामा आएपछि पनि लडाकुहरूले माओवादी नेताको सुरक्षा गर्दै आएका थिए ।
सेनापति प्रकरणमा प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि सुरक्षाका लागि लडाकुको संख्या बढाइएको थियो । बिदाइमा प्रचण्डले छोटो मात्रै बोले, तर भावुक बनेर ।
'तपाईंहरूको साथमा रहँदा कुनै अप्रीय घटना भएन, यसअर्थमा पनि जनमुक्ति सेनाको सुरक्षा व्यवस्था सफल देखिएको छ । तपाईंहरूले जुनस्तरको सुरक्षा व्यवस्था मिलाउनुभएको छ, त्यसको कारणले पनि कसैले सजिलै हामीमाथि आक्रमणको सपना पनि देख्न सक्दैन,' उनले लडाकुको प्रशंसा गरे ।
'साथीहरूले युद्धकालदेखि शान्तिकालसम्म नेतृत्वको सुरक्षाका लागि सतर्कता देखाउँदै जसरी खटनुभयो, त्यसका लागि म धन्यवाद दिन चाहन्छु,' प्रचण्डले लडाकुहरूको बिदाइ गर्दै भने, 'तपाईंहरूले गर्नुभएको योगदानको पार्टीले उच्च मूल्यांकन गर्नेछ ।'
संविधानसभाको म्याद थपका लागि दलहरूबीच भएको पाँचबुँदे सहमतिअनुसार शान्तिप्रक्रियाका बाँकी काम गर्न भन्दै माओवादीले दोहोरो सुरक्षा हटाउने निर्णय लिएको थियो ।
प्रचण्डको सुरक्षामा खटिएका कमान्डरहरू बिदाइ समारोहमा आफूहरूले जिम्मेवारपूर्वक काम गरेको र पार्टी निर्णय मानेर शिविर र्फकन थालेको बताएका थिए । उनीहरूले प्रचण्डलाई सुरक्षाप्रति विशेष सतर्क रहन सुझाब पनि दिए । उनीहरूले पार्टी निर्णय र आदेशानुसार खुसीसाथ शिविर फर्किएको पनि बताए । 'हामी पार्टी निर्णय स्वीकार्दै निर्णय कार्यान्यव गर्दैछौँ,' प्रचण्डको सुरक्षाको नेतृत्व गरेका सन्तु दराई परवानाले भने, 'आगामी दिनमा पनि अध्यक्षले आफ्नो सुरक्षाको विशेष ख्याल गर्नुहोला ।'
माओवादी नेताहरूको सुरक्षामा रहेका आधा लडाकु आइतबार आ-आफ्नो शिविरमा फर्केका छन् । बाँकी लडाकु सोमबार र्फकंदैछन् । प्रहरीको स्कटिङमा सोमबार हतियार लडाकुको तेस्रो डिजिभन मुख्यालय चितवन पुर्‍याइने भएको छ । लडाकुसँग साना-ठूला गरी ९६ हतियार छन् । हतियार प्रचण्डको सुरक्षामा खटिएका सेना रहेको नयाँबजारमा जम्मा गरिएको छ ।
माओवादीको गत १९ जेठ -बुधबार) को पदाधिकारी बैठकले पार्टी नेताहरूले लिँदै आएको दोहोरो सुरक्षा व्यवस्था तत्काल हटाउने निर्णय लिएको थियो । त्यसपछि माओवादी नेताले लडाकुहरूलाई पार्टी निर्णय सुनाउँदै शिविर र्फकन तयार रहन निर्देशन दिएका थिए ।
माओवादी नेताहरूको सुरक्षामा जनसेनाका एक सय ६ लडाकु काठमाडौंमा रहँदै आएका थिए । प्रचण्डको सुरक्षामा जनसेनाका डिभिजन कमान्डर सन्तु दराई परवाना -परवाना माओवादीका केन्द्रीय सदस्य पनि हुन्) को नेतृत्वमा ५० जनाको टोली रहेको थियो । माओवादीका पोलिटब्युरो सदस्यसम्मले लडाकुको सुरक्षा लिँदै आएका थिए । राष्ट्रसंघीय मिसन अनमिनको प्रमाणीकरणकै वेला यी लडाकुहरू नेताको सुरक्षामा रहेको भन्दै दर्ता भएका थिए । माओवादीका २८ शिविरमा हाल करिब १९ हजार लडाकु छन् ।
उपाध्यक्ष किरणपक्षधर नेताहरूको सुरक्षामा खटेका लडाकु भने स्थायीसमिति बैठक सकिएपछि मात्र जाने भएका छन् । उपाध्यक्ष किरण, सचिव सिपी गजुरेल र स्थायी समिति सदस्य नेत्रविक्रम चन्द विप्लवसहित किरणनिकट मानिएका नेताहरूले बैठकपछि आफ्नो सुरक्षामा रहेका लडाकु फर्काउने बताएका छन् ।
बहुमतका आधारमा पार्टीले सेना समायोजनको विषयमा फरक मत राखेका किरणले दोहोरो सुरक्षा तत्काल हटाउने पदाधिकारी बैठक निर्णयमा पनि नोट अफ डिसेन्ट राखेका थिए । सात सदस्यीय पदाधिकारीमा उपाध्यक्ष किरण र सचिव सिपी गजुरेलले तत्काल दोहोरो सुरक्षा हटाउने बहुमत सदस्यको निर्णयमा फरक मत राखेका थिए ।
यसअघि नेपाली सेनाअन्तर्गत छुट्टै महानिर्देशनालय गठन गरी मिश्रति सुरक्षा अंग बनाउने तथा तत्काल सहमति गरेर सेना समायोजनमा जानुपर्ने ५ जेठको स्थायी समितिको निर्णयमा उपाध्यक्ष किरणसहित चारजनाले फरक मत दर्ता गरेका थिए ।
प्रचण्ड २ असार २०६२ मा कास्कीको सिक्लेसबाट काठमाडौं आउँदा नै उनको सुरक्षामा जनसेनाका सदस्यहरू थिए ।प्रचण्डलाई लिन गृह तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला हेलिकोप्टर लिएर सिक्लेस पुगेका थिए । तत्कालीन गृहमन्त्री सिटौलासहित प्रचण्ड, माओवादी नेता डा. बाबुराम भट्टराई र प्रचण्डपत्नी सीता काठमाडौं भित्रेका थिए र विमानस्थलबाट सीधै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेट्न प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार पुगेका थिए । त्यसै राति दलहरूबीच शान्तिप्रक्रियाका विषयमा ६बुँदे समझदारी भएको थियो र त्यहीँबाट नेपालमा औपचारिक रूपमा शान्तिप्रक्रियाको सुरुवात भएको थियो ।
साभार : नया पत्रिका

No comments: