तीनकुने-सूर्यविनायक छ लेन सडकको उद्‍घाटन आज

ऋचा अर्याल, काठमाडौ, वैशाख २०- करिब साढे दुई वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको छ लेन सडकखण्डको औपचारिक उद्‍घाटन आज हुँदैछ। तीनकुनेदेखि सर्यविनायकसम्मको नौ दशमलव एक किलोमिटर उक्त सडकको मुख्य चार लेनको निर्माण कार्य सम्पन्न गरेर निर्माणको कार्य सम्पन्न भएको घोषणा गरेको काठमाडौ भक्तपुर सडक आयोजनाले बताएको छ।

आयोजनाका अनुसार गत मार्चको अन्तिम साता नै यसको सम्पूर्ण निर्माण कार्य सकिएपछि प्राविधिक कठिनाईका कारण यसको औपचारिक घोषणा गर्न सकिएको थिएन। ‘निर्माण कार्य एक महिना पहिले नै सकिए पनि सडकको मापदण्ड ठिक भए नभएको जाच गर्न समय लागेको हो', तिनकुने-सर्यविनायक सडक आयोजनाका आयोजना प्रमुख सरोज प्रधानले भने, ‘यसको मंगलबार औपचारिक रुपमा उदघाटन हुनेछ'।
उनका अनुसार तिनकुनेदेखि मनोहरा खोला, मनोहरादेखि हनुमन्ते पुल र हनुमन्तेदेखि सुर्यविनायक सडक खण्ड गरी जम्मा तीन चरणमा विभाजित यो सडक जापान सहयोग नियोगले करिब दुई अर्ब चालीस करोड रुपैयाँ लागतमा निर्माण गरेको हो।

जसमा सात सात मिटरको मुख्य सडकसहित चार लेनको सडक त्यसमा गाडी बिग्रेको अवस्थामा सवारी रोक्न इमर्जेन्सी पार्किङस्थल हुनुका साथै सडकको मुख्य सडकबाट वरीपरीका बाटोलाई जोड्ने सर्भिस ट्रयाक रहेको छ।
‘यसमा मुख्य सडकको काम सबै जापान सरकारको भएकोले त्यो काम सकिएको घोषणा गरेका हौ', आयोजना प्रमुख प्रधानले भने,'बाकी पेट्रोल पम्पले भत्काएको रेलिङ्ग राख्ने तथा सर्भिस ट्रयाकमा पिच गर्ने काम कार्त्तिक सम्ममा सम्पन्न गर्नेछौ'। उनका अनुसार यसको लागि सम्बन्धित निकायसित कुरा भइसकेको छ। विशेषगरी रेलिङ्गको समस्या नेपालीकै कारण सिर्जना भएको र सर्भिस ट्रयाकको काम नेपाल सरकारले गर्ने भएकोले यसमा समय लाग्ने उनले बताए।

करिब दुई महिना पहिले तिनकुने-सुर्यविनायक सडकमा अवस्थित १४ वटा पेट्रोल पम्पले बाटोको माग गर्दै उक्त ठाउको रेलिङ्ग भत्काएको थियो। रेलिङ्ग भत्काएको साता वित्न नपाउदै आयोजनाले उक्त ठाउँमा पुनः रेलिङ्ग राख्न खोज्दा स्थानीयले अवरोध गरेपछि रेलिङ्गको काम स्थगित भएको थियो।

‘मन्त्रालयको निर्देशन आइसकेकोले यसको काम पनि आगामी साता भित्रमै सक्काउनेछौ', प्रधान भन्छन्,'त्यसबाहेक सर्भिस ट्रयाकको काम नेपाल सरकारले गर्ने भएकोले त्यसलाई असार सम्ममा सक्काउने लक्ष्य लिएका छौ'। उनका अनुसार सडक हस्तान्तरण पश्चात्त पनि सडकमा भएको समस्या समाधानका लागि यो सडक एक वर्षसम्म जापान सरकारको स्वामित्वमा रहने भएकोले सर्भिस ट्रयाक बाहेकको सडकको बीचमा रेलिङ्ग हाल्ने काम पनि यही कार्तिक मसान्तसम्ममा सकानेछ।

प्रधानका अनुसार उक्त सडकखण्डमा पैदल यात्रुले जथाभावी तरीकाले बाटो काट्नाले सडक दुर्घटना बढेपछि आयोजनाले ती सडक बीचमा रेलिङ्ग राख्न लागेको हो। जसमा कोटेश्वर देखि गठ्ठाघरसम्मको तीन दशमलव ७१ किलोमिटर सडकमा रेलिङ्ग राख्नेकाम जापान सरकारले गर्नेछ भने गठ्ठाघर देखि सुर्यविनायकसम्मको सडक बीचमा रेलिङ्ग राख्ने काम नेपाल सरकारले गर्ने आयोजना प्रमुख बताउँछन् ।

‘यसको लागि हामीले आजभोलि नै टेण्डर गर्दैछौ', प्रधानले भने,'यो काम सकिनासाथ आकाशे पुल निर्माण तथा ट्राफिक बत्तीको काम पनि अगाडी बढाउनेछौ'। उनका अनुसार नेपाल सरकारले यसै वर्ष भक्तपुरको कौशलटार, ठिमी र सुर्यविनायक लगायतका चार ठाउमा तथा आगामी वर्षमा सम्म्ामा अन्य एघार ठाउमा आकाशे पुलको निर्माणका लागि करिब नौ करोड तथा विभिन्न ठाउमा ट्राफिक बत्तीको व्यवस्थाका लागि दुई करोड रुपैया नेपाल सरकारले आयोजनालाई दिइसकेको छ।

‘यो सब काम कार्तिक मसान्तसम्म नै सकाउने हामीले लक्ष्य लिएका छौ', आयोजान प्रमुख प्रधानले नागरिकसित भने,'सडक हस्तान्तरण पछि यसको रेखदेखको जिम्मा भने नेपाल सरकारकै हुनेछ'। उनले उद्घाटनकै बेला मंगलबार उक्त सडकखण्ड जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गर्ने समेत बताए।

त्यसो त तिनकुने-सुर्यविनायक सडक खण्ड अन्तगर्तको पहिले चरणको तिनकुने मनोहरा सडक खण्डको उद्घाटन आयोजनाले गत असोजमै गरेको थियो। ‘त्यसबेला हामीले यो सडकलाई त्यहाका स्थानीयले कसरी लिन्छन् भनेर बुझ्न उनीह्रुलाई दिएका थियौ', आयोजनाका अर्का इञ्जिनियर सरोज खनालले भने,'त्यसमा सडक प्रयोगकर्ताले जथाभावी तरीकाले बाटो काटेको देखेपछि यसलाई सच्याएर अगाडिको सडकमा रेलिङ्गको प्रयोग गर्‍यौ'।
असी किलोमिटर प्रतिघण्टाका दरले सवारी कुदाउन सकिने उक्त सडकमा पाच ठाउमा इन्टर सेक्सन हुनुका साथै मुख्य सडकलाई सहायक सडकसित जोड्ने १८ ठाउँमा एक्सेस बाटो खोलिएको छ।
साभार - नागरिक समाचार

No comments: