बार्सिलोना युरोपियन च्याम्पियन्स लिग विजेता


(एएफपी)- आक्रामक फुटबलको सदुपयोग गर्दै बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ। स्पेनिस टोलीले शनिबार रातिको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई फिका सावित गर्दै खेल ३-१ ले जित्यो। सन् १९९२ मा बार्सिलोनाले वेम्बलीमा पहिलोपटक यो प्रतियोगिता जितेको थियो। शनिबार सो इतिहास दोहोर्‍याउँदै टोली चौथोपटक च्याम्पियन्स लिगको विजेता बन्यो। २००६ र २००९ मा क्याटलन टोलीले युरोपेली क्लबको सबैभन्दा ठूलो उपाधि जितेको थियो। दुई वर्षअघि बार्सिलोनाले रोमको फाइनलमा म्यानचेस्टरलाई २-० ले पराजित गरेको थियो।
चार वर्षमा तेस्रोपटक फाइनलमा पुगे पनि म्यानचेस्टर पुनः उपविजेतामै सीमित भयो। २००८ को ...अल इङ्लिस' फाइनलमा टोली चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गरी दोस्रोपटक विजेता बनेको थियो। टोलीका कप्तान नेमान्जा भिडिजले बार्सिलोना विजयका लागि योग्य भएको बताए।
बार्सिलोनाले २७ मिनेटमा पेड्रो रोड्रिगुएजको गोलमा अग्रता लियो। उनले कप्तान हाबीले दिएको सुन्दर पासमा गोल गरे। त्यसको सात मिनेट बित्न नपाउँदै वाइन रुनीले खेल बराबरीमा ल्याए। रायन गिग्ससँगको वान टच पासमा रुनीले म्यानचेस्टरलाई बराबरीमा ल्याए।


अर्जेन्टिनी स्टार मेसीले ५४औं मिनेटमा व्यक्तिगत प्रयासमा सानदार गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए। उनले एक्लै बल अगाडि बढाउँदै २५ यार्डबाट दर्शनीय गोल गरे। यस सिजनको च्याम्पियन्स लिगमा यो उनको १२औं गोल हो र उनले एकै सिजनमा प्रतियोगितामा सर्वाधिक गोल गर्ने रुड भान निस्टेलरोयको कीर्तिमानलाई बराबरी गरे। विश्व वर्षका खेलाडी मेसीले ५३औं गोल गर्दै सिजनलाई पूर्णविराम लगाए।
स्पेनिस स्ट्राइकर डेबिड भियाले ६९औं मिनेटमा गोल गरेपछि बार्सिलोनाको जित पक्का भयो। उनले पेनाल्टी बक्सबाट गोल गरे। चोटबाट मुक्ति पाउन नसकेपछि बार्सिलोना मुख्य रक्षक कार्लोस पुयोलबिनै मैदानमा उत्रिएको थियो। उनको स्थानमा मिडफिल्डर हाभियर मास्केरानोले जेरार्ड पिकेसँग मिलेर रक्षापंक्ति सम्हालेका थिए।
बार्सिलोनाका फ्रान्सेली रक्षक एरिक अबिदालले पहिलो रोजाइबाट खेलेर बहादुरी प्रदर्शन गरे। क्यान्सरको शल्यक्रिया गरी उनी एक हप्ताअघि मात्र मैदान फर्केका थिए। त्यस्तै म्यानचेस्टरका डच गोलरक्षक इडविन भान डेर सारले यस खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिए। ४० वर्षे उनले यसअघि नै बार्सिलोनाविरुद्धको फाइनल आफ्नो खेलजीवनमा खेलाडीको रूपमा अन्तिम हुने बताएका थिए।
वर्षको सबैभन्दा ठूलो फुटबल प्रतिस्पर्धा हेर्न कालोबजारीबाट दर्शकले २ हजार पाउन्डमा समेत टिकट किनेका थिए।
यो बार्सिलोनाको सिजनको दोस्रो उपाधि हो। स्पेनिस लिग लगातार तेस्रोपटक जित्दै ह्याटि्रक गरेको बार्सिलोना स्पेनिस कपको फाइनलमा भने प्रमुख प्रतिद्वन्द्वी रियाल मड्रिडसँग पराजित भएको थियो।
साभार : नागरिक न्युज

No comments: