तीतो सत्य'ले लेख्यो ‘संविधान'
(नागरिक) - समयमा संविधान जारी गर्न नसक्ने सभासद्हरूलाई व्यङ्ग्य गर्दे हास्य टेलिशृंखला ‘तीतो सत्य'का कलाकारले ‘नेपालको संविधान २०६८' जारी गरेका छन्।
संविधान सभाको म्याद सकिनु करिब १२ घन्टा अगाडि राजधानीको बेरी ब्यङ्क्वेटमा शनिबार कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाले संयुक्त रूपमा संविधान सार्वजनिक गरेका हुन्।
कार्यक्रममा उनीहरूले ‘नेपालको संविधान २०६८' पुस्तक उपस्थित सबैलाई बाँडेका थिए। ‘तीतो सत्य'को संविधान हेर्ने कौतुहल सबैलाई जागे पनि सबै पाना खाली देखेपछि कार्यक्रम स्थल हाँसोले गुन्जियो।
‘सभासद्ले गरेको काम यस्तै खालि त हो नि। हामीले पाएको आश्वासन पनि यो पाना जस्तै रित्तो रह्यो। आमाको मुख हेर्ने दिन जस्तै आजको दिनलाई संविधानको मुख हेर्ने दिन बनाउन खोजेको हुँ,' खालि पानाको संविधान जारी गरेपछि दीपकले भने।
माओवादी, कांग्रेस, एमाले लगायत विभिन्न दलको नाम लेखिएको कुर्सी मञ्चमा राखिए पनि उनीहरूले कसैलाई आसन ग्रहण गराएनन्। ‘कुर्सीमा मान्छे बस्नु र खाली रहनुमा कुनै फरक देखिएन। यो प्रतीकात्मक विरोध हो,' उनले भने।
कार्यक्रमका अतिथिलाई उनीहरूले राष्ट्रिय सहमति (भात), सेना समायोजन (दाल), समावेशी (आलु तामा), हतियार व्यवस्थापन (साग), प्रेस स्वतन्त्रता (परबल) र संघीयता (मासु) सहितको परिकार खुवाएका थिए।
कार्यक्रममा ‘तीतो सत्य'का दीपक र दीपाका साथै निर्मल शर्मा ‘गैंडा', भीमबहादुर थापा, विष्णुभक्त फुयाँललगायत अन्य हास्य शृंखलाका कलाकार समेत उपस्थित थिए।
हालै चार सय भाग पूरा गरेको ‘तीतो सत्य'ले वार्षिकोत्सवको समेत अवसर पारी कार्यक्रम गरेको दिपाश्रीले जानकारी दिइन्। ‘रमाइलोको लागि मात्र कार्यक्रम नगरी केही सन्देश पनि जाओस् भन्ने सोच्दा यस्तो आइडिया फुर्यो,' उनले भनिन्। कार्यक्रममा समसामयिक राजनीतिक व्यङ्ग्यलाई जारी राख्ने उनले बताइन्।
साभार : नागरिक न्युज
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment