भुटानमा चुरोट खाने र बोक्नेलाई जेल सजाय


भुटानका विपक्षी नेताले देशमा धूमपानविरोधी कानुनलाई 'पागलपन' भन्दै भत्र्सना गरेका छन् । सो कानुन विश्वकै सबैभन्दा कडा मानिएको छ । यस कानुन लागू भएपछि चुरोट बोकेको आरोपमा अन्य तीनजनालाई पनि जेल पठाइएको छ ।
हिमाली अधिराज्य भुटानले सन् २००५ मा सुर्तीको बिक्रीमा प्रतिबन्ध लगाएको थियो भने गत वर्ष तस्करी रोक्न कानुनलाई अझ कडा बनाएको थियो । कानुनअनुसार ग्राहकले चुरोट र खैनीको वैध भन्सार कागज देखाउनुपर्नेछ । विपक्षी नेता छिरिङ तोब्गेले आफ्नो ब्लगमा मे २६ मा लेखेका छन्, 'पारो जिल्लाको एक स्थानीय अदालतले तीन व्यक्तिलाई अवैध चुरोट बोकेकोमा विमानस्थलमा रोकी तीन वर्षको जेल सजाय सुनाइएको छ । उनीहरूको अपराध यत्ति थियो- उनीहरूले १० बट्टा चुरोट तस्करी गरेका थिए । मलाई लाग्छ यो सुर्ती नियन्त्रण कानुन ज्यादै कडा छ ।'
'यो एकदमै खराब हो, यो त सरासर पागलपन हो,' राष्ट्रिय संसद्का विपक्षी नेता तोब्गेले भने । अरू जेलमा छन् वा मुद्दा खेप्दै छन्, जुन गनेर साध्यै छैन,' उनी भन्छन् ।
गत मार्चमा एकजना बौद्धधर्म गुरुले साढे दुई डलर मूल्य पर्ने सुर्तीजन्य पदार्थ तस्करी गरेकोमा तीन वर्षको कैद सजाय पाएका थिए ।
एक व्यक्ति सोनाम छिरिङलाई ४८ बट्टा खैनी भारतबाट ल्याएकोमा पनि जेल हालियो । भुटानीलाई एक महिनामा २ सय चुरोट वा १ सय ५० ग्राम सुर्तीजन्य पदार्थ कानुनी रूपमा ल्याउन पाउने छुट छ, जसमा भारतबाट ल्याउँदा शतप्रतिशत र अन्य राष्ट्रबाट ल्याउँदा २ सय प्रतिशत भन्सार तिर्नुपर्छ ।
भारत र चीनबीच अवस्थित भुटानले नागरिकको प्रगति र सम्ाृद्धि मापन गर्न कुल राष्ट्रिय सन्तुष्टि -ग्रस नेसनल ह्याप्पिनेस)को अवधारणा आविष्कार गरी प्रसिद्धि कमाएको थियो भने विश्वमै दुर्गम र एकान्तस्थलका रूपमा पनि चिनिएको छ ।
साभार : नया पत्रिका

No comments: